global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक

बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक

बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक

बालविवाह हुनेमा मुलुककै पाँचौं जिल्ला बैतडीमा आधुनिक सञ्चारका साधन र सामाजिक सञ्जालको दुरुपयोगले नियन्त्रणमा चुनौती थपिएको सरोकारवालाले बताएका छन् ।
किशोरकिशोरीमा मोबाइल, फेसबुकलगायत पहुँच र प्रयोग बढेसँगै भागेर बिहे गर्ने चलन बढेको बालविवाह न्यूनीकरण अभियानमा संलग्नहरू बताउँछन् ।

विद्यालय उमेरमा किशोरकिशोरीले मोबाइल दुरुपयोगका कारण बालविवाह न्यूनीकरणमा बाधक बनेको महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता बुढाऐरले बताइन् । एक अध्ययनअनुसार जिल्लामा ५९ प्रतिशत किशोरीको १७ वर्ष नपुग्दै बिहे गरेको पाइएको छ । ५ वर्षअघि ‘बालिका दुलही होइनन्,’ नामक राष्ट्रिय सञ्जालले बैतडीका ४ गाविसमा गरेको अध्ययनमा उक्त तथ्यांक भेटिएको हो । सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त गर्ने लक्ष्य छ । २०२० भित्र बैतडीलाई मुक्त बनाउने स्थानीय तहका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । तर, अभियानमा संलग्न सरोकारवालालाई आधुनिक प्रविधिका साधनको उपयोगमा सजग हुनुपर्ने धारणा उनीहरूले राखे ।

फोन र फेसबुकको माध्यमबाट सम्पर्कपछि भागेर जाने समस्या बढ्न थालेको बालविवाहविरुद्ध अभियानमा सक्रिय किशोरी समूहका सदस्यले बताइन् । ‘दिनभर अभियानमा संलग्न किशोरी नै भागेर गएका घटना छन्,’ जिल्ला किशोरी सञ्जालकी सदस्य रेजिना टेलरले भनिन्, ‘प्रविधिको प्रयोगमा किशोरकिशोरी र अभिभावक दुवैले ध्यान दिन आवश्यक छ ।’

सञ्चारका साधन र सामाजिक सञ्जालको दुरुपयोगबारे अभिभावक र किशोरकिशोरीलाई चेतना जगाउन आवश्यक देखिएको छ । पछिल्लो समय जिल्लामा सञ्चारका साधन दुरुपयोगबाट बालविवाह नियन्त्रण गर्न कठिनाइ भएको संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए) का अधिकृत गणेश शाहीले बताए । ‘अभिभावक छोराछोरीको विवाह २० वर्षपछि गर्न चाहन्छन् तर बालबालिका आफैं भागेर विवाह गर्छन्,’ उनले भने, ‘प्रविधि प्रयोगबारे चेतना नहुँदा दुरुपयोग भएको पाइन्छ ।’ बैतडी सिमाना झुलाघाटबाट गत साउनयता २४ किशोरकिशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ । ती सबै भारत जाँदै थिए ।

धार्मिक मान्यताका कारण बालविवाह नियन्त्रणमा समस्या हुन थालेपछि सरोकारवाला निकायले धामीझाँक्रीलगायत समाजमा प्रतिष्ठित अगुवालाई संगठित गरेको छ । अभियानलाई प्रभावकारी बनाउन धामी, पुजारी र ज्योतिषीलगायतको सञ्जाल बनाई बालविवाह न्यूनीकरणको प्रयासमा रहेको प्रतिष्ठित धामी समूह पाटनका सचिव हरिप्रसाद जोशीले बताए ।

धार्मिक अगुवाले बालविवाह गर्दा हुने असर र कानुनी प्रावधान तथा सजायबारे ग्रामीण क्षेत्रमा जानकारी दिन थाले पनि सञ्चारका साधनको दुरुपयोग बढदा यो चुनौतीका रूपमा देखिएको छ ।

प्रकाशित समय : २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु