गृहपृष्ठ ‘खुसी गाउँ’ बनाउँदै आमाहरू

‘खुसी गाउँ’ बनाउँदै आमाहरू

‘खुसी गाउँ’ बनाउँदै आमाहरू

बेलचौरमा ५६ घरधुरी छन् । तीमध्ये ५३ घरधुरीका महिला बेलचौर स्वावलम्बन आमा समूहमा आबद्ध छन् । समूहकै पहलमा बेलचौर गाउँ खुसी बन्न लागेको हो । हरेक सदस्य व्यवसायमा लागेको, सबै बालबालिका स्कुल भर्ना भएको, महिला हिंसा, जातीय विभेद शून्य, बालविवाह र बहुविवाहमुक्त, हरेक घरधुरीले सरसफाइका सबै सूचक पूरा गरेको, सहकारीमा आबद्ध हुनुपर्ने लगायत मापदण्ड निर्धारण गरिएका छन् । ‘जति सूचक बनाएका छौं, तीमध्ये धेरै पूरा भइसकेको छ,’ समूहकी उपाध्यक्ष कृष्णा बोगटी भन्छिन्, ‘चैतभित्रै खुसी गाउँ घोषणा गर्ने तयारीमा छौं ।’

बेलचौरमा एउटा नारा छ, ‘खुसियाली घर, खुसियाली गाउँ ।’ घर–घरका भित्तामा यही नारा लेखिएको छ । बालविवाहविरुद्ध आमाहरूले यति आक्रामक अभियान सञ्चालन गरेका छन् कि हुनै लागेको विवाह रोकिदिन्छन् । ‘यस वर्ष मात्रै दुई जोडीको बालविवाह रोक्न सफल भयौं,’ कृष्णा भन्छिन्, ‘बेलचौरमा कसैले बालविवाह गर्ने आँटै गर्दैन ।’ जुवातास, रक्सीविरुद्धको अभियान पनि सशक्त छ । प्रहरी चौकी कुनाथरीका अनुसार बेलचौरमा मदिराकै कारण कुटपिटका घटना शून्यमा झरेका छन् । जसले पारिवारिक सम्बन्ध मजबुत बनेको आमाहरूको दाबी छ । प्रहरी हवल्दार कर्ण सिंह भन्छन्, ‘केही वर्षअघि झैं–झगडाले गावैं अशान्त हुन्थ्यो । पति–पत्नीदेखि गाउँलेबीचको झगडा प्रहरी चौकीमा नआएको दिनै हुन्थेन । अहिले गाउँ नै शान्त छ ।’

आमा समूहले ३५ वर्षदेखि हुन नसकेको विद्यालय र वन उपभोक्ता समितिको सार्वजनिक लेखापरीक्षण गरायो । ‘सार्वजनिक लेखापरीक्षणले हाम्रो विश्वास झन् बढ्यो,’ समूहकी अर्का सदस्य सुमित्रा सिञ्जाली भन्छिन्, ‘अचेल गाउँपालिकाले कुनै काम दिनुपर्‍यो भने हाम्रै समूहलाई दिन्छ ।’ बेलचौरका सबै बालबालिका नियमित स्कुल जान्छन् । पछिल्ला वर्ष कसैले स्कुल छाडेको तथ्यांक छैन । समूहकै प्रयासमा गाउँमा शतप्रतिशत बालबालिका स्कुल पठाउन सम्भव भएको हो । घरमा पढ्ने, होमवर्क गर्ने वातावरण नभएका बालबालिकाका लागि होमवर्क सेन्टर सञ्चालनमा ल्याइएको छ ।

आमा समूहले गरेका अनुकरणीय कामको फेहरिस्त पनि लामै छ । एक घर दुई लिची अभियानले गाउँमा ८ सय लिचीका बोट हुर्किरहेको देख्न सकिन्छ । ग्रामीण सडक, झोलुंगे पुल निर्माणमा तोकिएको श्रमदानका अतिरिक्त थुपै्र काममा सघाएको छ यस कार्यक्रमले । समूहकी सदस्य चन्द्रा गौतम दुना–टपरी उद्योग सञ्चालन र अर्गानिक गाउँ निर्माणका लागि गाउँपालिकामा प्रस्तावना पेस गरेको बताउँछिन् । दुना–टपरीबाट रामै्र कमाउन सकिने उनीहरूको अपेक्षा छ ।

बेलचौरका आमाहरू कति सशक्त छन् भने त्यहाँको वन उपभोक्ता समिति, स्कुल व्यवस्थापन, सरसफाइ समिति, सडक निर्माणलगायतका स्थानीय संयन्त्रमा उनीहरूकै नेतृत्व छ । महिलाको कुशल नेतृत्वको प्रभाव अवलोकन गर्न यसै वर्ष सुर्खेतका साथै रूपन्देही, चितवन, रौतहटलगायत पूर्वी जिल्लाका आमा समूहले भ्रमण गरिसकेका छन् ।

०६५ सालमा स्थापना भएको समूहमा १ लाख ४४ हजार ६ सय २३ रुपैयाँ बचत छ । समूहले २ लाख २९ हजार ४ सय ७३ रुपैयाँ ऋण लगानी गरेको छ । समूहको आफ्नै भवन छ । मासिक ५ रुपैयाँबाट सुरु गरेका सदस्यले अहिले मासिक ५० रुपैयाँ बचत गर्छन् । पोसाकमा पनि एकरूपता अपनाएका छन् । सबैले सामूहिक काममा मगर पोसाक लगाउँछन् । समूहकी सचिव निर्मला दर्लामी पारिवारिक विकास योजना बनाएर आयआर्जनको क्रियाकलाप सञ्चालन गरेको बताउँछिन् । व्यावसायिक तरकारीको लहर चलेको छ । कसैले कुखुरापालन, बाख्रापालन व्यवसाय पनि गरेका छन् । ‘आयस्रोत राम्रो भएपछि सामूहिक काममा झन् हौसला मिलेको छ,’ निर्मला भन्छिन् ।

प्रकाशित समय : २१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु