global ime bank Long Banner Ad

गृहपृष्ठ झन् झन् बढ्दै बालविवाह, प्रतिवर्ष एक लाख १५ हजार बालिकाको विवाह

झन् झन् बढ्दै बालविवाह, प्रतिवर्ष एक लाख १५ हजार बालिकाको विवाह

झन् झन् बढ्दै बालविवाह, प्रतिवर्ष एक लाख १५ हजार बालिकाको विवाह


सुशील दर्नाल । काठमाडौं । पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । गत मंसिरदेखि फागुनसम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अध्ययन गर्दा सबैभन्दा बढी बैतडीमा १२ घटना प्रकाशमा आएका छन् ।
आव २०७४/०७५ को प्रथम चार महिना (साउनदेखि कात्तिक) मा ३२ बालविवाह भएका थिए । त्यसैगरी आव २०७३/०७४ मा ६६ बालविवाह भएका घटना प्रकाशनमा आएका थिए । यसबाट बालविवाहको घटनामा झन् झन् वृद्धि हुँदै गएको देखिन्छ । प्रकाशमा नआएका बालविवाहका घटना अझबढी हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिका कार्यकारी निर्देशक तारक धितालले बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवैले उमेर नपुग्दै विवाह गरेको घटना सबैभन्दा बढी हुने गरेको जानकारी दिए ।
सोअन्तर्गत ५० प्रतिशत विवाह (२० घटना) बालबालिकाबीच भएको देखिन्छ । त्यसैगरी बालिका र वयष्क पुरुषबीच ४५ प्रतिशत (१८ घटना) विवाह भएको छ भने ५ प्रतिशत (२ घटना) अनमेल (वृद्धसँग) विवाह भएको छ । बालविवाहका ३२ घटनामध्ये अभिभावकद्वारा ३५ प्रतिशत (१४ घटना) र भागी विवाह ६५ प्रतिशत (२६ घटना) भएको छ । भागी विवाहका घटनालाई हेर्दा सामाजिक सञ्जाल र फेसबुकमार्फत उमेर नपुग्दै विवाह हुने गरेका घटना प्रकाशमा आउने गरेका छन् ।
पछिल्लो चार महिनामा प्रकाशमा आएका ४० बालविवाहका घटनामध्ये बैतडीमा १२, बझाङमा सात, अछाम, जाजरकोट, मकवानपुर र कालीकोटमा तीन तीन, स्याङ्जामा दुई, रुपन्देही, झापा, रोल्पा, सिन्धुली, डोटी, सोलुखुम्बुृ र दोलखामा एक एक बालविवाहका घटना भएका छन् । नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आव २०७३/०७४ मा बालविवाह घटनासम्बन्धी २६ उजुरी परेका थिए । उक्त अवधिमा सञ्चारमाध्यममा भने ६६ घटना प्रकाशमा आएका थिए ।
यसबाट कानूनी कारवाहीमा निकै कम मात्रै बालविवाहका घटना पर्ने गरेको देखिन्छ । बालविवाहबारे उजुरी नै नहुने समस्या बालविवाह न्यूनीकरणका लागि मुख्य चुनौतीका रुपमा रहेको छ । केही नेपाल कानून संशोेधन तथा खारेज गर्ने ऐन, २०७२ द्वारा साविक मुलुकी ऐनको व्यवस्थालाई संशोधन गरी विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ । बालविवाह उच्च रहेका मुलुकमध्ये नेपाल अग्रपंक्तिमा रहेको पाइन्छ । दलित महिला केन्द्रका अध्यक्ष गौरा नेपाली समुदायमा प्रचलित कुप्रथा, सचेतनाको कमी र अशिक्षाका कारण बालविवाह बढ्दै गएको जिकिर गरे ।
नेपालमा प्रत्येक वर्ष १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्यांक छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कूल बालविवाह संख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ । यसैगरी प्रत्येक वर्ष कुल जनसंख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षमुनिका किशोरीको विवाह हुने गरेको छ । सिविन नेपालका प्रवक्ता कुमार भट्टराईले बालविवाह दिनप्रति दिन बढ्दै गएको र त्यसलाई जनचेतनामार्फत न्यूनीकरण गर्नुपर्ने धारणा राखे ।
दिगो विकासका लक्ष्यको कार्यसूची (सन् २०१६–३०) मा बालविवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ । सन् २०३० सम्म बालविवाह अन्त्य गर्न तय गरिएको राष्ट्रिय रणनीति, २०७२ को कार्यान्वयनका लागि विभिन्न मन्त्रालय र सरोकार भएका संघसंस्थाको महत्वपूर्ण भूमिका हुन्छ । केन्द्रीय तथ्यांक विभागको पपुलेशन मोनोग्राफ सन् २०१४, भाग २ (सामाजिक जनसांख्यिकी) अनुसार १० देखि १८ वर्ष उमेरका बालबालिकामध्ये २६.३ प्रतिशतको विवाह भएको देखिन्छ । रासस

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु