global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा, पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा, पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा, पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य


दीपेन्द्र शर्मा । सुर्खेत । ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा यही वैशाख १ गतेबाट रारा तालमा शुरु हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्रीसमेतको कार्यभार सम्हालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
कर्णालीको राराबाट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्ने कार्यक्रम रहेको बताउँदै उनले राराबाटै कर्णालीको समृद्धि र विकासको यात्रा शुरु हुने जानकारी दिए । मन्त्री ज्वालाकाअनुसार कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भका लागि सुरक्षा, आवास, भोजन, स्वागतलगायतका तयारी पूरा भएका छन् ।
पर्यटन वर्षलाई सफल बनाउनका लागि प्रदेशका १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति गठन गरिएका छन् । यसका साथै कालिकोट, डोल्पा र हुम्लामा पनि पर्यटन वर्षको तयारी पूरा भएको उनले जानकारी दिए ।
उनका अनुसार पर्यटन वर्षलाई सफल पार्न १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहेको समिति गठन गरिएका छन् ।
पर्यटन वर्षको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालसहित चार स्थानबाट गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली रारासँगै चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, डोल्पाको शे–फोक्सुण्डो र कालिकोटको पाँचालझरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्ने उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारले एक वर्षमा रारामा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । रारामा आउने पर्यटकका लागि सडकमार्गको स्तरोन्नति, आवास र भोजन व्यवस्थापनलाई सरकारले प्रमुख चुनौतिका रुपमा लिएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।
निजी क्षेत्रसँग सहकार्य गरेर यी चुनौतीलाई अवसरमा बदल्ने उनको भनाइ छ । सुर्खेतदेखि रारातालसम्मको २९४ किलोमिटर सडकको स्तरोन्नतिको काम शुरु गरिएको मन्त्री केसीले जानकारी दिइन् । पर्यटन वर्ष उद्घाटनका लागि आउने प्रधानमन्त्रीसहितका पाहुनालाई स्थानीय उत्पादन कर्णालीको जुम्लीमार्सी, फापर, कोदोलगायतका परिकार उपहारमा दिइने पनि उनले बताइन् । कर्णालीको समृद्धि र विकासका लागि २०७५ साललाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय प्रदेश सरकारको हो ।

प्रकाशित समय : २२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु