गृहपृष्ठ “आज मन्त्रिपरिषद् विस्तार, भोलि सपथ”
“आज मन्त्रिपरिषद् विस्तार, भोलि सपथ”
काठमाडौं, १३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्तार आइतबार हुने भएको छ । मन्त्रीहरुको शपथ ग्रहण हुनेछ । एमाले र माओवादीबीच पार्टी एकताको सात बुँदे आधारपत्रमा हस्ताक्षर गरेपछि माओवादी मन्त्रीहरु पनि ओली नेतृत्वको सरकारमा सामेल हुने भएपछि माओवादीका नेताहरु पनि सामेल गरी मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।
चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सोमबार तीन बजे सबै मन्त्रीहरुको सपथ हुने बताइसकेका छन् । आइतबार मन्त्रीहरुको टुंगो लगाएर सोमबार सपथ ग्रहण गर्न लागिएको उनले जानकारी दिए । अध्यक्ष दाहालले मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह पनि गरेका थिए ।
उनले भने, ‘हिजो नै झण्डै टुंगिएको थियो दुबै पार्टीसँगै बसेर मिलान गर्नुपर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन् ।’ पुराना र नयाँ मिलाएर मन्त्रीमा पठाइने पनि उनले बताए । चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताए । उनले भने, ‘अहिले जसरी कम्युनिष्टको एकता बनेको छ । एउटा दुई तिहाई नजिकको सरकार बन्दै छ, प्रतिक्रियावादी शक्तिले नेपालको इतिहासमा खास खास बेलामा यस्ता घटना घटाउने पनि गरेका छन् । त्यसलाई हेक्का राख्नुपर्छ ।’
सरकार गठन भएको साता दिन बितेपछि बल्ल मन्त्रिपरिषद विस्तार हुन लागेको हो । राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालसमेतलाई सरकारमा सहभागी गराउन छलफल लम्बिँदा मन्त्रिपरिषद् विस्तार पर धकेलिएको हो ।
यता, एमाले महासचिव ईश्वर पोखरेलले आइतबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । छलफलको क्रममा रहेपनि आइतबार बिहानसम्म मन्त्रिपरिषद् विस्तार हुने उनले बताए । एमाले–माओवादीले १८ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने विषयमा समझदारी गरिसकेका छन् भने एमाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालसमेत गरी ११ र माओवादी केन्द्रले सात वटा मन्त्रालय राख्ने गरी सहमति गरेका छन् ।
एमाले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ भने माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर बादललाई जिम्मा दिएको छ । दुवै पार्टीले शनिबार साँझसम्म सरकारमा पठाउने व्यक्तिबारे निष्कर्ष निकाल्ने बुझिएको छ । यसैगरी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’
प्रकाशित समय : ०७:०७ बजे