गृहपृष्ठ अब मुलुकको एउटै मात्र उद्देश्य आर्थिक समृद्घि – मन्त्री यादव
अब मुलुकको एउटै मात्र उद्देश्य आर्थिक समृद्घि – मन्त्री यादव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाललाई समृद्घ र नेपालीलाई सुखी बनाउने सरकारको मुख्य योजना रहेको बताउनुभएको छ ।
साउथ एसियन कन्ट्रिज एसएमई फोरमको आइतबार राजधानीमा आयाजित तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले मुलुकमा लामो समयदेखिको अधिकारको लडाई समाप्त भएको भन्दै अब मुलुकको एउटै मात्र उद्देश्य भनेको आर्थिक समृद्घि भएको स्पष्ट पार्नुभयो ।
लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने उहाँले बताउनुभयो । स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने भन्दै मन्त्री यादवले साना तथा मझौला व्यवसायीलाई उत्पादन बढाउन आग्रह गर्दै भन्नुभयो, “हाम्रो देश सबैको बजार भएको छ, अन्य देशमा हामीले बजार खोज्न सकेका छैनौं, हामीले बजार प्रवद्र्धन गरेर चुलिएको व्यापारघाटा कम गर्नुपर्छ ।”
नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने जानकारी दिंदै नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको बताउनुभयो ।
नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दुरीमा टनेल बनाउने विषयलाई आगाडि बढाएको भन्दै मन्त्री यादवले टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउने स्पष्ट पर्नुभयो ।
नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाई भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपीशर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भएको बताउनुभयो ।
नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रही आएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिका बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले दक्षिण एसियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, “निर्धक्क भएर लागनी गर्नुहोस्, हामी नेपालमा लगानीको वातावरण बनाउन तयार छौं र सबै किसीमको सुरक्षा दिन तयार छौं ।” उहाँले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, चीन, श्रीलंका र नेपालका १५० जना साना तथा मझौला व्यावसायीको सहभागीता छ । मञ्चले दक्षिण एसियामा व्यापार सहजीकरण तथा विस्तार, पारवाहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ ।
एक दिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपाली जनताको आर्थिक सम्बृद्धि र विकासप्रतिको दमित अभिलासा नयाँ सरकार गठन भएसंगै मुखरित हुन थालेको भन्दै वर्तमान सरकार राजनैतिक स्थायित्व सहित विकास र आर्थिक समृद्घिको अभियानमा तिब्रतर गतिमा अग्रसर हुने हामी समेतले अपेक्षा गरेको बताउनुभयो । मुलकको समृद्घितर्फको यात्रालाई अगाडि बढाउने उपयुक्त माध्यमम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको उहाँले स्पष्ट पार्नुभयो ।
सम्मेलनबाट विधिवत रुपमा नेपालले फोरमको अध्यक्षता गरेको छ । महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले अध्यक्षता सम्हाल्नुभएको छ । फोरमले दक्षिण एसियामा लघु, घरेलु तथा साना उद्योगको क्षेत्रमा कसरी काम गर्ने भन्ने विषयमा छलफल हुने आयोजक पक्षले जनाएको छ ।
प्रकाशित समय : १९:३२ बजे



















