गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकका दुई आरोपि पक्राउ
राष्ट्रिय वाणिज्य बैंकका दुई आरोपि पक्राउ
विराटनगर, १६ फागुन । विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक विष्णुप्रसाद निरौला र सोही बैंकका भन्सार काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोरणराज राउतलाई नौ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पु¥याएको आरोपमा पक्राउमा परेका छन् ।
निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरिएको छ । बैंकका भन्सार काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोरणराज राउतलाई भने फागुन २ मा नै पक्राउ परेका थिए ।
घटनामा संलग्न भन्सार एजेन्ट सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसका ४६ वर्षीय सुरेश बोहरा र ललित बोहरा फरार भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले बताए ।
भन्सार कार्यालयको भन्सार काउन्टरमार्फत प्रज्ञापनपत्र बमोजिमको भन्सार दस्तुरबापतको रकम भन्सार क्लियरिङ प्रयोजनार्थ भन्सार कार्यालयको खातामा जम्मा गर्ने र बैंकले भन्सार तिरेको रसिद दिने चलन रहेको छ ।
तर बैंकका ती कर्मचारी र भन्सार एजेन्ट मिलेर डिपोजिट गर्ने प्रयोजनार्थ गत पुस ९ देखि माघ १९ गतेका बीच सात दिनमा आठ वटा एकाउन्टपेयी चेक लिएर भन्सार क्लियरेन्स रसिद दिइएको कारण सो बरावरको रकम बैंकलाई हानी नोक्सानी हुन गएको नायब प्रहरी उपरीक्षक कोइरालाले जानकारी गराए ।
ती आठ एकाउन्टपेयी चेकमा नबिल बैंकको एक, सिटिजन्स इन्टरनेशनल बैंकको तीन, एभरेष्ट बैंकको एक, नेपाल एसबिआई बैंकको एक, सिद्धार्थ बैंकको एक र नेपाल बंगलादेश बैंकको एउटा छन् ।
बैंकका कर्मचारीले ‘गुड फर पेमेन्ट चेक’ वा ‘मेनेजर चेक’ लिनुपर्नेमा सो नलिएको देखिएको छ । पक्राउ परेका दुवै जनामाथि उच्च अदालतबाट म्याद थप गरी बंैकिङ कसूर तथा सजाय ऐनअन्तर्गत कारबाही थालिएको छ ।
जाहेरीको आधारमा नगद रसिदको अध्ययन गर्दा उक्त काउन्टरबाट झापा, मोरङ, सुनसरी, पर्सा र काठमाडौँ लगायतका ४६ कम्पनी र व्यवसायीको नाममा सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसबाट कारोबार भएका देखिएकाले ती कारोबारको भुक्तानी सम्बन्धमा विवरण माग गरिएको छ ।
प्रकाशित समय : ०३:५२ बजे




















