global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सुकुम्बासी बस्तीका बालबालिकालाई खोजी खोजी विद्यालय भर्ना

सुकुम्बासी बस्तीका बालबालिकालाई खोजी खोजी विद्यालय भर्ना

सुकुम्बासी बस्तीका बालबालिकालाई खोजी खोजी विद्यालय भर्ना

बुटवल । बैशाख २ गतेदेखि १४ गतेसम्मको अवधिमा उत्सवका रुपमा सबैतिर विद्यालय भर्ना कार्यक्रम चल्यो । तर, यो अवधिमा बुटवल–१७ रानीगञ्जको सुकुम्बासी बस्तीका कुनै पनि बालबालिका भर्ना भएनन् । त्यो सूचना नगरप्रमुख शिवराज सुवेदीसम्म आइपुग्यो ।

प्रमुख सुवेदीले तथ्यांक् संकलनका लागि भन्दै तत्कालै सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई निर्देशन दिंदै काममा खटाए । वडा अध्यक्ष सन्तबहादुर राना, सदस्य यमकली सुनारसहित केही अगुवा अभिभावकहरु त्यस्ता बस्तीका बालबालिकाहरुको तथ्यांक संकलन गरे ।

उमेर पुगका तर, विद्यालयमा नगएका एउटै टोलका छ जना बालबालिकाहरु फेला परे । उनीहरु पहिले विद्यालयमा भर्ना भएका तर, बीचमै छाडेर बसेका बालबालिका रहेछन् । करिब दुई वर्षदेखि उनीहरु स्कुल नै नगएका रहेछन् ।

‘बाबुआमा बिहानै काममा जानुहुन्छ, कहिले संगै जाम भन्नुहुन्छ नभए घर हेरेर बस भन्नुहुन्छ त्यसैले स्कुल आएनौं’ उनीहरुको भनाइ उदृत गर्दै वडा सदस्य तथा टोलकी अगुवा यमकली सुनारले भनिन ।

ती बालबालिकाहरुलाई पोशाक, झोला, कापी कलम देखि खाजा खर्चसमेत व्यवस्था हुने गरी नगर प्रमुख आफैले अभिभावकत्व ग्रहण गरे । विद्यार्थीहरु रिदम चौधरी, रमिला बलामी र ऋतिका चौधरीलाई भर्ना गराइयो । उनीहरु कक्षा दुई र तीनमा भर्ना भएको प्रधानाध्यापक कल्पना भण्डारीले जानकारी गराइन ।

त्यहाँ अरु दुई जना बालकहरु पनि नियमित विद्यालय आएका छैनन् । ११ वर्षीय विशाल सुनार र ९ वर्षीय सागर थारु बुधबार पनि भर्ना हुन आएनन् । नगरप्रमुखसहितको टोली उनीहरुको घरटोलमै पुग्यो । तर, उनीहरु आफन्तको विहेमा घर बाहिर गएकाले त्यहाँ कोही पनि फेला परेनन् । नगर प्रमुखले त्यहीँ वडा अध्यक्ष र सदस्यलाई उनीहरुलाई भर्ना गर्ने जिम्मा लगाए ।

बुधबार बिहान विद्यालय समयमा रानीगञ्जको जनशक्ति नमुना प्राविमा प्रमुख सुवेदी, शिक्षा शाखा प्रमुख लोकनाथ पन्थी, वडा अध्यक्ष सन्तबहादुर राना, सदस्य यमकली सुनार, पत्रकार अमृत गिरी, अभिभावकहरु पुष्पा विकलगायत थिए ।

भर्ना अभियान चलिरहेका बेलामा ३२ जना नयाँ बालबालिकाहरु भर्ना भएका छन् । यो संगै उक्त सुकुम्बासी बस्ती बीचको बिद्यालयमा अहिले दुई सय १० जना बालबालिकाहरु अध्यय्न गरिरहेका छन् । दरबन्दी, राहत, निजी स्रोतसमेत गरी आठ जना शिक्षक–कर्मचारीहरु कार्यरत छन् । यहीँ विद्यालयका लागि अहिले उपमहानगरले दुई लाख १० हजार भन्दा धेरै बजेट उपलव्ध गराएको छ ।

प्रकाशित समय : ०३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु