गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य तीन वर्षयताकै उच्च अझै बढ्ने
पेट्रोलियम पदार्थको मूल्य तीन वर्षयताकै उच्च अझै बढ्ने
काठमाडौं- अत्यावश्यक वस्तुका रूपमा रहेको पेट्रोलियम पदार्थको मूल्य तीन वर्षयताकै उच्च पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य निरन्तर बढेकाले पेट्रोलियम पदार्थको मूल्य तीन वर्षयताकै उच्च पुगेको हो ।
२०७१ चैतमा प्रतिलिटर १०९ रुपैयाँका दरले कारोबार भएको पेट्रोलको मूल्य त्यसयता निरन्तर बढ्दो क्रममा रहेको छ । निरन्तर बड्दो क्रममा रहेको पेट्रोलको मूल्य गत बुधबारदेखि प्रतिलिटर ११० रुपैयाँ पुगेको छ ।
‘यो विगत तीन वर्षयताकै उच्च हो’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहेको र सोहीअनुसार नेपालमा समेत मूल्य वृद्धि भएर आएकाले समायोजन गर्दा बढेको देखिएको हो ।’
विगतमा विभिन्न संसदीय समतिहरुले दिएको निर्देशनअनुसार नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावअनुसार समायोजना गर्दै आएको छ । समायोजना गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा पनि घटाइएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि बढ्ने भट्टराईको भनाइ थियो ।
अन्तर्राष्ट्रिय बजारमा रहेको पेट्रोलियम पदार्थको मूल्यको उतारचढावअनुसार नै भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्यमा उतारचढाव गरेर नेपालमा पेट्रोलियम पदार्थको बिक्री गर्ने गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार भारतीय आयल कर्पोरेसनबाटै गर्दै आएकाले आईओसीको मूल्यअनुसार नै नेपालमा पनि मूल्य घटबढ हुने गरेको निगमका अधिकारीको भनाइ छ ।
आईओसीले पठाएको मूल्यसूचीअनुसार विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा पनि घटबढ भएको निगमको तथ्यांकमा उल्लेख गरिएको छ । ‘यो अन्तर्राष्ट्रिय बजारमा बढेको बेला यहाँ पनि बढ्छ,’ निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले थपे, ‘घटेको बेला यहाँ पनि घटाउने गरिएको छ । त्यसको उदाहरण विगतमा पेट्रोलको मूल्य १४० रुपैयाँसम्म पुगेको र त्यसयता घटेर ९८ रुपैयाँसम्म पुगेको स्पष्ट नै छ ।’
नेपाल आयल निगमले २०७० साल फागुन महिनामा पेट्रोलको कारोबार १४० रुपैयाँ प्रतिलिटरका दरले गरेको थियो । २०७० साउनमा प्रतिलिटर १२५ रुपैयाँका दरले पेट्रोलको कारोबार भएको निगमले आफ्नो आधिकारिक वेबसाइटमार्फत यसअघि नै सार्वजनिक गरेको छ । त्यसपछि फागुनमा पेट्रोलको मूल्य १४० रुपैयाँ प्रतिलिटरका दरले कारोबार भए पनि त्यसयता पेट्रोलियम पदार्थको मूल्य घट्दै गएको थियो ।
पछिल्लो समय गत बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा निगमले वृद्धि गरेको छ । यसअघि प्रतिलिटर १०८ रुपैयाँका दरले रहेको पेट्रोलको मूल्य बुधबार रातिदेखि प्रतिलिटर ११० पुगेको छ । त्यस्तै, ९० रुपैयाँ प्रतिलिटरका दरले रहेको डिजेल र मट्टीतलेको मूल्य प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।
पछिल्लो समय भएको मूल्य वृद्धिको विरोध गर्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ओली सरकारले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएको र उपभोक्ता मारमा परेको भन्दै मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै आएको छ ।
मूल्य वृद्धिको विरोधस्वरूप नेविसंघले गत शुक्रबार नेपाल आयल निगम कार्यालय घेराउसमेत गरेको थियो । विरोधका क्रममा निगम निमित्त कार्यकारी निर्देशक भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएको थियो । नेपाल आयल निगमले, पेट्रोलियम पदार्थको मूल्य वृद्धि कुनै राजनीतिक मुद्दा नभएकाले बुधबार गरिएको मूल्य वृद्धि फिर्ता नहुने बताएको छ । नेपाल आयल निगम नाफामा नरहेको र अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य समायोजन गर्न नसकेमा निगमले घाटा बेहोर्ने स्थिति आउने निगमका अधिकारीको भनाइ छ ।
निगमका अर्का उच्च अधिकारीले कुनै पनि संस्थान घाटामा गएमा बन्द हुने स्थिति सिर्जना हुने र त्यसले देशलाई नै बेफइदा हुने तर्क गरे । ‘नेसनल ट्रेडिङ र गोरखकाली टायर उद्योग घाटामा गएका कारण नै बन्द हुने स्थिति आएको छ,’ निगमका ती अधिकारीले भने, ‘निगम पनि घाटामा गएर बन्द हुने स्थिति आएमा पेट्रोलिम पदार्थको आपूर्ति व्यवस्था नै खल्बलिन्छ ।’ मुलुकमा आपूर्ति व्यवस्था निरन्तर रूपमा सहज बनाउनका लागि अन्तर्राष्ट्रिय मूल्यअनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन हुनुपर्ने निगमका अधिकारीको भनाइ छ ।
प्रकाशित समय : १५:२५ बजे



















