global ime bank Long Banner Ad

गृहपृष्ठ बाँकेमा सवारी कारबाही उच्च, ट्राफिक प्रहरीद्वारा नौ महिनामा ७१ लाख राजस्व संकलन

बाँकेमा सवारी कारबाही उच्च, ट्राफिक प्रहरीद्वारा नौ महिनामा ७१ लाख राजस्व संकलन

बाँकेमा सवारी कारबाही उच्च, ट्राफिक प्रहरीद्वारा नौ महिनामा ७१ लाख राजस्व संकलन


बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको नौ महिनामा झण्डै ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउनदेखि चैत महिनासम्म ट्राफिक प्रहरीले ७१ लाख ३ हजार ५०० राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले सबैभन्दा कम साउन महिनामा २ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ भने सबैभन्दा धेरै चैत महिनामा १० लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार भदौंमा ८ लाख ६२ हजार ५००, असोजमा ८ लाख, कात्तिकमा ८ लाख २२ हजार ५००, मंसिरमा ५ लाख ४२ हजार, पुसमा ८ लाख ३४ हजार ५००, माघमा ९ लाख १९ हजार र फागुनमा ९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै सो अवधीमा ट्राफिक प्रहरीले १२ हजार ७०० सवारी साधनलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७१/०७२ मा १३ हजार ९९६ सवारी साधनलाई कारबाही गरेको छ भने २९ लाख ४० हजार राजस्व संकलन गरेको छ । त्यस्तै २०७२/०७३ मा १२ हजार ४३६ सवारी साधनलाई कारबाही र ३६ लाख ३३ हजार ५० राजस्व संकलन गरेको छ भने २०७३/०७४ मा ११ हजार ७३१ सवारीसाधनलाई कारबाही रु ६३ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । गत तीन आर्थिक वर्षलाई तुलना गर्दा २०७१/०७२ मा सवारी कारबाही उच्च देखिएको छ भने २०७३/०७४ मा राजस्व संकलन उच्च देखिएको छ । आर्थिक वर्ष २०७४/०७५ सकिन दुई महिनामात्रै बाँकी रहँदा गत तीन आर्थिक वर्षको तुलनामा सवारी कारबाही र राजस्व संकलनमा उच्च वृद्धि हुने देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरिक्षक होमबहादुर थापाका अनुसार बर्षातको सिजनमा कम सवारी चल्ने भएका कारण असार साउन महिनामा सवारी कारबाही र राजस्व कम देखिने गरेको छ । प्रहरी निरिक्षक थापाले भने, ‘मानिसको आवतजावत कम हुने, मालबाहक गाडीको चाप पनि कम हुन्छ । जसका कारण कारबाही संख्या र राजस्व असुली कम देखिन्छ ।’
गत तीन आर्थिक वर्षको सवारी कारबाही संख्या क्रमश घटिरहेको देखिन्छ भने राजस्व संकलनमा भने उच्च वृद्धि भएको देखिन्छ । प्रहरी निरिक्षक थापाले भन्छन्, ‘नियमित चेकजाँच र सचेतनाका कारण सवारी कारबाहीको संख्या घटेको छ । हामीले सचेनतासँगै नियमित चेकिङ्ग गरिरहेका छौं, जसका कारण नागरिकहरुमा सचेतना पनि बढेको छ ।’ उनका अनुसार राजस्व संकलनमा भने पहिलेको तुलनामा उच्च वृद्धि भएको छ ।
‘विगतमा न्यूनतम २५ रुपैयाँदेखि २०० रुपैयाँसम्म मात्रै राजस्व काट्न मिल्थ्यो । कस्तो खालको घटना भयो त्यसको आधारमा न्यूनतम ५०० देखि १ हजार ५०० रुपैयाँसम्म राजस्व उठाउन मिल्छ,’ प्रहरी निरिक्षक थापाले भने, ‘जरिवाना रकम बढ्दा राजस्व संकलनमा उच्च वृद्धि भएको छ भने सवारी कारबाहीको संख्या घटेको छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा १७२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका छन् । त्यस्तै गत तीन आर्थिक वर्षमा १५५ वटा सवारी दुर्घटना भएका छन् भने ७८ जनाको मृत्यु भएको र २१८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा भएका दुर्घटनाको अनुपात उच्च देखिएको हो ।

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु