global ime bank Long Banner Ad

गृहपृष्ठ मोदीलाई ‘नागरिक अभिनन्दन’को विरोधमा ‘ब्ल्याक आउट’ गर्न आह्वान

मोदीलाई ‘नागरिक अभिनन्दन’को विरोधमा ‘ब्ल्याक आउट’ गर्न आह्वान

मोदीलाई ‘नागरिक अभिनन्दन’को विरोधमा ‘ब्ल्याक आउट’ गर्न आह्वान

काठमाडौं– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई ‘नागरिक अभिनन्दन’ गर्न लागेको विरोधस्वरुप आज राति ८ बजेदेखि १० मिनेट ब्ल्याक आउट (बत्ती निभाउन) गर्न आह्वान गरिएको छ । पाँच महिना लामो नाकाबन्दी लगाएर नेपाल र नेपालीमाथि चरम पीडा थोपर्ने भारतीय प्रधानमन्त्री मोदीलाई ‘नागरिक अभिनन्दन’ गर्नु नेपाल र नेपालीको आत्मसम्मानमाथिको खेलवाड भएको भन्दै सामाजिक सञ्जालमार्फत ब्ल्याक आउटका लागि आह्वान गरिएको हो ।

२०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएलगत्तै भारतले लगाएको नाकाबन्दीको पीडा नेपाली जनताले भुल्न सकेका छैनन् । तर, त्यही नाकाबन्दीविरुद्ध ‘कडारुपमा उभिएका’ प्रधानमन्त्री केपी शर्मा ओलीले नै भारतीय प्रधानमन्त्री मोदीलाई ‘अनावश्यक सम्मान’ दिएपछि सामाजिक सञ्जाल ट्विटर र फेसबुकमार्फत विरोध चर्किएको छ । अभियान चर्किंदै जाँदा ‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’ (नाकाबन्दी अपराध थियो) ह्यास ट्याग तीन दिनदेखि ट्विटरमा पहिलो नम्बरमा ट्रेन्डिङ भइरहेको छ ।

 

राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीले हतियारधारी र सादा पोसाकका सुरक्षाकर्मी ठूलो मात्रामा भित्र्याउँदा पनि मौन बसेको भन्दै सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीको समेत विरोध भइरहेको छ । लेखक खगेन्द्र संग्रौला ट्विट गर्छन्– अतिथि मोदीको सवारीमा एक बगाल भारतीय हतियारधारी सुरक्षाकर्मी ! यो मोदीको नेपाली सुरक्षाकर्मीप्रतिको अविश्वास हो कि उपेक्षा ? कि यो ठूल्दाइको दादागिरिको नग्न प्रदर्शन हो ? अरे, मिस्टर ओलीको राष्ट्रवाद मोदीको चरणमा लम्पसार परेकै हो ? ओली राष्ट्रवादका पवनपुत्रहरू बोल !’

सरकारले भने नाकाबन्दी र ‘नागरिक अभिनन्दन’का विषयमा सरकारका मन्त्री र सामाजिक अभियन्ताबीच चर्का बहससमेत भइरहेका छन् । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षामन्त्री ईश्वर पोखरेललगायत नै नाकाबन्दीलाई हल्का रुपमा लिँदै ‘नेपाल–भारत सम्बन्ध सुध्रिसकेकाले मोदीको भव्य स्वागत गर्नुपर्ने’ अभिव्यक्ति दिएपछि अभियन्ताहरूले सरकारी कार्यशैलीविरुद्ध आवाज थप बुलन्द पारेका छन् ।

‘ब्लकेड वाज क्राइम मिस्टर मोदी’ ह्यास ट्यागसहितका ट्विट लगातार पहिलो नम्बरमा छाइरहेपछि भारतीय दूतावासमा समेत तरंग छाएको छ । ‘पत्रकार ऋषि धमलाको सहयोगमा’ भारतीय दूतावासले सामाजिक सञ्जाल अभियन्ता विश्वदीप लामिछानेको खोजी गरेका समाचार बाहिर आएका छन् । तर, ‘नागरिक अभिनन्दन’ को विरोध थप सशक्त बन्दै गइरहेको छ । अभियन्ता लामिछाने मोदी ‘नागरिक अभिनन्दन’को हकदार नभएको बताउँछन् । ‘भूकम्पपीडित नेपालीलाई नाकाबन्दी लगाएर थप यातना दिने भारतीय सरकारका प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन किन ?’ उनी प्रश्न गर्छन्, ‘यो सरकारी रवैयाको विरोधमा हामीले आवाज बुलन्द पारेका हौं ।’ ‘नागरिक अभिनन्दन’को विरोधमा आज राति ८ बजेपछि १० मिनेट बत्ती निभाउन उनले सबैलाई आग्रह गरेका छन् ।

पाँच महिना लामो भारतीय नाकाबन्दीका कारण महाभूकम्प र लगातारको परकम्पबाट थिलोथिलो भएका नेपालीले चरम सास्ती व्यहोर्नुप¥यो । इन्धन र ग्यासका लागि घण्टौं लाम बस्नुप¥यो । व्यापार–व्यवसाय प्रभावित भयो । औषधि र अक्सिजन अभावमा बिरामीहरू घर र अस्पतालमै छट्पटाउनुप¥यो । खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभाव खेप्नुप¥यो । मूल्यवृद्धि अकासियो । पर्यटन क्षेत्रले ठूलो नोक्सानी व्यहो¥यो । समग्रमा देशको अर्थतन्त्र नै डामाडोल भयो । र, नाकाबन्दी जस्तो अमानवीय कृत्य गरेर नेपाल र नेपालीलाई अनेकन् समस्या र अभावको भूमरीमा फसाइरहेका थिए, मोदी । ‘यिनै कुकर्म र अपराधका नाइके मोदीलाई सरकारले ‘नागरिक अभिनन्दन’ गरिरहँदा जनतामा चरम असन्तुष्टि पैदा हुनु स्वाभाविक हैन र ?’ अभियन्ता लामिछाने प्रश्न गर्छन् ।

मोदीको सम्मानका लागि भन्दै जनकपुर, काठमाडौं र मुस्ताङको मुक्तिनाथमा ‘नागरिक अभिनन्दन’ गरिँदै छ । मोदी वैशाख २८ र २९ गते नेपालमा रहनेछन् ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु