global ime bank Long Banner Ad

गृहपृष्ठ चार वर्षअघि मोदीले उर्लिएर भाषण गरेको पञ्चेश्वर अहिले चर्चामै छैन (भिडियोसहित)

चार वर्षअघि मोदीले उर्लिएर भाषण गरेको पञ्चेश्वर अहिले चर्चामै छैन (भिडियोसहित)

चार वर्षअघि मोदीले उर्लिएर भाषण गरेको पञ्चेश्वर अहिले चर्चामै छैन (भिडियोसहित)


काठमाडौं । विगत २३ वर्षदेखि चर्चामा रहेको नेपाल भारतको सीमा नदी महाकाली नदीमा निर्माण हुने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना यसपटकको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा चर्चामा नै छैन ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अधिकारी भन्छन्, ‘भ्रमणको कार्यसूचीमा नै सो परियोजना छैन । भारतीय पक्षले नै कार्यसूचीमा राख्न मञ्जुरी जनाएन ।’ कारण के त ? प्रतिप्रश्न गर्दा ऊर्जाका अधिकारी भन्छन्, ‘भारतीय अधिकारी पानीको विषयमा मात्रै कुरा गर्छन् । हामी भारतले मागे जति पानी दिने पक्षमा छैनांै । त्यो महाकाली सन्धिको भावना विपरीत छ ।
यसै महिनाको पहिलो साता भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा आयोजनाका बारेमा सामान्य कुराकानीमात्रै भएको थियो । यस्तै केही दिन पहिले सम्पन्न गभर्निङ काउन्सिलको बैठकमा आयोजनाका बारेमा छलफल भए पनि कुनै सहमति हुन सकेन । पञ्चेश्वर प्राधिकरणका कार्यकारी अधिकृत महेन्द्र गुरुङका अनुसार सो बैठकमा केबल सहमति गर्ने सहमति मात्रै भयो ।
सोही सहमतिअनुसार आगामी ६ महिनाभित्र पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने सहमति भयो । तर, सो सहमति कार्यान्वयन होला भन्नेमा नेपाली अधिकारी विश्वस्त छैनन् । मोदी नेपाल भ्रमणमा छन् । पहिलोपटक मोदी नेपाल भ्रमणमा आउँदा तत्कालीन संविधानसभाको बैठकमा मोदीले सगौरव घोषणा गरेका थिए । संविधानसभाको बैठकमा मोदीको घोषणाको सम्मानमा सांसदहरुले मच्ची मच्ची ताली ठोकेका थिए ।
चार वर्षअघि नेपाल भ्रमणमा आउँदा पञ्चेश्वरबारे मोदीले यस्तो भनेका थिए (भिडियो) :


मोदीले भनेका थिए, ‘६ महिनाभित्र पञ्चेश्वरको डीपीआर तयार हुन्छ र एक वर्षभित्र आयोजना अघि बढ्छ । नेपालले ३० प्रतिशतमात्रै लगानी गरे हुन्छ । भारतले ७० प्रतिशत लगानी गर्छ । तर, मोदीले उक्त घोषणा गरेको पनि चार वर्ष हुन लागेको छ । आयोजना जुन हालतमा छाडिएको थियो, आज पनि त्यही हालतमा छ । आयोजनाको प्रगति भनेको महेन्द्रनगरमा कार्यालय खोलियो, एकाधपटक आयोजनाका बारेमा चर्चा परिचर्चा गरियो । दुई देशका उच्च अधिकारीबीच छलफल भए । तर, सहमति भने हुन सकेको छैन ।
तत्कालीन संसदमा सम्बोधन गर्दै बहुचर्चित पञ्चेश्वर परियोजनाबारे मोदीले भनेका थिए, ‘म ठान्दछु कि, एक वर्षभित्र ५ हजार ६ सय मेगावटको यो योजनाको काम शुरु हुनेछ र त्यसबाट नेपालको कति ठूलो सेवा हुनेछ भनेर तपाईले कल्पना गर्न सक्नुहुन्छ ?’ उनको यो घोषणा कहाँ पुग्यो भनेर खोज्नुपर्ने बेला आएको छ । उनले भनेका थिए, ‘नेपालसँग अहिले जति बिजुली छ त्यसको पाँच गुणा त्यो भनेको सानो कुरा होइन ।’ तर, मोदीको घोषणा एक कानले सुन्ने र अर्को कानले उठाउने भन्दा केही हुन सकेको छैन ।
दुई देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा समेत परेको उक्त बाचा चारवर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन । फेरि मोदी नेपाल आएका छन् । मोदीको उक्त घोषणा सम्झाउने पक्षमा वर्तमान राष्ट्रवादी सरकार नै तयार भएको जस्तो देखिँदैन । त्यो सपना झण्डै २३ वर्षअघिकै हो जुन मोदीको आगमनले विपनामा बदलिने अपेक्षा थियो । तर, त्यो पनि पानी बाँडफाँडको पुरानै झमेलामा अल्झिरहेको छ । विस्तृत योजना प्रतिवेदनको उक्त विवादबारे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार भारतले महाकाली सन्धिको व्याख्यामा विवाद खडा गरेको छ ।
तल्लो शारदा ब्यारेजले प्रयोग गरेको पानीसमेत आफूले पाउनुपर्ने माग भारतीयले राख्दै आएका छन् । जसका कारण दुई देशबीच आयोजनामा सहमति हुन सकेको छैन । नदीले छुट्याएको सिमानामा रहेको शारदा ब्यारेजबाट नेपाल र भारतले उपयोग गरिरहेको पानीलाई असर नपारौं भन्ने हाम्रो अडान छ । तल्लो शारदा ब्यारेज नेपालको सीमादेखि १६० किलोमिटर तल रहेको छ ।

प्रकाशित समय : २२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु