गृहपृष्ठ किम जोङ उनले भने- ट्रम्पसँग भेटवार्ता हुन्छ
किम जोङ उनले भने- ट्रम्पसँग भेटवार्ता हुन्छ
दक्षिण कोरिया– कोरियाली प्रायदिपका शीर्ष नेतृत्वबीच शनिबार भेटवार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच कोरियाली सीमा क्षेत्रस्थित पानमुन जोममा दोस्रो शिखर सम्मेलन भएको हो ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसका अनुसार दुई नेताबीच पानमुन जोमको उत्तर कोरियाली गाउँमा करिब दुई घण्टा वार्ता भएको छ । भेटमा दुई नेताले अप्रिल २७ मा भएको पानमुन जोम घोषणापत्रको कार्यान्वयनबारे एक-आपसमा विचार आदानप्रदान गरेका छन् । उनीहरुले उत्तर कोरिया र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको शिखर सम्मेलन सफल पार्ने विषयमा समेत छलफल गरेका छन् । ह्वाइट हाउसले वार्ताबारे अन्योल र अनिश्चितता व्यक्त गरिरहँदा सर्वोच्च नेता उनले भने जुन १२ को भेटवार्ता स्थगित नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिंगापुरमा हुने भनिएको शिखर सम्मेलन तत्कालका लागि अगाडि बढाउन नसकिने जानकारी गराएका थिए ।
यसअघि पहिलोपटकको भेटमा मुन र किमबीच कोरियाली प्रायद्वीपलाई पूर्णतया आणविक हतियारविहीन बनाउने र लामो समयदेखि कायम रहेको युद्धविराम सम्झौतालाई शान्ति सम्झौतामा रूपान्तरण गर्ने सहमति भएको थियो ।
प्रकाशित समय : १६:३४ बजे


















