नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री
वि.सं.२०७५ जेठ १३ आइतवार १६:५५
shares

काठमाडौं– सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिँदैछन् । जेठ ७ मा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि जेठ ९ देखि ११ गतेसम्म छलफल भएको थियो ।
छलफलमा उठेका सवालहरुको प्रधानमन्त्री ओलीले आजको संसद बैठकमा जवाफ दिने कार्यसूची छ । त्यसपछि आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि ६ संशोधन प्रस्ताव दर्ता भएका छन् । कांग्रेसकाको तर्फबाट डा. मिनेन्द्र रिजालको नेतृत्वमा १७ सांसदले संशोधन दर्ता गराएका छन् । यस्तै संघीय समाजवादीबाट चारजना सांसदले बेग्लाबेग्लै चार संशोधन दर्ता गराएका छन् भने राजपाको तर्फबाट दुई सांसदले संयुक्त संशोधन दर्ता गराएका छन् । सबै संशोधन प्रस्ताव सदनमा निर्णयार्थ प्रस्तुत हुनेछ ।
यस्तै, आजको संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ ।
























