पर्सा प्रहरीद्वारा नकली घुमुवा पक्राउ
वि.सं.२०८३ कात्तिक ७ शनिवार १७:०८
shares
?????????????????????????????????????????????????????????
वीरगञ्ज । तस्करहरुबाट पर्साको सिमावर्ती क्षेत्रमा असुली गरिरहेको आरोपमा एकजना लाई पक्राउ गरेको छ ।
जिल्लाको पश्चिमी सीमावर्ती ग्रमिण भेगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै तस्करहरुबाट अवैद्य रकम असुली गरेको आरोपमा अशोक वर्णवाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरिया निवासी वर्णवालललाई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रबहादुर मल्लले बताए ।
पक्राउ परेका वर्णवाललाई हाल ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर सोधपुछ भइरहेको छ । अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोलालगायत पश्चिमी सीमावर्ती क्षेत्रमा घुमुवा भनेर सर्वसाधारण र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको उनीमाथि आरोप छ ।
वर्णवाल प्रायः मास्क लगाएर सिमावर्ती क्षेत्रको असुलिमा सक्रिय रहेको बताइन्छ । भारतबाट घरायसी प्रयोजनका लागि सानातिना सामान ल्याउने सर्वसाधारण समेतलाई घुमुवा बताउँदै रकम माग्ने, रकम नदिए सामान पक्राउ गराइदिने प्रहरीमा उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वर्णवालको सहयोगीको रुपमा काम गरेको आशंकामा पोखरिया नगरपालिका–५, सतवरियाकै दीपक यादवलाई ईलाका प्रहरी कार्यालय पोखरियामा बोलाएर सोधपुछ गरिएको छ ।
प्रहरी स्रोतका अनुसार वर्णवाल स्थानीय सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म पुग्ने र माथिल्लो तहका अधिकारीहरूसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेका थिए ।
वर्णवाल पहिला तस्करीमा संलग्न रहेको र सुरक्षा निकायलाई सूचना दिने व्यक्तिका रूपमा परिचित हुँदै सशस्त्र प्रहरीको गणदेखि बाहिनी तहसम्म आफ्नो पहुँच रहेको देखाउने गरेका थिए ।
























