गृहपृष्ठ हवाई यात्रुबाट उठाएको ७ अर्बमा मन्त्रीदेखि हाकिमहरुको स्वार्थ
हवाई यात्रुबाट उठाएको ७ अर्बमा मन्त्रीदेखि हाकिमहरुको स्वार्थ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईएको धावनमार्ग स्तरोन्नतिका लागि प्रतियात्रु एक हजार रुपैयाँ उठाउने गरेको छ । विदेश जाने यात्रुबाट उठाएको रकम अहिले ७ अर्ब २३ करोड भइसकेको छ । विमानस्थल विकास कोषमा जम्मा भएको त्यो रकमबाट विमानस्थलको सुधारका नाममा उठाइएको हो । तर, विमानस्थलमा सुधारका लागि अवरोधमात्रै सिर्जना भएको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको कालोपत्रै दशकौँ वर्ष पुरानो भइसक्यो । अहिले विमान अवतरण तथा उडानको चापले यो धावनमार्ग थप जीर्ण बन्दै गएको छ । चर्काे घाम र दर्के पानीले विमानको चक्कासँगै पिच टाँसिएर उप्किने गरेको छ । यही समस्या देखिएपछि मर्मतका लागि पैसा जुटाउने भन्दै विमानस्थलले विदेश उड्ने नेपालीदेखि सबै यात्रुबाट प्रतियात्रु एक हजार रुपैयाँका दरले रोयल्टी उठाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले बताए । ‘यसरी पैसा उठाउन थालेको चार वर्ष भइसक्यो । संकलन हुने पैसा विमानस्थल विकास कोषमा जम्मा गर्ने गरिएको छ,’ उनले भने, ‘कोषमा अहिलेसम्म ७ अर्ब २३ करोड रुपैयाँ संकलन भइसकेको छ । अझै एक वर्ष यसरी नै यात्रुबाट शुल्क उठाउने पूर्वयोजना हो ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा दिनदिनै जहाज थपएिका छन्, यात्रुको चाप बढेको–बढ्यै छ । तर, सरोकारवाला निकाय काम गर्नुभन्दा पैसा उठाउनमात्रै केन्द्रित देखिन्छ । टीआईएको सुधारका लागि करिब ३ अर्बको मात्रै अनुमानित लागत तयार पारिएको छ । जबकि, कोषमा अहिलेसम्म ७ अर्ब २३ करोड रुपैयाँ संकलन भइसकेको छ ।
कालोपत्रेको जिम्मेवारी विमानस्थलअन्तर्गत इन्जिनियरिङ महाशाखालाई दिइएको थियो । तर, अहिले विमानस्थलको सुधारको जिम्मेवारी इन्जिनियरिङ महाशाखाबाट हवाई यातायात क्षमता अभिवृद्धि आयोजनामा पुगेको छ । प्रवक्ता श्रेष्ठले विमानस्थलको नयाँ कालोपत्रेका लागि लागत अनुमानसहित कन्सल्ट्यान्टको काम सकिएको बताए । यही आर्थिक वर्षभित्र टेन्डरको काम सक्ने श्रेष्ठको भनाइ छ ।
तीन किलोमिटर लामो विमानस्थलको धावनमार्ग बढाउने र कालोपत्रे नयाँ गर्ने, पार्किङस्थल बढाउने भनी नागरिक उड्डयन प्राधिकरणले ठूल्ठूला योजना नबनाएको होइन तर योजनाहरु मन्त्रीदेखि हाकिमहरुको आपसी स्वार्थमा फसेको छ । यसअघिका पर्यटनमन्त्री जितेन्द्र देव, प्राधिकरणका महानिर्देशक र टीआइएका महाप्रबन्धकबीच व्यक्तिगत असमझदारीकै कारण योजनाहरु प्रभावित भएको स्रोतको दाबी छ । परिणाम स्वरुप टीआईएका महाप्रबन्धक देवानन्द उपाध्यायको सरुवा भएको प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

अहिले टीआईएको महाप्रबन्धकको जिम्मेवारी राजकुमार क्षेत्रीले सम्हालेका छन् । उनले विमानस्थल सुधारको काम पहिले जे–जे भए पनि अतित बिर्सिएर अघि बढेको बताए । उनले अबको दुई वर्षभित्र विमानस्थलले नयाँ रुप लिने दाबी गरे । नेपालका प्रायः ठूला योजनामा मन्त्रीदेखि उच्च तहका हाकिमहरुको अनावश्यक सक्रियता देखिने गरेको नौलो कुरा होइन । यही रोग टीआईएको सुधार बजेटमा पनि देखिएको सहजै अनुमान लगाउन सकिन्छ ।
साथै धावनमार्ग विस्तार गर्ने र पार्किङ क्षेत्र बढाउने योजना पनि अलपत्र बनेको छ । पार्किङस्थलका लागि भइरहेका दुवै योजना स्थगित भएका छन् । घाँस उम्रिएर हरियाली बन्ने तयारीमा छ । विमानस्थलको पेप्सीकोला क्षेत्रमा ३४ करोड ३४ लाख रुपैयाँको बजेटमा पार्किङ क्षेत्र विस्तारको काम भइरहेको छ । तर, अरु जग्गासमेत खाली भएकाले थप अध्ययनपछि बजेट अख्तियारीका लागि प्रस्ताव अघि सारिए पनि त्यसमा अहिलेसम्म कुनै काम भएको छैन ।
अघिल्ला पर्यटनमन्त्री जितेन्द्र देवको पालादेखि भिओ फाइल अहिलेसम्म मन्त्रालयमा अड्किरहेको छ । हालका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्री भएलगत्तै धावनमार्गको निरीक्षण गर्दै फाइल अड्काउनुपर्ने कुनै कारण नरहेको भन्दै तत्काल भिओ पास हुने बताएका थिए । तर, मन्त्रीकै अध्यक्षतामा रहेको बोर्डले अहिलेसम्म उक्त काम अघि बढाएको छैन । मन्त्री अधिकारीको चासो महत्वपूर्ण निर्णय लिनुभन्दा उद्घाटन, सभा, समारोह र विदेश भ्रमणमा सीमित भएपछि विमानस्थल थप थलिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । अहिले पनि मन्त्री अधिकारी क्यानडा हुँदै अमेरिकासम्मको भ्रमणमा निस्किएका छन् । यता, सिनामंगलतर्फ आयल निगमको स्टोरनजिक पनि पार्किङ विस्तारका लागि ५९ करोड १७ लाख रुपैयाँको योजना अघि बढाइएको छ । तर, यहाँ पनि काम रोकिएको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता एवं उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठले काम रोकिएको बारे आफूलाई थाहा नभएको बताए । स्वयं फिल्डमा खटिएका कर्मचारीहरुले भने ठेकेदारले काम रोकेको महिनौं भएको बताइहेका छन् ।
प्रकाशित समय : ०२:२१ बजे



















