गृहपृष्ठ संसदीय दलको नेता चयन गर्न राजपा बैठक बस्दै
संसदीय दलको नेता चयन गर्न राजपा बैठक बस्दै
संसदीय दलको नेता चयन गर्न राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को राजनीतिक समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वबरमहलमा बस्ने बैठकमा दलको नेता सर्वसम्मत चयन गर्ने, दलको विधान पारित गर्ने र पार्टी महाधिवेशनको मिति तय गर्ने एजेन्डामा छलफल हुने बताइएको छ ।
आकांक्षीहरुले अडान नछाड्दा प्रतिनिधिसभा निर्वाचन भएको सात महिना बितिसक्दा पनि राजपाले दलको नेता पाउन सकेको छैन । वर्ष दिनअघि ६ वटा दल एकीकरण भई बनेको राजपामा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले संसदीय दलको नेतामा आकांक्षा देखाएका छन् ।
निर्णय गर्दा अध्यक्ष ठाकुरले एकलौटी गरेको र पार्टीमा छलफल नगरेको भनी असन्तुष्टी जनाउँदै आएका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो दलको नेता छाड्ने पक्षमा छैनन् । यता, ठाकुर पनि पार्टीको संयोजक आफू रहेकाले दलको नेता आफैंले पाउनुपर्ने दावी गर्दै आएका छन् ।
संयोजक ठाकुर र सदस्य महतोले संसदीय दलको नेतामा आ–आफ्नो दावी कायम राखेपछि पटक–पकट तोकिएको पार्टीको राजनीतिक बैठकसमेत बस्दै नबसी स्थगित हुँदै आएको छ । संसदीय दलको नेतामा सहमति हुन नसकेपछि पटक–पटक तोकिएको बैठक स्थगित हुँदै आएको हो । यसअघि, २५ जेठमा हुने भनिएको राजनीतिक समिति बैठक स्थगित भएपछि आजका लागी बैठक बोलाइएको छ ।
प्रकाशित समय : २१:४१ बजे



















