गृहपृष्ठ जागिर छाड्नुपरे पनि ६ महिना पारिश्रमिक !
जागिर छाड्नुपरे पनि ६ महिना पारिश्रमिक !
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले सामाजिक सुरक्षाअन्तर्गत नयाँ कार्यक्रम ल्याउन लागेको बताएका छन् । विराटनगरमा आयोजित ‘युवा उद्यमशीलता र रोजगारीका अवसरहरु’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मन्त्री बिष्टले समृद्ध नेपाल र सुखी नेपाली अभियानका साथ अघि बढिरहेको सरकारले सामाजिक सुरक्षाअन्तर्गत नयाँ कार्यक्रम ल्याउन लागेको बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षाको नामले ल्याउन लागिएको कार्यक्रम श्रमिकवर्गको हितमा रहेको उनले जानकारी दिए । मन्त्री विष्टले नयाँ कार्यक्रममा कुनै श्रमिक दुर्घटनामा परे कार्यक्रमअन्तर्गत उपचार गराउनुका साथै जुनसुकै कारणले रोजगारी छाड्नुपर्ने अवस्था आए ६ महिनासम्म पारिश्रमिकको न्यूनतम प्रतिशत उपलब्ध गराउने प्रावधान रहने बताए । यस्ता, अन्य थुप्रै सुविधा समेटेर योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
मन्त्री बिष्टले बैंक खाताबाट पारिश्रमिक दिनुपर्ने नियमले हालै गरिएको श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सघाउ पुग्ने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका सम्बन्धमा युवाहरुसँग सुझाव संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बोल्ने युवाहरुले कार्यक्रम ल्याउँदा सहज नीतिका साथ ल्याइनुपर्ने सुझाव दिए ।
उनीहरुले श्रमको सम्मान गर्ने वातावरणको विकास गर्नसमेत सरकारले विशेष पहल गर्नुपर्ने बताए । कार्यक्रम युवा तथा खेलकुद मन्त्रालय, जिल्ला युवा परिषद मोरङ र नेपाल युवा उद्यमी मञ्चले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
प्रकाशित समय : ०१:१५ बजे


















