global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थमन्त्रीज्यू ! नेप्सेको बन्ध्याकरण हैन, व्यवसायीकरण गर्नुहोस्

अर्थमन्त्रीज्यू ! नेप्सेको बन्ध्याकरण हैन, व्यवसायीकरण गर्नुहोस्

अर्थमन्त्रीज्यू ! नेप्सेको बन्ध्याकरण हैन, व्यवसायीकरण गर्नुहोस्

दैनिक करोडौंको सेयर किनबेच हुने र सम्पत्ति निर्माणमा दुनियाँले सपना देखेको ठाउँ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चाहिँ वार्षिक कति कमाउँछ होला ? यो धेरैको चासोको विषय हुनसक्छ । तर, यसको उत्तर थाहा पाउन त्यति सजिलो छैन । किनकि, पारदर्शिताको वकालत गर्ने र हरेक सूचीकृत कम्पनीसँग पारदर्शिताको सम्झौता गर्ने यो संस्था आफैंमा भने अपारदर्शी छ ।

पब्लिक कम्पनी भएर पनि नेप्सेले न त्रैमासिक प्रतिवेदन प्रकाशित गर्छ न त वार्षिक प्रतिवेदन नै । तर, नेप्सेमा सूचीकृत भएका हरेक कम्पनीले त्रैमासिक र वार्षिक प्रतिवेदन प्रकाशित गर्नुपर्छ र ती विवरण नेप्सेमा पनि बुझाउनुपर्छ । पारदर्शिता कायम गराउन स्थापना भएको पुँजीबजारको नियामक धितोपत्र बोर्डले पनि यसलाई पारदर्शी बनाउन सकेको देखिएन ।

अर्थ मन्त्रालयले केही समयअगाडि मात्र प्रकाशित गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा २०७५’ अनुसार आव २०७३/७४ मा नेप्सेले ३७ करोड खुद नाफा कमाएको छ । कुल सञ्चालन आम्दानी ६५ करोडमा १० करोड ब्याजबाट आम्दानी गरेको छ भने सेयर कारोबारमा ब्रोकरले लगानीकर्ताबाट लिने कमिसनको हिस्साबाट ४६ करोड आम्दानी गरेको छ । बाँकि ११ करोड सेयर सूचीकरण शुल्कलगायतबाट प्राप्त भएको देखिन्छ । नेप्सेको पूरै इतिहास हेर्ने हो भने पनि यी आम्दानी कानुनले बाध्यात्मक अवस्था सिर्जना गरेर भएका आम्दानी हुन् । नेप्सेको व्यवस्थापनले मेहनत गरी ल्याएका नयाँ वस्तु तथा सेवाबाट प्राप्त आम्दानी होइनन् । यस लेखमा मेरो चासो यसले कति कमाउँछ भन्दा पनि कति बढी कमाउन सक्थ्यो भन्नेमा केन्द्रित छ ।

तपाईं हामी १० वर्षदेखि नेप्सेको वेबपेज खोल्दै आएका छौं तर त्यसमा केही फरक तथा नयाँपन देख्दैनौं । राम्ररी नियाल्यौं भने फरकपनको रुपमा हरेक दिन प्राविधिक समस्या बढ्दै गएको भने अवश्य पाउनेछौं । १० वर्षमा विश्वबजारमा प्रविधिमा भएको विकासको मूल्यांकन गर्ने हो भने त्यो अकल्पनीय छ ।

एकाधिकार प्राप्त कम्पनीको यो अवस्थाबाट सेयर बजारको दायरा साँघुरिएको छ, जसका कारण सबैभन्दा बढी धितोपत्र बजारका लगानीकर्ता प्रभावित भएका छन् भने दोस्रोमा यसको प्रमुख लगानीकर्ता सरकार ठगिएको छ ।

प्रविधिको विकासले केबल काममा सहजता र सूचनामा पहुँचमात्र ल्याउने हैन, यसमा व्यावसायिक सम्भावना पनि लुकेका हुन्छन् । जसको प्रयोगले ग्राहकलाई सुविधा प्रदान गर्नुका साथै कम्पनीको नाफामा अकल्पनीय सुधार गर्न सकिन्छ । नेप्सेलाई नाफामूलक संस्थामा परिणत गरेको वर्षौं बितेको छ तर यसको व्यावसायिकतामा कत्ति पनि परिवर्तन आउन सकेको छैन । एकाधिकार प्राप्त कम्पनीको यो अवस्थाबाट सेयर बजारको दायरा साँघुरिएको छ, जसका कारण सबैभन्दा बढी धितोपत्र बजारका लगानीकर्ता प्रभावित भएका छन् भने दोस्रोमा यसको प्रमुख लगानीकर्ता सरकार ठगिएको छ ।

आम्दानीका स्रोत हेर्ने हो भने नेप्सेको व्यवस्थापनको थप उत्पादकत्व शून्य बराबर छ । यसको अर्थ, नेप्सेको बन्ध्याकरण गरिएको छ, त्यसैले यसले थप उत्पादन दिन सकिरहेको छैन । सबैभन्दा महत्वपूर्ण कुरा नेप्सेको व्यवसायीकरण हुन सकेन । राजस्वको उच्च लक्ष्य पूरा गर्न सरकारले आफ्नो लगानी भएका संस्थाको उत्पादकत्व बढाउन आवश्यक छ । जसका लागि नेप्सेसँग भएका अपार व्यावसायिक सम्भावनाको खोजी र उपयोग गर्न नयाँ सोचका साथ काम गर्नुपर्ने देखिन्छ ।

एकाधिकार प्राप्त यो कम्पनीसँग व्यावसायिक रुपमा काम गरेर नाफा कमाउने पर्याप्त सम्भावना छन् । जसका लागि नेप्सेमा तलबमुखीभन्दा पनि व्यावसायिक व्यक्तिको प्रवेश गराउन जरुरी छ । नेप्सेलाई ब्रोकरबाट कमिसन असुल्ने र बैंकमा पैसा राखेर प्राप्त ब्याजबाट बोनस खानेमात्र नभई, नाफा र विकासको निश्चित लक्ष्यका साथ काम गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।

अहिले नेप्सेको आम्दानीका तीन प्रमुख स्रोत देखिएका छन्– धितोपत्रको सूचीकरण शुल्क, सेयर किनबेच गर्ने लगानीकर्ताले ब्रोकरलाई तिरेको कमिसनबाट प्राप्त हिस्सा र बैंक निक्षेपमा प्राप्त ब्याज । के नेप्सेसँग यीबाहेक अन्य कुनै विकल्पै छैनन्, जसका कारण यसको आम्दानीमा गुणोत्तर विकास गर्न सकियोस् ?

अरु पनि विकल्प छन् । यति हो, व्यवस्थापनमा नयाँ सोच र दूरदर्शिता हुन आवश्यक छ । तर, जागिरे मानसिकताबाट मात्र संस्था हाँक्नेहरुबाट यो कल्पना गर्न सकिँदैन । यस्ता व्यक्तिको व्यावसायिक र नाफामुखी संस्थामा प्रवेश हुनु नै सबैभन्दा ठूलो दुर्भाग्य हो । अर्थ मन्त्रालयले यसको मूल्यांकन गर्नुपर्छ ।

सेयर बजारमा चासो राख्नेमध्ये धेरैले हेर्ने वेबसाइटमा नेपाल स्टक एक्सचेन्जको बेवसाइट पर्छ । जुन देशभित्र मात्र नभई विदेशमा पनि हेरिन्छ । अन्य वेबसाइट सञ्चालकहरु आफ्नो वेबपेजको भिजिटर बढाएर नाफा कमाउन विज्ञापनमा लाखौं खर्च गर्छन् तर कुनै विज्ञापनबिना लाखौंले हेर्ने नेप्सेको वेबपेजको हालत हेर्यो भने दया लागेर आउँछ । उदाहरणका लागि नेप्सेले आफ्नो वेवपेजलाई मात्र व्यावसायिक बनाउन सक्यो भने वार्षिक करोडौं आम्दानी थप्न सक्छ ।

नेप्सेमा तलबमुखीभन्दा पनि व्यावसायिक व्यक्तिको प्रवेश गराउन जरुरी छ । नेप्सेलाई ब्रोकरबाट कमिसन असुल्ने र बैंकमा पैसा राखेर प्राप्त ब्याजबाट बोनस खानेमात्र नभई, नाफा र विकासको निश्चित लक्ष्यका साथ काम गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।

सेयरको मूल्यलाई असर नपर्ने गरी व्यावसायिक मर्यादाभित्र रहेर कम्पनीका विज्ञापन यसको वेबपेजमा राख्न सकिन्छ, जसको मूल्य अन्य वेबपेजमा राखिनेभन्दा धेरै बढी हुन सक्छ । जहाँ आफ्नो कम्पनीको वस्तु तथा सेवा प्रचार गर्न विज्ञापनदाता बढी मूल्य तिर्न तयार हुन्छन् । अन्य अनलाइन सञ्चाालक विज्ञापन खोज्न हिँडिरहँदा नेप्सेको वेबपेजमा विज्ञापन राख्न नेप्सेको कार्यालय धाउनेको लाइन नहोला भन्न सकिन्न । तर, नेप्सेको व्यवस्थापनले यति सामान्य लाग्ने तर मूल्यवान कुरा देखेन र भएको सञ्चित नाफालाई बैंकको मुद्धति खातामा राखेर ब्याजमा र्याल काडिरह्यो, पुँजीबजारको दायरा खुम्चेको–खुम्च्यै भयो ।

प्रत्येक आईपीओको सूचना विभिन्न अनलाइनमार्फत सर्वसाधारणलाई दिनैपर्ने बाध्यात्मक व्यवस्था धितोपत्र बोर्डले गरेको छ । त्यस्तै, व्यवस्था हकप्रद सेयर र बिक्री नभएको हकप्रद सेयरकोे बोलकबोलको सूचना प्रकाशनमा पनि गरिएको छ । यी हरेक सूचनाको सबैभन्दा उत्तम र सही स्थान नेप्सेको वेबपेज हुनसक्छ । जसबाट लगानीकर्ता तथा सम्भावित लगानीकर्ताले धेरै लाभ लिन सक्छन् । तर, नेप्से व्यवस्थापनले यस्ता व्यावसायिक सम्भावनालाई कति पनि देखेन र केवल बैंकको ब्याज र सेयर कारोबारबाट आउने कमिसनमा मात्र गिद्धेदृष्टि लगाइरह्यो । यसैगरी, नयाँ मर्चेन्ट बैंकहरु खुल्ने क्रम बढेको छ, जसको एउटा महत्वपूर्ण सेवा पोर्टफोलियो व्यवस्थापन गर्नु हो । यी कम्पनीले आफ्ना ग्राहकका लागि सूचना दिने महत्वपूर्ण स्थान पनि नेप्सेको वेबपेज हुन सक्छ ।

यस्तै, अर्को उदाहरण नेप्सेको सबैभन्दा ठूलो सम्पत्ति र आम्दानीको स्रोत सेयर कारोबारको तथ्यांक हो । यसको अर्थ सेयरको मूल्य, कारोबार संख्या, सेयर कारोबार परिमाण, नेप्से परिसूचक आदि । नेप्सेले आफूलाई आधुनिकीकरण गर्दै आफ्नो सम्पत्तिलाई व्यवसायीकरण गर्दै पनि जानुपर्छ र यस्ता तथ्यांक नेप्सेले बिक्री गर्न सक्नुपर्छ । जसबाट नेप्सेको आम्दानीको पोर्टफोलियोमा वार्षिक धेरै करोड रकम थपिन्छ, जुन बैंकको ब्याजभन्दा धेरै गुणा बढी हुनसक्छ ।

तर, यसो नगरी नेप्सेले सरकारी सम्पत्ति पेनड्राइभमा बिक्री गरिरहेको छ, जसबाट सरकारको नभई व्यक्तिको खल्ती भरिएको अनुमान गर्न सकिन्छ । यसको छानबिन पनि सरकारले गर्नुपर्छ । यी त केही उदाहरण भए, यसबाहेक अन्य धेरै विकल्पबाट नेप्सेले आम्दानी बढाउन सक्छ, जसका लागि निरन्तर नयाँ वित्तीय साधन वा उपकरण सिर्जना गरेर बजारमा लगानीका विकल्प थप्दै जानुपर्छ । ती विकल्पका लागि आवश्यक कानुन बनाउन धितोपत्र बोर्डको ढोका ढक्ढक्याउन सक्नुपर्छ ।
अर्थमन्त्रीज्यू ! सरकारको आम्दानी बढाउने हो भने नेप्सेलाई व्यावसायिक बनाउन ध्यान दिनुहोस्, जसका लागि नेप्सेको बन्ध्याकरण हैन, व्यवसायीकरण गर्नुहोस् ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु