गृहपृष्ठ सार्वजनिक जग्गा खोज्दै इटहरी उपमहानगरपालिका
सार्वजनिक जग्गा खोज्दै इटहरी उपमहानगरपालिका
इटहरी उपमहानगरले सार्वजनिक, ऐलानी, पर्ति जग्गा खोजी अभियान तीब्र वनाउने भएको छ । इटहरी उपमहानगरमा रहेका सार्वजनिक, ऐलानी, पर्ति जग्गा खोजी गर्न गठित समितिको बैठकले खोजी अभियान तीब्र वनाउने निर्णय गरेको समितिका संयोजक एवम् वडा नम्वर १३ का अध्यक्ष शिवनारायण चौधरीले जानकारी दिए ।
इटहरी उपमहानगरभरको वडा नक्सा ल्याउन नापी कार्यालय जाने संयोजक चौधरीले बताए । उनका अनुसार नक्सा प्राप्त भएपछि प्राविधिक सहित प्रत्येक वडामा पुगेर अनुगमन गरिने छ । त्यसक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र नागरिक समाज लगायतसँग सर्वपक्षीय छलफल गरिने छ ।
उद्योग वाणिज्य संघ, नागरिक समाज र वुद्धिजीविसँग समेत छलफल गरेर समिति अघि बढने उनले बताए । वडा–वडामा गरिने छलफल र परामर्शबाट सार्वजनिक, पर्ति, ऐलानी जग्गा कहाँ कति छन् थप जानकारी प्राप्त हुने समितिले अपेक्षा गरेको छ ।
कति छ इटहरीमा सार्वजनिक, पर्ति, ऐलानी जग्गा ?
यसअघि इटहरी उपमहानगरका इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा बनेको ऐलानी पर्ति जग्गा खोजविन तथा संरक्षण समितिले उपमहानगरमा प्रतिवेदन बुझाइसकेको छ । सो समितिले वुझाएको प्रतिवेदनमा खोलानाला, पोखरी, मठमन्दिरसहित इटहरीमा ९ सय ९५ विगाह ६ कठ्ठा डेड धुर जग्गा ऐलानी, पर्ति, रहेको छ । साविकको इटहरीमा २ सय ३० विगाह ७ धुर, खनारमा ३ सय २६ विगाह, १९ कठ्ठा ११ धुर, एकम्बामा १ सय ७३ विगाह १६ कठ्ठा ११ धुर, पकलीमा १ सय २२ विगाह ६ कठ्ठा ५ धुर र हाँसपोसामा १ सय ४१ विगाह १५ कठ्ठा १५ धुर जग्गा छ ।
जग्गा खोज समितिको नेतृत्वमा बनेको खोजी समितिका सदस्य अधिवक्ता शारदा अधिकारीका अनुसार अघिल्लो समितिले दिएको प्रतिवेदनमा वडा वडामा रहेका जग्गाको कित्ता नम्बर उल्लेख गरिए पनि नक्सा पहिचान नभएकाले नक्सा पहिचान गरेर समिति अघि बढ्न लागेको छ ।
प्रकाशित समय : २२:०६ बजे



















