गृहपृष्ठ सेयर बजार ४८ अंकले बढ्यो, कारोबार रकममा २५९ प्रतिशत वृद्धि
सेयर बजार ४८ अंकले बढ्यो, कारोबार रकममा २५९ प्रतिशत वृद्धि
सेयर बजार परिसूचक (नेप्से) निरन्तर उकालो लाग्न थालेको छ । गत साताभरमा ५.९७ अंकले बढेको सेयर बजार यो साता ४८ अंकले उकालो लागेको हो । साताको पहिलो दिनको तुलनामा नेप्से ४८.०८ अंकले बढेको छ । आइतबार ११८१.६९ अंकबाट कारोबार सुरु भएको बजार सेयर बजार बिहीबार १२२९.७७ अंकमा पुगेको हो ।
साताको पहिलो दिन आइतबार नेप्से ८.५९ अंकले बढेको थियो । सोमबार १५.९८, मंगलबार ३.९८ र बुधबार २३.८९ अंकले बढेको बजार अन्तिम दिन बिहीबार भने ४.३६ अंकले घटेको थियो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १९३ कम्पनीको दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँबराबरको एक करोड दुई लाख ५५ हजार ६ सय ८० कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार रकम गत साताको तुलनामा २५९.३४ प्रतिशत बढी हो । गत साता १८० कम्पनीको ८० करोड ३० लाख ७ हजार रुपैयाँबराबरको २५ लाख ४२ हजार ७ सय १० कित्ता सेयर किनबेच भएको थियो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.५५ अंकले बढेर २६०.३५ अंकमा आइपुगेको छ । यो साता एनएमबी बैंकको सबैभन्दा धेरै २२ करोड ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, कारोबार भएको सेयर संख्या ६ लाख ६४ हजार कित्ता र कारोबार संख्या १५ सय ४६ वटाका आधारमा पनि एनएमबी बैंक नै अग्रस्थानमा रह्यो ।
सेयर बजार वृद्धि ‘स्वाभाविक’
विश्लेषकहरुले सेयर बजारको वृद्धिलाई स्वाभाविक मानेका छन् । लामो समय ओरालो लागेको नेप्से उकालो लाग्न थाल्नुअघि केही समय तेर्सो यात्रामा थियो । पुँजीवृद्धिलगायतका कारणले नेप्सेमा सूचीकृत कम्पनीहरुको सेयर भोल्युम ठूलो मात्रामा बढेपछि माग र आपूर्तिको असन्तुलनले दुई वर्षदेखि ओरालो लागेको बजार माग बढ्दै जाँदा उकालो लाग्न थालेको छ ।
नेप्सेको गिरावटमा बैंकहरुको बढ्दो ब्याजदर र अनावश्यक हल्ला पनि कारक बने । तर, सेयर मूल्य समायोजन हुँदै जाँदा र बैंकहरु तरलता संकटबाट बाहिरिँदै गर्दा बजारले सकारात्मक गति लिन थालेको छ । बजारको वृद्धिका लागि नेप्सेको अनलाइन कारोबार पनि कारक बन्ने देखिएको छ । अनलाइन कारोबारका कारण सेयर खरिद–बिक्री सहज र समय पनि कम लाग्ने भएपछि सेयर बढ्ने अपेक्षामा लगानीकर्ता छन् । अहिले अनलाइन सेयर कारोबारको परीक्षण भइरहेको छ ।
बजार न्यूनतम बिन्दुनजिक भएकाले पनि लगानीकर्ताले सेयर अर्डर गर्न थालेका छन् । न्यूनतम बिन्दुनजिक रहेका बेला सेयर जोखिम कम हुने गर्छ । बजार न्यून बिन्दुनजिक पुगेको मौका छोप्दै लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ताले छानी–छानी सेयर उठाउन थालेका छन् । फलतः २०–२५ करोडको हाराहारीमा भइरहेको दैनिक कारोबार बढेर ८० करोड हाराहारी पुग्न थालेको छ । बिहीबार पनि ७९ करोड ७३ लाखको सेयर किनबेच भयो ।
प्रकाशित समय : ००:३६ बजे


















