गृहपृष्ठ खानेपानी क्षेत्रमा विशेष योजना ल्याउने तयारीमा छु : मन्त्री मगर
खानेपानी क्षेत्रमा विशेष योजना ल्याउने तयारीमा छु : मन्त्री मगर
खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले जनतालाई आधारभूत खानेपानीको सुनिश्चितता गर्न सरकारले साना र ठूला गरी केही महत्वपूर्ण आयोजनाहरु सञ्चालन गर्न लागेको बताएकी छन् ।
झापाको विर्तामोडमा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शुक्रबार आयोजना गरेको नवनिर्मित योजना समुद्घाटन कार्यक्रमलाई सम्बोधन गदै मन्त्री मगरले सो कुरा बताएकी हुन् । उनले पूर्वको मेची नदी देखि पश्चिमको महाकाली नदी समेतलाई प्रशोधन गरी पिउन योग्य बनाउन विशेष योजनाहरु ल्याउने तयारीमा जुटेको जानकारी दिइन् ।
उनले जनताको प्रत्यक्ष सहभागिता हुने खालका केही साना र ठूला आयोजनाहरु ल्याउन लागेको बताइन् । आधारभूत खानेपानीको पहुँच सबै जनतामाझ पुर्याउने सरकारको लक्ष्य रहेको भन्दै उनले हिमालबाट बग्ने हिमनदीहरुलाई पूर्णरुपमा शुद्धीकरण गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना रहेको जानकारी दिइन् ।

मन्त्री मगरले खानेपानी आधारभूत आवश्यकता भए पनि अघिल्ला सरकारले खानेपानीलाई प्राथमिकता नदिएकाले खानेपानीका लागि थुप्रै कठिनाइ भोग्नु परिरहेको बताइन् । मुलुक जलस्रोतमा विश्वको दोस्रो धनी देश भए पनि नेपालीहरु खानेपानीकै लागि ठूलो संर्घष गर्नु परिरहेको उनको भनाई छ ।
सहज रुपमा जमिनबाट पानी निकाल्न सकिने क्षेत्रहरुको पानी पिउन योग्य नरहेकोमा चिन्ता व्यक्त गर्दै उनले खानेपानी मन्त्रालय यसका लागि साना ठूला आयोजनाहरु अघि बढाउने तयारीमा रहेको जानकारी दिइन् ।
‘हामीले डिभिजन कार्यालयबाट देशैभरको खानेपानीको वास्तविक अवस्थाबारे तथ्यांक संकलन गरेका छौं,’ मन्त्री मगरले भनिन्, ‘सोही तथ्यांकमा आधारित कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा छौं, संकलित तथ्यांक हेर्दा त्यसको स्वरुप भयावह देखियो ।’ प्रशोधन सहितको स्वच्छ खानेपानी पुर्याउन खानेपानी मन्त्रालय अघि बढेको छ ।
उनले कृषिमा सरकारले किसानलाई सहुलियत दिए जस्तै खानेपानीमा पनि नागरिकलाई विशेष सहुलियत दिनुपर्ने बताइन् । सबै नेपालीलाई खानेपानीमा सहुलियत दिन एजेण्डासहित अघि बढ्ने उनको प्रतिबद्धता छ ।
प्रकाशित समय : १५:२५ बजे



















