नेपाल टेलिकमको अफरै-अफर, १८ रूपैयाँमा ७० मिनेट फोन गर्न सकिने
वि.सं.२०७५ असोज ४ बिहीवार १५:३७
shares

नेपाल टेलिकमले संविधान दिवसको अवसरमा ‘संविधान दिवस २०७५’ अफर ल्याएको छ ।
असोज १ देखि १५ गते सम्म कर सहित १८ रुपैयाँमा उक्त अफर प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । सो प्याक खरिद गरे ७० मिनेटसम्म नेपाल टेलिकमको नेटवर्कभित्र फोन, एसएमएस र इन्टरनेट डाटा चलाउन सकिनेछ ।
टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गरेको छ । कर्पोरेट ग्राहकले टेलिकमको आईपी नेटवर्कमार्फत् मल्टिपल प्वाइन्टबाट इन्ट्रानेट लिज सेवाको उपभोग गर्न मिल्नेछ । महशुल दर कम गरी आकर्षक तथा समसामयिक बनाइएको टेलिकमको भनाइ छ ।
अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध हुने भएको छ । २५६ केबीपीएस ब्यान्डविथको लिज प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि आफै ५१२ केबीपीएसमा अपग्रेड हुने र नयाँ महसुल दर पनि सोही दिनदेखि लागू हुने बताइएको छ । ५१२ केबीपीएसको महसुल प्रतिमहिना १ हजार ६ सय तिर्नुपर्नेछ । यस्तै १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । सो सुविधामा थप कर लाग्ने टेलिकमले जनाएको छ ।
टेलिकमले आगामी मंसिर २९ गतेसम्म वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज उपलब्ध गराउने भएको छ । अनलिमिटेड डाटामा थप कर नलाग्ने तर प्याकेजको संख्या बढ्दै गएपछि भने कर लाग्ने बताइएको छ । सो प्याकेजको ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा १५ सय रुपैयाँमा पाइनेछ । जसको समयावधि एक महिना हुनेछ ।
गाउँपालिकाहरुमा सोही क्षमताका डाटा प्याकेज उपलब्ध हुनेछ । एमबीपीएस अन्तर्गत १५ दिनका लागि ५ सय र १० जीबी, १ महिनाका लागि एक हजार रुपैयाँ तोकिएको छ । २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँ र ७० जीबी ६ महिनाका लागि ६ हजार रुपैयाँमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

























