निवृत्तभरण कोषसम्बन्धी विधेयक शंसोधन गर्न माग
वि.सं.२०७५ मंसिर १८ मंगलवार १८:५६
shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार भएको छलफलका क्रममा सांसद सुवालले ६० वर्ष उमेर पूरा भएका सरकारी, सार्वजनिक, संस्थानका कर्मचारीलगायत मजदुर, किसान एवं सर्वसाधारण जनताले निवृत्तभरण पाउने निवृत्तभरण कोषको स्थापना तथा सञ्चालन गर्नु वाञ्छनीय भएको बताए ।
‘कोषको रकममा कर्मचारीको योगदान प्रगतिशील कर प्रणालीमार्फत सरकारले उठाएको राजस्वबाट प्राप्त रकम हुनुपर्छ, कोषमा गैरसरकारी संस्थाबाट प्राप्त रकम र विदेशी ऋण तथा अनुदान राख्न नपाउने उल्लेख गर्नुपर्छ,’ उनले भने ।
योगदानमूलक निवृत्तभरण प्रणालीमा निजामती सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल, नेपाल विशेष सेवा, विश्वविद्यालय सेवा, शिक्षा सेवा, सार्वजनिक संस्थानका कर्मचारी, मजदुर, किसान, सर्वसाधारण जनतालाई समावेश गर्नुपर्ने उनको भनाइ छ ।
संसदमा दर्ता भएर छलफलको क्रममा रहेको निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अर्थमन्त्री डा. युवाराज खतिवडाले पनि बोलिरहेका छन् ।























