शिक्षण पेशासँगै कृषिमा रमाउँदै
वि.सं.२०७५ मंसिर १८ मंगलवार २०:१३
shares

मानिस व्यस्त रहनु नै उसको सफलताको सुरुवात हो । शिक्षण पेशाबाट मात्र नभएर बिहान बेलुकाको समय कृषि पेशामा रमाउन थालेका शिक्षक रामकृष्ण रेग्मी शिक्षण पेशाबाट मात्र तृप्त हुन सकेनन् । उनले जीवनलाई सार्थक बनाउन र आर्थिकरुपमा समृद्ध बन्दै परिवारको भविष्य थप सुनिश्चित गर्न कृषिलाई पनि सँगसँगै लैजाने निधो गरे ।
फलेवास नगरपालिका–३ रुग्दीका कृषक रामकृष्ण रेग्मीकोे बारीमा हरेक मौसममा लटरम्म गोलभेडा र मौसमअनुसारका तरकारी फलेका हुन्छन् । मौसमअनुसार खुला ठाउँमा र हिउँमा प्लाष्टिकको घर बनाएर उनले तरकारी फलाउने गरेका छन् । आफ्नै गाउँ नजिकैको निम्न माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका रेग्मी बिहान र बेलुकाको समय बारीमै तरकारी गोडमेलमा ब्यस्त भेटिन्छन् । बारीमा काउली, गोलभेडाजस्ता तरकारी हुर्किरहेका छन् ।
तरकारीको गोडमेल गर्नु उनको साँझ बिहानको दिनचर्या जस्तै बनेको छ । उनी शिक्षकको अतिरिक्त तरकारी कृषक मात्र नभएर पोल्टी फार्म र गाउँकै होलसेल किराना पसल गर्ने एक व्यवसायी समेत हुन् ।
शिक्षण पेशाबाट आफूले घरपरिबार तथा छोराछोरीलाई पढाउन समेत धौ धौ हुने गरेको अनुभव सुनाउँदै उनले अहिले आफ्नो परिवार धान्न तथा घर खर्च चलाउन सहज हुने गरेको जिकिर गरे । पछिल्लो सात वर्षयता उनको परिवारले व्यावसायिक तरकारी खेती गरिरहेको छ ।
खर्च कटाएर कृषिबाटै वर्षको तीन लाखसम्म आम्दानी गर्छ रेग्मी परिवारले । घरमै तरकारी खेती र पोल्टी फार्म राम्रो हँुदै गएपछि उनको परिवार अहिले एकदमै खुशीसमेत बनेको छ । उनको परिवारमा छोटो समयमा उल्लेख्य परिवर्तन आएको छ । रेग्मीको परिवारले ल्याएकोे यो परिवर्तनले अहिले रेग्मीको घरमा मात्र नभएर शंकरपोखरी रुग्दीका हजारभन्दा धेरै किसानको घरमा यस्तै परिवर्तन आउन थालेको छ । विदेश गएर फर्केकासमेत अहिले कृषिमा होस् या पशुपालन व्यवसाय सबै आफ्नो गाउँ आफैँ बनाउँ अभियानमा जुटेका छन् ।
यसको कारण हो पछिल्लो समय गाउँमा आएको जनचेतना र नयाँ प्रविधिको आत्मसात् जसका कारण प्रत्यक्षरुपमा हजारौं कृषकको जीवनशैलीमा परिवर्तन मात्र आएको छैन, ‘विषादी’ भनेर चिनिएको गाउँमा वातावरणमैत्री कृषिको विकास पनि भइरहेको छ ।
अहिले उनको बारीमा हरियो साग, काउली, बन्दा, टोमाटर केराउलगायतका हरियो सागसब्जी मगमगाइरहेका छन् । उनले विदेशिन युवालाई लक्षित गर्दै आफूले गाउँमा कृषि क्रान्तिको शुरुआत गरेको बताए । झण्डै ७० प्रतिशत तरकारी बारीबाटै बिक्री हुने भए पनि बाँकी तरकारी उनले सदरमुकाममा लगेर बेच्दै आउने गरेको बताउँछन् । रेग्मीका अनुसार अहिले उनको तरकारीबाहेक पोल्टी फार्म तथा किराना व्यवसायबाट मात्रै महीनाको एक लाखदेखि दुई लाखको हाराहारीमा कमाइ हुन्छ । जसमध्ये खर्च कटाएर सिजनमा एकलाखसम्म बचत हुन थालेको छ ।
रासस
























