नेपालतर्फको आइसिपी निर्माण कछुवा गतिमा
वि.सं.२०७५ मंसिर १९ बुधवार १२:५९
shares

मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत जाँच पास चौकी (आइसिपी)को निर्माण कार्य सुस्त देखिएको छ । नेपालतर्फ आइसिपी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि अहिलेसम्म ६२ प्रतिशत मात्र निर्माणको काम पूरा भएको छ ।
मोरङको बुधनगरमा आइसिपी निर्माण सुरु भएको २२ महिना पूरा भएको छ । भारततर्फ जोगबनीमा दुई वर्षअघि नै आइसिपी निर्माण भएर सञ्चालन आए पनि बुधनगरमा भने सुस्त गतिमा निर्माण भइरहेकोले तोकिएको समयमा निर्माण नहुने देखिएको हो ।
आइसिपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले बुधनगरमा आइसिपी निर्माणको काम अघि बढाएको थियो । गएको फेब्रुअरी १ देखि आइसिपी निर्माण सुरु भएको थियो । निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फ्रा डटकम अहमदावादले आइसिपीको निर्माणको काम गरिरहेको छ ।
ठेकेदार कम्पनी दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकमका इन्जिनियर अवधेशकुमार साहले आइसिपीका लागि तयार गरिने भवन, घेराबेरा गर्ने लगायतका काम भइरहेको जानकारी दिए । निर्माण कम्पनीका अनुसार आइसिपीको पहिलो चरणको काम भइरहेको छ । जसमा आइसिपी जाने लिङ रोड निर्माण र आइसिपी हाताभित्र भौतिक संरचना निर्माणको काम भइरहेको छ ।
संयुक्त रूपमा नेपाल-भारत दुवैतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाई र ५ सय मिटर चौडाइको हुनेछ । आइसिपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा जग्गा छुट्याइएको छ । यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको काम सुरु भएको छ ।
लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर-दक्षिणी राजमार्गसँग जोडिनेछ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आइसिपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तरण गरेको थियो ।

























