काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राजधानीमा जामको सास्ती, कसरी होला समाधान ?

6.16K
shares

काठमाडौंको गौशाला बस्दै आएका टेकबहादुर श्रेष्ठलाई भक्तपुरको कौशलटारस्थित कार्यालयबाट काम सकेर साँझ घर आइपुग्न करिब दुई घण्टा लाग्छ । प्रायः साँझ ५ बजे गाडी चढ्ने उनी ७ बजेतिर मात्र घर पुग्छन् । जामका कारण उनले बिहान–बेलुका गरी दैनिक तीन–चार घण्टा समय व्यर्थै खेर फाल्नुपर्छ ।

कौशलटारबाट गौशालाको दूरी ५.८ किलोमिटरमात्र हो । जाम नहुने हो भने निजी सवारी सवारी साधनमा यो दूरी बढीमा १० मिनेटमा पार हुन्छ भने सार्वजनिक सवारी साधनमा पनि १५–२० मिनेटभन्दा बढी लाग्दैन ।

गट्ठाघरबाट पुतलीसडकस्थित कार्यस्थल पुग्न सिरहाका नवीन यादवलाई पनि बिहान एक घण्टाभन्दा बढी लाग्छ । १० बजेको अफिस भ्याउन उनी कोठाबाट सधैं साढे ८ बजे निस्किसक्छन् । फर्किंदा पनि उनले डेढ घण्टाभन्दा बढी बाटोमै बिताउनुपर्छ ।

कलंकी बस्ने पर्वतका सुविन पौडेलको व्यथा पनि उस्तै छ । कमलादीमा रहेको अफिसमा आइपुग्न उनी पनि डेढ घण्टाअघि नै कोठाबाट निस्किन्छन् । सधैं डेढ घण्टा त लाग्दैन तर कतिबेर लाग्छ भन्ने टुंगो पनि हुँदैन । कहिले दुई घण्टा पनि गाडीमै बिताउनुपर्ने भएकाले उनी चाँडै निस्किन्छन् ।

यी केही प्रतिनिधि उदाहरणमात्र हुन् । सवारी जामका कारण राजधानीमा दैनिक लाखौं यात्रुले सास्ती पाइरहेका छन् । र, उनीहरु तीनैजनाको एउटै बुझाइ छ– राजधानीमा सवारीसाधन धेरै भएका कारण जाम भएको हो ।

राजधानीको यात्रुको चापअनुसार सवारी साधान बढी भएको हो कि होइन, गहन अध्ययन जरुरी छ । तर, सडकलाई पार्किङमुक्त बनाउने, ठूला सवारी साधन थप्ने र कार्यालय तथा विद्यालयको समय मिलाउने हो भने राजधानीमा जामको समस्या तत्कालका लागि समाधान हुने विज्ञहरु बताउँछन् । त्यसबाहेक नदीआसपासका सडक र ठूला सडकमा निर्माणाधीन पुललाई चाँडो सम्पन्न गर्ने हो भने अर्को केही वर्ष जाम हट्छ । सरकारले आफ्नो भौतिक पूर्वाधार क्षमताअनुसार कति सवारी साधान भित्र्याउने भन्ने हेक्का त सधैं राख्नैपर्छ ।

जामका कारण राजधानीबासीले एउटैमात्र समस्या भोग्नु पर्दैन । दिनभरको कामको थकानबाट लखतरान भएको ज्यान जाममा दुई घण्टा बस्नुपरेपछि झन् थाक्छ । ‘दिनभर शारीरिक परिश्रमको थकान हुन्छ, सवारी जामले मानसिक थकान दिन्छ,’ टेकबहादुर भन्छन्, ‘अरु केही, सोच्ने गर्ने भन्ने त दिमागमै आउँदैन ।’ शारीरिक थकानभन्दा मानसिक थकानले मानिसलाई कमजोर बनाउँछ । समय बर्बाद हुने त छँदै छ ।

जामले मानिसलाई कामचोर र झुट पनि बनाएको छ । जामकै कारण अफिस आउन ढिला भयो भन्ने बहाना बनाउन सजिलो भएको छ । कसैसँगको भेटघाटमा पनि समयभन्दा ढिला पुगियो भने ‘जामले बितायो’ भन्न सबैभन्दा सहज हुन्छ । कौशलटारमा हुँदा ‘कोटेश्वर आइपुगेँ जाममा छु’ भन्न र कालिमाटी आइपुग्दा ‘त्रिपुरेश्वर आइपुगेँ, जाम खुल्नेबित्तिकै अब त आइपुगिहाल्छु नि !’ भन्ने बहाना जामले जुटाइदिएको छ । जामकै कारण यथार्थमा आइपर्ने समस्या त कति छन् कति ।

traffic jam newskarobar

उपत्यकामा कति छन् सवारीसाधन ?
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ सम्म देशभरमा ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन् । बागमती अञ्चलमा ११ लाख ७२ हजार ४ सय १३ सवारी साधन दर्ता भएका छन्, जुन देशभरको सवारी साधनको ३६.३९ प्रतिशत हिस्सा हो ।

आर्थिक वर्ष २०७४/७५ मा मात्रै साना, मध्यम र ठूला गरी एक लाख २० हजार ७ सय ८६ सवारीसाधन थपिएका छन् । तीमध्ये एक लाख १८ हजार ४ सय ९६ वटा निजी साधन छन् । एक लाख ४ हजार ४४ वटा दुई पांग्रे सवारी दर्ता भए भने २ हजार २ सय ९० मात्रै सार्वजनिक साधन दर्ता भए । वागमतीमा दर्ता भएकामध्ये अधिकांश सवारी उपत्यकामै चल्ने यातायात व्यवस्था विभागका प्रवक्ता एवं सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

ट्राफिक प्रहरी भन्छ- सर्वसाधारणले साथ दिएनन्
ट्राफिक प्रहरी सार्वजनिक सवारी साधनमा आजित भएका कारण पनि क्षमता हुनेहरु निजी सवारी साधनतर्फ आकर्षित भएको बताउँछन् । आजकल जोकोही पनि निजी सवारी साधन किन्न बाध्य भएका कारण झन्–झन् सवारीको चाप बढ्दै गएको ट्राफिक महाशाखा प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले बताए ।

जाम कम गर्ने विषयमा भने सर्वसाधारणबाट कुनै सहयोग नभएको उनले गुनासो गरे । ‘हामीले हाम्रो ठाउँबाट जाम हटाउन सक्दो कार्य गरेका छौं तर, सर्वसाधारणको सहयोग पाएका छैनौं । चालकले गरेको गल्ती यात्रुले हामीलाई जानकारी नै गराउँदैनन्,’ उनले भने ‘ट्रफिक जाम नियन्त्रण गर्न हामीले ट्रफिक बत्तीलाई पनि अधिकतम ठाउँमा प्रयोग गर्ने गरेका छौं ।’ सडकको किनारामा सवारी साधन पार्क गर्नाले पनि जाम बढ्ने गरेको उनले बताए । महानगरपालिकासँग समन्वय गरेर सडक किनारको पार्किङ हटाउने तयारी भइरहेको महाशाखा प्रमुख पन्तले जानकारी दिए ।

यसै पनि व्यावसायिक मर्यादा नभएका कारण नेपालको सार्वजनिक सवारी साधनमा यात्रा गर्न धेरै कठिन छ । भाडामा मनपरीदेखि चानचुन (एक–दुई रुपैयाँ) फिर्ता नगर्ने प्रवृत्तिको सिकार यात्रु बन्ने गरेका छन् । यात्रु चढाउन र ओराल्न स्टेसनको कुनै परवाह हुँदैन । चालक जिम्मेवार नहुँदा जहाँ मन लाग्यो त्यहाँ रोक्ने गरेका छन् । चालकहरु भने स्टेसन स्पष्ट नहुँदा र ट्राफिकको मनपरीका कारण समस्या भएको बताउँछन् ।

समस्या समाधानका लागि आफ्नै तर्फबाट मात्र पहल लिने, एक–अर्कालाई आरोपमात्र लगाउने, विज्ञहरुको सल्लाह नलिने कारण पनि जाम हट्न नसकेको अधिकांशको बुझाइ छ । एकअर्कालाई आरोप लगाउनुभन्दा सर्वपक्षीय छलफल र सम्बन्धित निकायबीच समन्वय गर्ने हो भने जामको समस्याबाट सबैले मुक्ति पाउने सर्वसाधारण बताउँछन् ।

(तस्बिर ः सुनिल प्रधान)