नेतृत्वप्रति पूर्वएमाले गरम पूर्वमाओवादी नरम
वि.सं.२०७५ पुस ६ शुक्रवार २०:०१
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा सरकारको आलोचनामा पूर्वमाओवादी केन्द्रका नेताहरु नरम देखिएका छन । पूर्वएमालेका नेताहरु भने नेतृत्वको कार्यशैली र सरकारको काम कारबाहीलाई लिएर खरो रुपमा प्रस्तुत भएका छन् ।
नेशनिबारदेखि जारी बैठकमा पछिल्ला दिनमा धारणा राख्ने अधिकांश सदस्यले पनि सरकार र पार्टी नेतृत्वको गतिहीनता र कार्यशैलीमाथि कटाक्ष गर्दै आएका छन् । पूर्वएमालेका नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरिरहँदा पूर्वमाओवादी केन्द्रका हरिबोल गजुरेल, लिलामणि पोख्रेलललगायत नेताहरूले बचाउ गरेका छन् ।
नेता गजुरेलले बैठकको दोस्रो दिन लिखित दस्तावेज वितरण गर्दै नेता बामदेब गौतमको आलोचना गर्दै ओलीलाई समर्थन गरेका थिए ।
यस्तै मन्त्री समेत रहेका स्थायी, समिति सदस्यहरु चक्रपाणि खनाल र मातृका यादवले पनि आफूहरुको काम सन्तोषजनक रहेको समीक्षा गरेका छन् । पूर्व एमाले नेता माधवकुमार नेपाल बामदेव गौतम पक्षका नेताहरुले पार्टी एकीकरण विधिसम्मत ढंगले टुंग्याउनुपर्नेमा जोड दिँदै नेतृत्वले कार्यशैली तत्काल बदल्न नेताहरूले सुझाव दिईरहँदा पोख्रेल, खनाल, र यादवलगायतले भने नेतृत्वको कामको समर्थन गरेका थिए ।
शुक्रबार धारणा राखेका नारायणकाजी श्रेष्ठले भने एकताको ७ महिना वित्दासमेत पार्टी एकतालाई स्थानीय तहसम्म पुर्याउन नसकेको भन्दै नेतृत्वको आलोचना गरे । ‘तुलनात्मक रूपमा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्वको खुलेर आलोचना गरे, सरकारको नियुक्ति, पार्टी नेतृत्वको विषयमा उनले आलोचना गरेका थिए,’ एक नेताले भने ।
मणि थापा, अमिक शेरचनले भने सरकार र पार्टी नेतृत्वको आलोचनाप्रति प्रतिरक्षा गरेका नेताहरुले बताए । गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले आफ्नो पनि विचार राखेका थिए ।
बैठकमा नेतृत्वको कार्यशैलीबारे प्रश्न उठ्नेक्रम जारी रहेको स्थायी समिति सदस्य गणेश साहले बताए । ‘बैठकमा पार्टीको तल्लो तहको एकता, संगठनात्मक संरचना लगायतबारे छलफल हुने भए पनि नेतृत्वको कार्यशैली, सरकारका कामा बढी छलफल भईहरेको छ,’ साहले न्यूज कारोबारसँग भने ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने क्रम जारी छ । बैठकमा नेताहरुले बोल्न क्रम सकिन लागेको छ । अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले बोलिसकेका छन् । बाँकी नेताहरुले शनिबार आफ्नो धारणा राख्नेछन् ।
नेताहरु माधव नेपाल र झलनाथ खनालले पनि शनिबार नै विचार राख्ने जनाइएको छ । अहिलेसम्म बोल्ने नेताहरुले उठाएको प्रश्नको आईतबार अध्यक्षद्वयले जवाफ दिएपछि बैठक सकिने जनाईएको छ । ‘सम्भवतः पर्सी अध्यक्षद्वयले जवाफ दिनु हुनेछ, त्यससँगै बैठक समापन हुनेछ,’ शुक्रबार बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।
बैठकमा नेता गौतमको फरक प्रतिवेदन पेश गरेका छन् । अर्काे नेता भीम रावलले भने युनिभर्सल पीस फेडेरसनका सन्दर्भमा अध्ययनसहितको प्रतिवेदन राखेका छन् । योगेश भट्टराई, घनश्याम भूषाललगायतका सदस्यले पनि सरकारको कार्यशैली र पार्टी सञ्चालनमा समस्या रहेको टिप्पणी गरेका छन् ।
























