global ime bank Long Banner Ad

गृहपृष्ठ मानव सेवाको सच्चा नमुना : एकै महिनामा ७५८ सडक मानवको उद्धार

मानव सेवाको सच्चा नमुना : एकै महिनामा ७५८ सडक मानवको उद्धार

मानव सेवाको सच्चा नमुना : एकै महिनामा ७५८ सडक मानवको उद्धार

कपिलवस्तुको बाणगंगा नगरपालिका १ स्थित सडकपेटीमा शरीरभरी पोलिएर असक्त अवस्थामा भेटिए अरुणकुमार मानव । स्थानीयले दिएको सूचनाको आधारमा उद्धार गर्दा उनी सडक छेउमा रहेको परालमा गुटमुटिएको अवस्थामा थिए । उनको आफ्नै शरीरले घाउ थिचिँदा परालका त्यान्द्रा अड्किएर शरीरमै गुजुल्टिएको थियो । उनलाई पुस २७ गते मानवसेवा आश्रमले उद्धार ग‑यो । अरुणका शरीरका केही भाग नचल्ने अवस्थामा थिए । उनी मनोरोगीसमेत हुन् ।

आश्रमको रुपन्देही शाखाको संरक्षणमा राखेर उनको औषधोपचार जारी छ । शाखाकी सहसंयोजक टीकामाया थापा भन्छिन्, ‘ल्याउँदा उहाँको अवस्था दयनीय थियो, अहिले धेरै सुधार भएको छ, आफैँ खाना खान थाल्नुभएको छ ।’ उद्धारका क्रममा उनले कयौँ दिन भोकै भएको अनुभव सुनाएका थिए । मानव भारतीय नागरिक हुन् । उनको नाम अरुणकुमार मानव भनेर आश्रमले नै राखेको हो ।

पुसको दोस्रो साता सर्लाहीको हरिवन नगरपालिका ४ पटौना अर्को घटना भयो । त्यहाँबाट एकै परिवारका तीन भाइ मनोरोगीको उद्धार गरियो । उनबहादुर कार्कीले केही सीप नलागेपछि कान्छा छोरा रुद्रबहादुरलाई खोरमा थुनेर राखेका थिए । जेठो र माहिलो छोरा पवन र हेमबहादुर पनि मनोरोगी छन् ।

उनबहादुर कयौँ प्रयास गर्दा पनि उनीहरुलाई पुरानै अवस्थामा फर्काउन नसकेर बाध्यताले खोरमा थुनेको बताउँछन् । त्यो जानकारी पाएर पुसको दोस्रो साता मानवसेवा आश्रमले उद्धार गरेको थियो । उनीहरुको अवस्था क्रमशः सुधार हुँदै गएको छ । यी दुई प्रतिनिधिमूलक घटना हुन् । एक महिनामा पीडामा परेका ७५८ व्यक्तिलाई आश्रमले उद्धार गरेको छ ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालन भएको उद्धार अभियानका क्रममा भेटिएका उनीहरुलाई औषधोपचारसहित पालनपोषण गर्ने र आवश्यक मनोपरामर्श दिएर परिवारमा मिलन गराउने अभियान जारी रहेको आश्रमका अभियन्ता होमनाथ तिमिल्सिना बताउँछन् । उनका अनुसार पुस ७ गतेदेखि सुरु भएको अभियान माघ १७ गते समापन हुँदासम्म ७५८ मध्ये २३५ जनालाई परिवारमा मिलनसमेत गराइसकिएको छ । यसअघि उद्धार गरिएका व्यक्तिसहित अहिले आश्रममा एक हजार ५२३ जनाले आश्रय पाइरहेका छन् ।

विविध कारणले मानिस सडकमा आइपुग्ने गरेका छन् । त्यसमध्ये आफ्नै पारिवारिक हेला पनि एउटा कारण बन्ने गरेको छ । कतिले सडकमा ल्याएर फ्याँकेका समेत भेटिएको आश्रमले जनाएको छ । त्यस्ता गतिविधिले मन भक्कानिने एक जना सन्त आदर्श साहेब बताउँछन् । ‘मानव भएर मानवताका लागि अहिले जुटेनौँ भने कहिले जुट्ने ?’ उनी प्रश्न गर्छन् ।

एक महिने सडक उद्धार अभियानमा सहभागी युवा अर्जुन भुसाल साँच्चै नै मानवताका हिसाबले मुलुक खोक्रो रहेको बताउँछन् । यत्रतत्र मानिस बाटोमा फ्याँकिएका र कयौँ दिन भोकै बसेका, मागेरसमेत खान नसक्ने अवस्थाका मानिस भेट्दा उनलाई निकै पीडा भयो ।

आश्रमले २०६९ सालदेखि सडक उद्धार अभियान चलाइरहेको छ । सडकमा रहेका असक्त, असहाय, बेवारिसे, मनोरोगीलगायतको सेवामा जुटेको आश्रमले अहिलेसम्म पाँच हजारभन्दा बढीलाई उद्धार गरिसकेको जनाएको छ । एक हजार ५०० भन्दा बढीलाई परिवारमा मिलन गराइसकेको छ । आश्रमले त्यस्ता व्यक्तिको घर पहिचान गरी भारत, बंगलादेशलगायत बाह्य मुलुकमा पुगेर पनि परिवारिक पुनर्मिलन गराइसकेको छ ।

सरकारले २०७८ सालसम्म मुलुकमा सहयोगापेक्षी सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ । त्यसलाई पूरा गर्न आश्रम एउटा सारथि बनेर उभिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो बताउँछिन् ।

गायिका आनी छोइङ डोल्मा पनि आश्रमको कार्यबाट प्रभावित छिन् । उनले सार्वजनिक नगर्ने गरी अभियानलाई सफल पार्न लाखौँ रुपैयाँ सहयोग गरेकी छन् । ‘आश्रम मानिसको मनमस्तिष्कमा करुणा जगाउन सफल छ, हामी सबैले साथ दिनुपर्छ,’ उनी भन्छिन् ।

प्रमुख संरक्षक गोविन्द टण्डनले दिएको नैतिक शिक्षाबाट सिकेर रामजी अधिकारीको संकल्पबाट आश्रम स्थापना भएको हो । सन् २०८२ सालभित्र कोही पनि व्यक्ति बेवारिसे बनेर सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य आश्रमले लिएको छ । (रासस)

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु