गृहपृष्ठ प्राविधिक शिक्षाको लागि चीनले छात्राबास बनाउने
प्राविधिक शिक्षाको लागि चीनले छात्राबास बनाउने
पोखराको सुक्रराज माध्यामिक विद्यालयमा चीनले प्राविधिक शिक्षा (पशु विज्ञान) विषयको लागि छात्रबास निर्माण गर्ने भएको छ । विद्यालयमा विगत ५ वर्षदेखि संचालन हुँदै आएको प्राविधिक शिक्षा होष्टेलको अभावमा प्रभावकारी हुन नसकेपछि चीन सरकारले होस्टेल बलाइ दिन लागेको हो ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त होष्टेलकाे मंगलबार शिलन्यास गरेका छन् । मन्त्री विश्वकर्माले विद्यालयका लागि आवश्यक पर्ने कुरा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले निमार्ण हुँदै गरेको फुटवल मैदानका लागि आवश्यक सहयोग गर्ने बचन दिएका छन ।
त्यस्तै पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चिनिया सरकारबाट प्राप्त भएको सहयोगलाई सहि ढंगले सदुपयोग गर्न सके धेरै ठाँउबाट शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग उपलब्ध हुने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले पोखरा महानगरपालिकामा प्राविधिक शिक्षाको माग तिव्र भए पनि विभिन्न कारणले गर्दा विद्यार्थीहरुको क्रेज घट्दै गएको बताए । नेकपाका नेता तेज नारायण अधिकारीले देशमा प्राविधिक शिक्षाको माग रहेको बताए ।
पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको उक्त बिद्यालयमा संचालन भइरहेको प्राविधिक विषयको शिक्षामा जोड दिँदै स्वरोजगार र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले चीन सरकारले होस्टेल बनाइ दिन लागेको प्राचार्य नरनाथ बरालले बताए ।
चीनले २ सय क्षमताको सभाहल सहितको २ तले पक्की भवन निमार्ण गर्ने छ । १५ महिना भित्र करिब २ करोड ५० लाखको लागतमा सभाहल सहितको होष्टेल बनाउने लक्ष्य छ ।
विद्यालयमा टाढाटाढाबाट विद्यार्थी पढ्नको लागि आउने गरेको तर बस्ने ठाउँको अभावमा बीचमै पढाइ छोड्ने गरेको बरालले बताए । उनले भने, ‘पशु विज्ञान महत्व धेरै भए पनि कोर्ष कठिन भएको हुनाले कक्षा ११ र १२ मा धेरैले बीचमै छोड्ने गरेका छन्, अब होस्टेल संचालनमा आएपछि पढाइमा सुधार हुने छ ।’ विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद समेत रहेका रामजी बराल (जिवन) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित समय : १७:५२ बजे


















