गृहपृष्ठ ह्यातुङ झरना : प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
ह्यातुङ झरना : प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
स्वर्ग धर्तीमै छ भन्ने भनाइ सान्दर्भिक बनाएको छ– तेह्रथुम जिल्लास्थित ह्यातुङ झरनाले । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारबाट करिब ४५ किलोमिटरको दूरीमा पर्ने यो झरनाको अनुपम सौन्दर्यले धेरैलाई मुग्ध पार्छ ।
झरना अवलोकनमा लागि स्वदेशी तथा विदेशी पर्यटक आतुर बन्ने गरेका छन् । तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ३ सय ६५ मिटर लामो एसियाकै सबैभन्दा अग्लो झरना ‘ह्यातुङ झरना’ पर्यटकको गन्तव्य बनेको छ । सो गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा रहेको यो भरना हेर्नकै लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् ।
प्रचुर पर्यटकीय सम्भावना बोकेको ह्यातुङ झरनामा पर्यटकहरु रमणीय दृश्यावलोकनका साथै फोटो खिच्ने तथा नुहाउनेसमेत गर्छन् । पहिलो पटक झरना अवलोकनका लागि आएका विराटनगरका श्रवणकुमार रिसिदेवले आफूलाई स्वर्गझैं आभाष मिलेको बताए । ‘पुस्तक र सञ्चारमाध्यममा पढ्दा र सुन्दा नै बेग्लै कल्पनाखालको कल्पना गरिने यो झरना हेर्दा फरक अनुभूति भयो,’ उनले भने, ‘यहाँ आउँदाको आन्दत म वर्णनसमेत गर्न सक्दिन । ह्यातुङ झरनाले तेह्रथुमको मात्र नभएर सिंगो नेपाललाई चिनाउँछ ।’
झरनामा देखिने सप्तरंगी इन्दे्रेणीको दृष्यले पर्यटकको मन लोभ्याउने गर्छ । झरना अवलोकनका लागि पुगेका काभ्रेका अशोककुमार सिंहले ह्यातुङ झरना क्षेत्र नेपालका प्राकृतिक सम्पदामध्ये उत्कृष्ट रहेको प्रतिक्रिया दिए । यसको उचित संरक्षण सम्वद्र्धन गर्न आवश्यक रहेको उनले बताए । ‘पत्रपत्रिकामा मात्र देखेको थिएँ, यहाँ आएर हेर्दा सोचेभन्दा र नक्सामा देखेभन्दा बेग्लै मनमोहक रहेछ,’ उनले भने, ‘प्रकृतिसँग रमाउन र खेल्न पाउँदा बेग्लै आनन्द मिलेको छ ।’

फेदाप गाउँपालिकाको इसिवु र सम्दुको सिमानामा रहेको यो झरना हेर्न नेपालका विभिन्न स्थानका साथै भारत र तेस्रो मुलुकबाट समेत पर्यटकको चाप बढ्दै गएको छ । अधिकांश नवजोडीको समेत गन्तव्यस्थल बन्दै गएको छ ह्यातुङ झरना ।
मध्यपहाडी लोक मार्गको सम्दु सडकखण्डबाट आधा घण्टाको पैदल दूरीमा पुग्न सकिने यो झरनाको प्रचारप्रसार र उचित व्यवस्थापन भने हुनसकेको छैन । निजी तथा सरकारी स्तरबाट व्यवस्थापनका लागि पहल नहुँदा अथाह पर्यटकीय सम्भावना बोकेको यो झरनाबाट यथोचित लाभ लिन सकिएको छैन ।
फेदाप गाउँपालिकाले यसको प्रवद्र्धनका लागि कार्ययोजना बनाएको प्रवक्ता नवीन चोङबाङले बताए । ‘यो क्षेत्रको विकास र पयर्टन प्रवद्र्धनका लागि फेदाप गाउँपालिकाले बजेट विनियोजन गरेर कार्यान्वयनमा ल्याउन थालेको छ,’ उनले भने, ‘आर्थिक वर्ष २०७४÷७५ देखि नै बजेट विनियोजन गरी हालसम्म गाउँपालिकाले ३० लाख रुपैयाँ लागतमा सडक स्तरोन्नति गरेका छौं ।’
प्राकृतिक अनुपम सुन्दरता बोकेको ह्यातुङ झरनामा बर्खायाममा पानीको स्रोत प्रशस्तै भए पनि हिउँदमा कम हुने गरेकाले पानीको व्यवस्थापनसमेत गर्नुपर्ने देखिन्छ । झरनासम्म आवतजावतका लागि सडक निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम प्रदेश तथा संघीय सरकारले ल्याउन सके बर्सेनि लाखौँ पर्यटक भित्र्याउन सकिने सम्भावना छ ।








प्रकाशित समय : १८:३३ बजे


















