तिहारको मुखमा छ्यापछ्याप्ती अखाद्य मिठाई
वि.सं.२०७५ कात्तिक १७ शनिवार १४:४८
shares

भक्तपुर नगरपालिकाका अधिकांश पसलमा अखाद्य मिठाई भेटिएको छ । नगर अनुगमन समितिले शुक्रबार नगर क्षेत्रका पसलमा भेटिएका अखाद्य मिठाइ नष्ट गरेको छ ।
मिठाई पकाउने तेल जाँच गर्दा रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको, म्याद नाघेको रंग प्रयोग गरेको, बढी रंग राखेर पठाउने गरेको, अधिकांश पसलमा तेल र रंग भएको, बासी मिठाई र म्याद नाघेका सामान ठूलो मात्रामा जफत गरी बाराही स्थानमा लगेर नष्ट गरिएकोे वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।
समितिले च्यामासिंहस्थित प्रकाश बासुकलाको मिठाई पसल, आरएम खाजा घर (मिठाई) पसल, न्यू लासिवा मिठाई भण्डार, नवदुर्गा एण्ड चाट हाउस, लक्ष्मी स्वीट एण्ड चाट प्यालेस, दिनेश लाछिमस्यूको साधारण रेष्टुराँ तथा मिठाइ पसल, रामकेशर प्रजापतिको चिया पसल र बिमल थापाको मिठाई पसलबाट अखाद्य मिठाई जफत गरिएको हो ।
यस्तै नवशक्ति इन्टरप्राइजेजबाट म्याद नाघेको अरुण केशरी खाद्य रंग १३० बट्टा नष्ट गरिएको थियो । कतिपय मिठाई पसल दर्ता बिना नै सञ्चालन गरिएको पाइएको थियो । गुणस्तरहीन तेलमा पकाएको मिठाई बेचबिखन गरेमा पाँच वर्ष जेल सजाय र ५० हजार रुपेयाँसमेत जरिवाना हुने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले जानकारी दिए । (रासस)
























