global ime bank Long Banner Ad

गृहपृष्ठ पुल बन्न लाग्यो, सडक बन्ने सुरसार छैन

पुल बन्न लाग्यो, सडक बन्ने सुरसार छैन

पुल बन्न लाग्यो, सडक बन्ने सुरसार छैन

पूर्व–पश्चिम मुख्य राजमार्गको तिनाउ नदी (हाल सञ्चालन)मा रहेको पुलको विकल्पमा दुई वटा पुल निर्माणाधीन छन् । अहिले सञ्चालनमा रहेको पुलसवारी साधानको चाँपले साघुँरो बन्दै गएको छ । जसको कारण पुलमा कहिलेकाहीँ घण्टौंसम्म जाम हुने गरेको छ । सोही जामलाई कमी ल्याउने गरी बुटवलको देवीनगरमा र गोलपार्क पुलचौकमा दुईवटा पुल बनाउन थालिएको हो ।

बुटवल देवीनगर–हात्तीसुँड पुल निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । डिभिजन सडक कार्यालय बुटवलका अनुसार चालू आर्थिक वर्षमा नै उक्त पुल सञ्चालनमा आउने गरी कार्य भैरहेको छ । हाल निर्माणाधीन पुल डबल गाडी गुड्ने (डबल लेन) को हो । तर, पुलसम्म पुग्ने सडक भने कुनै एउटामात्रै गाडी पनि मुस्कलले जान सक्ने अवस्थाको छ ।

बुटवल–११, देवीनगरका तिलकराम पौडेल सरकारले पुलमात्रै बनाउने तर बाटो नबनाउने हो भने यो पुल घाँडो हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘तीन कुनेदेखि देवीनगरसम्म जाने बाटोको अवस्था बिजोग छ, सानो गाडी पनि मुस्किलले छिर्न सक्ने बाटोमा डवल लेनको गाडी गुड्न सक्ने गरी पुल निर्माण गर्नुको के अर्थ ?’

सरकारले बुटवलको तिनकुने (पौढ समाजको कार्यालयअगाडि) रहेको जीर्ण पुल विस्तार र मर्मतसम्भारमा कुनै चासो देखाएको छैन, जसको कारण अहिले पनि उक्त पुल (कल्र्भट)मा घन्टौं जाम हुने गरेको छ । स्थानीय दुर्गाप्रसाद पौडेल पनि देवीनगर–हात्तीसुँड पुल निर्माण सम्पन्न हुनुभन्दा पहिला नै तीनकुने (पौढ समाज) अगाडिको पुल निर्माण गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘लौ पुल बन्यो रे ! त्यहीँबाट नै जान सकिन्छ भनेर अधिकांश मानिस यही बाटो प्रयोग गर्नेछन्, जसले गर्दा झनै बाटोको जाम हुने खतरा बढेको छ ।’ देवीनगरदेखि मुख्य राजमार्ग जोड्ने बाटो विस्तारमा समयमै सरकारी निकायबाट सोच्नुपर्ने स्थानीयबासीको भनाइ छ ।

अहिले सञ्चालनमा रहेको बाटो पुल सञ्चालन भएपछि उपयुक्त नहुने स्थानीयको तर्क छ । पुल निर्माणसँगै बाटो निर्माणलाई पनि प्राथमिकता दिनुपर्ने उनीहरु बताउँछन् ।

वि. सं. २०७२ मंसिर १२ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल–११, देवीनगरदेखि हात्तीसुँड बस्ती जोड्ने पुलको शिलान्यास गरेका थिए । ११२ मिटर लामो पक्की पुलको केही समय पहिलामात्रै मुख्य ढलान कार्य सम्पन्न भएको छ । देवीनगर–हात्तीसुँड बुद्धनगर जोड्ने पुल दुई वर्ष पाँच महिनामा सम्पन्न गर्ने योजनाअनुसार ठेक्का सम्झौता गरिएको थियो ।

सडक डिभिजन कार्यालय बुटवलकी इन्जिनियर सविता ज्ञवालीका अनुसार यही आर्थिक वर्षमा पक्की पुल निर्माण सम्पन्न हुनेछ । पुल निर्माणको कार्य करिब अन्तिम चरणमा पुगेको उनले बताइन् । १० करोड ४६ लाख ५६ हजार लागतमा निर्माण सम्पन्न हुने उक्त पुलको चौडाइ ७ मिटर छ । पक्की पुलसँग सडक निर्माण भए बुटवल, मोतीपुर, सेमलार, फर्साटिकरलगायत क्षेत्रका बासिन्दालाई पनि आवतजावतमा सजिलो हुनेछ ।

bridge-butwal-newskarobar

‘सडक निर्माण योजना छैन’
डिभिजन सडक कार्यालय बुटवलकी इन्जिनियर ज्ञवालीले सडक विस्तार गरी फराकिलो बनाउने वा अन्य कुनै पनि पुल बनाउने योजना अहिले मन्त्रालयसँग नभएको बनाइन् । ‘अहिले पुल निर्माणमात्रै योजनामा छ,’ उनले भनिन्, ‘अन्य विषयमा मन्त्रालयबाट कुनै पनि ठेक्का नभएको कारण यस विषयमा जानकारी छैन ।’

प्राविधिक हिसाबले दुई लेन पुलसम्म पुग्नका लागि सिंगल गाडी (एउटा साधन पनि मुस्किलले गुड्ने) बाटो उपयुक्त नभएको इन्जिनियर ज्ञवालीले बताइन् । उनी भन्छिन्, ‘दुई लेनको क्षमता भएको पुलमा पुग्न एउटा गाडी पनि मुस्किलले गुड्ने सडक प्राविधिक हिसाबले ठिक होइन तर अहिले यस विषयमा डिभिजनसँग कुनै पनि योजना छैन ।’

हाल सञ्चालनमा आएको तिनाउको मुख्य पुल सवारी साधनको चापका कारण जाम हुने समस्या बढिसकेको छ । यसको विकल्पमा देवीनगर–हात्तीसुँड जोड्ने पुल बाईपासको उत्तम विकल्पका रुपमा हेरिएको छ । तर, दुई लेनको पुल बनिरहँदा सडक विस्तारमा कुनै चासो नदिइनु अव्यवस्थित पूर्वाधार विकासको नमुनामा मात्रै होइन, योजनाविद्हरुको अकर्मण्यताको उदाहरण पनि हो ।

प्रकाशित समय : २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु