गृहपृष्ठ विदेशी कूटनीतिज्ञलाई नेपालको कूटनीतिबारे जानकारी
विदेशी कूटनीतिज्ञलाई नेपालको कूटनीतिबारे जानकारी
परराष्ट्र मन्त्रालयले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीति विषयमा सम्बन्धमा जानकारी दिएको छ । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य मुलुकलाई पार्ने प्रभाव र नेपालमा हुने लगानी सम्मेलनबारे जानकारी गराएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागिता थियो ।
‘गत वर्ष विदेशसँगको परराष्ट्र नीति र कूटनीतिक सम्बन्ध कस्तो भएको थियो, त्यसबारेमा मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो,’ डा. भट्टराईले भने, ‘यसभन्दा अगाडि परराष्ट्रमन्त्रीले कूटनीतिका सम्बन्धमा गराएको जानकारीका बारेमा समेत छलफल भयो ।’
उनका अनुसार नेपालको आन्तरिक नीति, तिनमा अन्तर्राष्ट्रिय समुदायको प्रभाव र आन्तरिक नीतिले बाह्य सम्बन्धमा पारेका असरबारेमा मन्त्री ज्ञवालीले जानकारी गराए । सो अवसरमा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले नेपालमा लगानी गर्नका लागि आवश्यक कानुनी विषयमा समेत चासो राखेका थिए । लगानी सम्मेलनबारे कूटनीतिक नियोगले राखेका प्रश्नको जवाफ अर्थमन्त्री डा. युवराज खतिवडाले दिएका थिए । सरकारले आगामी चैतमा लगानी सम्मेलन आयोजना गर्दैछ ।
गोरखा भूकम्पपछि वि.सं. २०७२ असारमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपालले दाता मुलुक र संस्थाहरु बोलाएर सम्मेलन गरेको थियो । विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिले गत वर्ष नेपालको कूटनीतिक क्षेत्रमा राम्रो प्रगतिसमेत भएको बताएको डा. भट्टराईले जानकारी दिए । (रासस)
प्रकाशित समय : २३:०८ बजे


















