गृहपृष्ठ नेपालले क्यानाडालाई आँप र कतारलाई स्याउ बेच्नेछ– प्रधानमन्त्री ओली
नेपालले क्यानाडालाई आँप र कतारलाई स्याउ बेच्नेछ– प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र व्यवसायीलाई पनि कृषिमा लगानी गर्न आग्रह गरेका छन् । सोमबार नेपाल उद्योग परिसंघको १६ औं वाािर्षक साधारणसभा उद्घाटन समारोहमा ओलीले भने, ‘मुलुक समृद्ध बनाउन कृषि क्षेत्रको विकास हुनैपर्छ, त्यसैले उद्योगी र व्यवसायीले पनि व्यवासायिक कृषिमा लगानी गर्नुपर्यो ।’ सरकारले तीव्र गतिको विकास चाहेको र त्यसमा उद्योगी र व्यवसायिको बलियो साथ आवश्यक हुने उनले बताए । उद्योग विकास र प्रवद्र्धनमा सरकारले गर्नुपर्ने काम गर्ने बाचा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर त्यसले रोजगारी सिर्जना गर्नुपर्यो, उत्पादकत्व बढाउनुपर्यो र आयात घटाउनुपर्यो ।’
कृषि पेशालाई व्यावसायिक बनाउने प्रयासमा सरकार रहेको उनले बताए । ‘उद्योगी र व्यवसायी पनि अब व्यावसायिक कृषिमा लाग्नुपर्छ, कृषिलाई व्यावसायकिरण गर्नुपर्छ । यसमा नोक्सान छँदैछैन, उद्योगमा भन्दा बढी नाफा कृषि व्यवसायमा छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले व्यवसायीलाई सहजीकरण गर्न सरकार तयार रहेको बताए । ‘उत्पादकत्व बढाउन कुन दफा, कुन व्यवस्था परिवर्तन गर्नुपर्छ तोकेर भन्नुस्, ब्लाक एन्ड ह्वाइटमा गोलमटोल कुरा नगर्नुस्,’ ओलीले भने ।
कृषिलाई व्यवसायिकरण गरी क्यानडालाई आँप र कतारलाई स्याउ खुवाउन सक्ने हुनुपर्ने उनको भनाइ छ । ‘पानी बेच्न सकिन्छ भनेर सुनियो मात्रै, पानी बगेको बग्यै छ, बेच्न सकिएन,’ ओलीले भने, अब बेच्न सक्ने गरी काम गर्ने हो ।’
१० भन्दा बढी अंकको आर्थिक वृद्धि सम्भव
प्रधानमन्त्री ओलीले नेपालले १० भन्दा बढी अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने दाबी गरे । ‘१० अंक सरकारको लक्ष्यको सबैभन्दा तल्लो छेउ हो,’ उनले भने, ‘योभन्दा बढी आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’
प्रकाशित समय : २०:४२ बजे



















