गृहपृष्ठ राशिफल : २०७६ साल तपाईंका लागि कस्तो रहनेछ ?
राशिफल : २०७६ साल तपाईंका लागि कस्तो रहनेछ ?
मेष राशि : २०७६ सालमा मेष राशिका लागि अढैया र शनिदशाको प्रभाव रहने छैन । वर्षको शुभारम्भ केही प्रतिकूल रहनेछ । राहु र केतुको नकारात्मक प्रभाव वर्षभरि नै रहनेछ । आर्थिक संकटले सताउनेछ । वर्षको पूर्वार्धमा केही सुखको अनुभूति हुनेछ भने उत्तरार्धमा दुःखद घटनाहरु घट्न सक्ने देखिन्छ । यो वर्ष ठूलो लगानीमा हात नहाल्नु राम्रो हुन्छ । वृहस्पति र बुधको शुभ दृष्टिले गर्दा वित्तीय संघसंस्थाबाट फाइदा हुने देखिन्छ । मानसम्मान मिल्ने तथा तीर्थ यात्राको योग छ । जग्गा जमिन तथा घर निर्माणको काममा लागिने वर्षको रुपमा पनि यो वर्ष उत्तम छ । खेलाडीका लागि यो वर्ष फलदायी रहनेछ । समग्रमा, यो वर्ष मेष राशि हुनेहरुका लागि लाभ–हानी बराबर हुने देखिन्छ ।
वृष राशि : मिश्रित फल मिल्ने वर्ष छ । पूर्वार्धको तुलनामा उत्तरार्ध बढी राम्रो देखिन्छ । यो वर्ष शनिदेव फागुन ४ गतेसम्म धनु राशिमा र त्यसपछि मकर राशिमा रहनाले वृष राशिलाई फागुन ४ गतेसम्म अढैया शनि दशा रहेको छ । जन्म कुण्डलीमा शनि प्रतिकूल हुनेहरुले विशेष सजगता अपनाउनुपर्नेछ । शनि प्रतिकूल रहेकाहरुले अध्ययनमा कडा मेहनत गर्नुपर्नेछ । फागुन ४ पछिको समय सन्तोषजनक रहनेछ । शनि अनुकूल हुनेहरुका लागि यो वर्ष अधुरा काम सम्पन्न हुनेछन् । स्वव्यवसायबाट लाभ हुनेछ । वर्षको शुभारम्भसँगै नयाँ ठाउँ भ्रमण गर्ने शुभ अवसर मिल्नेछ । शरीर स्वस्थ रहनेछ । वैवाहिक जीवन सफल रहने जस्ता शुभ योगको परेका छन् ।
मिथुन राशि : वि. सं. २०७६ साल मिथुन राशिलाई फागुन ४ गतेपछि अढैया शनि दशा सुरु हुनेछ । लाभ र हानि दुवै बराबर हुनेछ । पूर्वार्धको तुलनामा उत्तरार्ध बढी कष्टदायी रहने देखिन्छ । उत्तरार्धमा अढैया शनिका कारण मानसिक तनाव बढ्नेछ । शरीरमा आलस्य पैदा हुनेछ । पारिवारिक विवादमा परिनेछ तर शनि अनुकूल हुनेहरुका लागि भने शनिदेवले शुभ फल प्रदान गर्नेछन् । फागुन ४ अघि भने अचानक सफलता हात लाग्नेछ । अनुकूल वृहस्पतिका कारण अध्ययन पक्ष सफल रहनेछ । सञ्चार क्षेत्रबाट सम्मान मिल्नेछ । वित्तीय संघसंस्थासँगको आबद्धतामा निरन्तरता रहनेछ । राजनीतिमा अग्रस्थान मिल्नेछ । वैदेशिक याात्राको योग परेको छ । वर्षको पूर्वार्धमा निकै ठूलो सम्मान मिल्ने देखिन्छ ।
कर्कट राशि : यो वर्ष कर्कट राशिका लागि सामान्य नै देखिन्छ । साढेसाती र अढैया शनि दशाको कुनै प्रभाव रहने छैन । नयाँ वर्षसँगसँगै वैदेशिक भ्रमणको शुभ अवसर मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । वर्षको पूर्वार्धको तुलनामा उत्तरार्ध बढी लाभदायी रहनेछ । वर्षको मध्यभागतिर भएको ग्रहको परिवर्तनले शत्रुता बढाउनेछ । आफन्तमा बोली बाराबारको अवस्था आउनसक्छ । वृहस्पतिको प्रतिकूल दृष्टिका कारण मानसम्मानमा आँच आउने देखिन्छ । जलखेतीबाट नोक्सानीको सम्भावना छ । छालासम्बन्धी रोग लाग्न सक्छ । नकारात्मक परिस्थितिको अवस्था सिर्जना हुनेछ । पुसपछिको समयमा भने धनलाभको सम्भावना छ । व्यवसायबाट लाभ मिल्नेछ । समग्रमा, यो वर्ष नयाँ ठाउँमा नयाँ अनुभूतिसँगै बितेर जानेछ । पूर्वार्धको तुलनामा वर्षको उत्तरार्धमा सुखको महसुस हुनेछ ।
सिंह राशि : यो वर्ष सिंह राशिका लागि अढैया र शनिदशाको प्रभाव रहने छैन । वर्षको शुभारम्भ निकै झन्झटिलो रहनेछ । आर्थिक व्यय हुने सम्भावना पूर्वार्र्धमा रहे पनि उत्तरार्धमा वैदेशिक भ्रमण हुनेछ । यो वर्ष आफन्त वियोगको सम्भावना छ । निकै संघर्षका साथ उच्च पदमा पुग्न सफल भइनेछ । भ्रमणयुक्त वर्ष छ । अध्ययनतर्फ नसोचेको सफलता मिल्नेछ । तीर्थ यात्रामा सहभागी भइनेछ । श्रीमान–श्रीमती तथा प्रेमी–प्रेमिकाबीच सामान्य मनमुटाव बढ्नेछ । सन्तान सुख मिल्नेछ । आफ्नै बुद्धि र विवेकको प्रयोगले कार्य सम्पन्न हुनेछ । माघ र चैत महिना यो वर्ष घातक महिनाको रुपमा रहेका छन् । समग्रमा, वर्षको उत्तरार्ध पूर्वार्धको तुलनामा सन्तोषजनक रहनेछ ।
कन्या राशि : यो वर्ष कन्या राशिलाई अढैया शनि दशा रहेको छ । फागुन ४ गतेसम्म अढैया शनि दशाको प्रभाव रहनेछ । जन्म कुण्डलीमा शनि प्रतिकूल हुनेहरुले शनि देवको पूजा र स्मरण गर्नाले शुभ हुनेछ । शनि अनुकूल हुनेहरुका लागि भने वर्षको शुभारम्भ सँगसँगै शुभ फल मिल्नेछ । प्रेमी–प्रेमिकाबीच सुमधुर सम्बन्ध रहनेछ । नवविवाहित जोडीका लागि पनि यो वर्ष अनुकूल नै रहनेछ । विपरीतलिंगीबाट सहयोग र माया दुवै मिल्नेछ । यो वर्ष गुरु अनुकूल रहने भएकाले कन्या राशि हुनेहरुले विशेष लाभको अनुभव गर्नेछन् । चारित्रिक दोषमा परिनेछ । अस्वस्थताको अनुभव हुनेछ । कष्टदायी तीर्थयात्रा गर्नुपर्नेछ । दुर्घटनाको सम्भावना रहनेजस्ता अशुभ योग यो वर्ष रहे पनि पुस र भदौ महिना वर्षकै उत्कृष्ट महिनाको रुपमा रहनेछन् ।
तुला राशि : यो वर्ष फागुन ४ गतेपछि तुला राशिलाई अढैया शनिदशा रहेको छ । जन्म कुण्डलीमा शनि प्रतिकूल हुने व्यक्तिलाई यो वर्षको उत्तरार्र्ध खराब रहनेछ । वर्षको शुभारम्भ भने अनुकूल नै छ । अध्ययन–अध्यापन क्षेत्रमा रुचि बढ्नेछ । अविवाहितहरुका लागि वैवाहिक जीवनमा बाँधिन यो वर्ष उत्तम छ । व्यापार व्यवसाय गर्नेका लागि यो वर्ष शुभ छ । सुगन्धित वस्तुको व्यापार व्यवसाय यो वर्ष उत्तम देखिन्छ । नयाँ सवारी साधन जोड्ने योग परेको छ । स्थान परिवर्तनको सम्भावना पनि छ । तर, वर्षको उत्तरार्धतिर मानहानिको योग रहेकाले विशेष चनाखो हुनुहोला । सञ्चित धन नास हुने र मानसिक तनाव बढ्ने जस्ता समस्या वर्षको उत्तरार्धमा देखापर्नेछन् । विदेश भ्रमणको सम्भावना पनि छ । समग्रमा, वर्षको उत्तरार्धमा भन्दा पूर्वार्धमा सुख र शान्ति मिल्नेछ ।
वृश्चिक राशि : यो वर्ष वृश्चिक राशिलाई फागुनको ४ गतेसम्म अन्त्य साढेसातीको दशा छ । जन्म कुण्डलीमा शनि प्रतिकूल हुनेहरुका लागि वर्षको शुभारम्भसँगै केही अफ्ठ्यारो महसुस हुनेछ । यो समयमा आर्थिक दुर्घटनाको सम्भावना रहनेछ । आफन्तमा मन मुटाव बढ्नेछ । वैदेशिक कार्य असफल रहनेछ । ठूलै समस्यामा परिन सक्ने सम्भावना देखिन्छ । फागुन ४ पछिको समय भने निकै उत्साहवर्धक रहनेछ । वर्षभरि नै चिसोबाट जोगिनुपर्नेछ । नदी स्नानमा विशेष ख्याल गर्नुपर्नेछ । सेतो पेय पदार्थप्रति अरुची पैदा हुनेछ । अचानक रिस बढ्नाले आफन्तमा मनमुटाव बढ्न सक्छ । खेलकुदबाट नोक्सानी व्यहोर्नुपर्नेछ तर वर्षको उत्तरार्धमा भने आर्थिक लाभ, अध्ययनमा सफलता, सवारी साधनबाट लाभ जस्ता शुभ योग देखिन्छ ।
धनु राशि : यो वर्ष शनिदेव फागुन ४ गतेसम्म धनु राशिमा र त्यसपछि मकर राशिमा रहने भएकाले धनु राशिलाई वर्षभरि मध्य र अन्त्य साढेसाती दशा रहनेछ । सामान्यतः यो वर्ष शुभ देखिन्छ । शुभारम्भका दिनमा आनन्दको अनुभूति हुनेछ । स्वास्थ्य समस्याबाट मुक्ति पाइनेछ । व्यवसाय फस्टाएर जानेछ । कात्तिकपछिका दिन भने केही समस्यायुक्त रहनेछन् । जागिरमा सरुवाको अवस्था आउनेछ । परिवारमा कलह बढ्नेछ । मातृ वियोगको अवस्था आउन सक्छ । जन्म कुण्डलीमा शनि प्रतिकूल हुनेहरुले देवीपूजा, शनिमुद्रिका धारण, शनिस्तोत्र पाठ, पीपलमा जल चढाउने, रत्नको प्रयोग, मौनव्रतका साथै तीर्थस्थलको यात्रामा निस्किनु राम्रो हुनेछ । दैवज्ञ ज्योतिषीहरुको सल्लाहअनुसार कार्य गर्न शुभ हुनेछ । विश्वासका साथ शनिदेवको स्मरण गर्नाले अवश्य शुभ फल मिल्नेछ ।
मकर राशि : यो वर्ष शनिदेव फागुन ४ गतेपछि मकर राशिमा प्रवेश गर्ने भएकाले मकर राशि हुनेहरुका लागि वर्ष भरि आद्य र मध्य साढेसाती दशा रहनेछ । शुभारम्भसँगै लामो यात्रामा निस्किनुपर्नेछ । मनमा शंका–उपशंका उब्जिनेछन् । यो वर्ष तपाईंका लागि बसाइँसराइको अवस्था आउनेछ । नोकरी व्यवसाय अनुकूल नै रहनेछ । सञ्चारसँग सम्बन्धित क्षेत्र अनुकूल रहनेछ । आफन्त वियोग हुनसकछ । बृहस्पतिको प्रतिकूल प्रभावका कारण केही व्ययको सम्भावना छ । घरमा मांगलिक कार्य सम्पन्न हुनेछन् । तीर्थबासको अवसर मिल्नेछ । कार्य बोझ बढ्नेछ । समग्रमा लाभ–हानी बराबरी हुने वर्षको रुपमा मकर राशिलाई २०७६ रहनेछ । पूर्वार्धको तुलनामा उत्तरार्ध निकै लाभदायी रहनेछ । तर, जन्मकुण्डलीमा शनिको बसाइ प्रतिकूल भएमा केही दुःख पीडाको सम्भावना रहेकाले शनि देवको स्मरणले सबै दुःख पीडाको हरण हुनेछ ।
कुम्भ राशि : वर्ष २०७६ कुम्भ राशिका लागि फागुन ४ गतेपछि आद्य साढेसाती दशा सुरु हुनेछ । शनि प्रतिकूल हुनेहरुले पीपलमा जल चढाउँदा र शनिस्तोत्र पाठ गर्दा लाभ हुनेछ । अढैया या साढेसाती शनि दशा भए पनि आफ्नो जन्म लग्न कुण्डलीमा स्वगृही, मित्रगृही, उच्च राशि तथा ३, ६ र ११ स्थानमा शनि भएका व्यक्तिलाई शनिको नकारात्मक फल लाग्ने छैन । वर्षको पूर्वार्ध केही सजिलो महसुस हुनेछ । पारिवारिक समस्या समाधान हुनाले आनन्दको अनुभूति हुनेछ । स्थान परिवर्तनले सुख मिल्नेछ । परिवारको सदस्य संख्या बढ्ने योग छ । वर्षको अन्त्यतिर आर्थिक व्यय हुनेछ । कष्टदायी यात्रा पनि गर्नुपर्नेछ । समग्रमा, उत्तरार्र्धको तुलनामा पूर्वार्ध बढी अनुकूल रहनेछ ।
मीन राशि : यो वर्ष मीन राशिका लागि साढेसाती र अढैया शनि दशाको कुनै प्रभाव रहने छैन । अर्थिक दृष्टिबाट हेर्दा वर्षको शुभारम्भ लाभदायी रहनेछ । मित्रहरुको सहयोग यथावत् रहनेछ । पदोन्नतिको सम्भावना हुनुका साथै स्थान परिवर्तनको योग परेको छ । पारिवारिक विछोडको अनुभूति हुनेछ । संघर्षसँगै जीवनमा आनन्दको अनुभूति गर्न पाइनेछ । नयाँ–नयाँ साथीभाइसँगको उठबसले रमाइलो महसुस गराउनेछ । प्रशंसा र अभिनन्दनको वर्षा वर्षभरि नै हुनेछ । वर्षको शुभारम्भसँगै मनमा जिज्ञासा र आशंका उब्जिनेछन् । आर्थिक पक्ष कमजोर रहनेछ तर आफ्नै राशिको स्वामी गुरु अनुकूल हुनाले वैदशिक भ्रमणको योग वर्षको उत्तरार्धतिर देखिन्छ । समाजमा प्रतिष्ठित व्यक्तित्वको रुपमा स्थापित भइने योग छ ।
पुनश्च
वर्ष २०७६ शनिदेव फागुन ४ गतेसम्म धनु राशिमा र त्यसपछि मकर राशिमा प्रवेश गर्ने भएकाले धनु राशिलाई वर्षभरि मध्य र अन्त्य साढेसाती दशा तथा मकर राशिलाई आद्य र मध्य साढेसाती दशा रहनेछ । फागुन ४ गतेसम्म वृश्चिक राशिलाई अन्त्य साढेसाती दशा रहनेछ भने फागुन ४ गतेपछि कुम्भ राशिलाई आद्य साढेसाती दशा सुरु हुनेछ । वृष र कन्या राशिलाई फागुन ४ गतेसम्म अढैया शनिदशा रहनेछ भने मिथुन र तुला राशिलाई फागुन ४ गतेपछि अढैया शनिदशा सुरु हुनेछ । जन्म कुण्डलीमा शनि प्रतिकूल हुनेहरुले देवीपूजा, शनिमुद्रिका धारण, शनिस्तोत्र पाठ, पहेँलो फलफूल तथा हरियो सागसब्जीको सेवन, पीपलमा जल चढाउने, रत्नको प्रयोग, मौनव्रतको पालना गर्नुका साथै तीर्थस्थलको यात्रामा निस्किनु राम्रो हुनेछ । दैवज्ञ ज्योतिषीहरुको सल्लाहअनुसार कार्य गर्नु शुभ हुनेछ । विश्वासमै संसार चलेको हुनाले विश्वासका साथ शनिदेवको स्मरण गर्नाले मनोकांक्षा पूरा भई अवश्य शुभ फल मिल्नेछ ।
०००
लेखन तथा सम्पादन वरिष्ठ ज्योतिष भविष्यवक्ता ज्यो. अर्जुन नेपाल
प्रकाशित समय : २३:०५ बजे


















