गृहपृष्ठ रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास xr:d:DAFiBz15YzM:43,j:46831984904,t:23051006

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्ना विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरलाई मस्को र किएभ पठाउने घोषणा गरेका छन् ।

ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्नेछन् र युद्ध अन्त्य गर्ने प्रस्तावसमेत लिएर जानेछन् । उनिहरूले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र आइतबार किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने बताइएको छ ।

युक्रेनका एक वरिष्ठ अधिकारीका अनुसार विट्कफ र कुशनर आइतबार किएभ पुग्ने कार्यक्रम छ । तर, क्रेमलिनले उहाँहरूको भ्रमणबारे तत्काल कुनै टिप्पणी गरेका छैन न।

ट्रम्पले आफूले पठाएका दुवै वार्ताकारले यसअघि गाजा र इरानसम्बन्धी युद्धविराम वार्तामा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले शान्ति स्थापनाका लागि आफ्नो प्रशासनसँग स्पष्ट योजना रहेको दाबी गरे । यद्यपि, प्रस्तावमा युक्रेनले आफ्नो भूभागको केही हिस्सा रुसलाई छोड्नुपर्ने विषय समावेश छ कि छैन भन्नेबारे ट्रम्पले स्पष्ट पारेनन् ।

युद्धका क्रममा बढ्दो आक्रमण
अमेरिकी कूटनीतिक प्रयास भइरहेका बेला रुस र युक्रेनबीच लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भने तीव्र बनेका छन् । पछिल्ला आक्रमणका कारण सर्वसाधारणको मृत्यु र घाइते हुने क्रम पनि बढेको छ ।

ट्रम्पको घोषणा हुनुभन्दा केही घण्टाअघि रुसी ड्रोनले युक्रेनको राजधानी किएभस्थित सुरक्षा सेवाको मुख्यालयमा आक्रमण गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताए। उहाँका अनुसार आक्रमण सुरक्षा निकायका कार्यवाहक प्रमुखको कार्यालयलाई लक्षित गरिएको थियो । युद्ध सुरु भएयता सुरक्षा सेवा मुख्यालयमा भएको यो पहिलो आक्रमण भएको बताइएको छ ।

आक्रमणपछि जेलेन्स्कीले अमेरिकी दूतहरूको भ्रमण अवधिभर अस्थायी युद्धविरामको प्रस्ताव गर्नुभएको छ । उहाँले युक्रेनले उक्त अवधिमा हवाई आक्रमण नगर्ने र रुसले पनि पारस्परिक रूपमा हवाई आक्रमण रोक्नुपर्ने बताए ।

रुसले उक्त प्रस्तावबारे तत्काल प्रतिक्रिया जनाएको छैन ।
यसअघि जेलेन्स्कीले रुसले युद्ध जारी राखे युक्रेनी ड्रोनका कारण रुसी हवाई क्षेत्र सुरक्षित नरहने चेतावनी दिएको थिए।

शान्ति प्रयासमा नयाँ पहल
विट्कफ र कुशनरको भ्रमण ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि उनिहरूको युद्धग्रस्त किएभ भ्रमणको पहिलो अवसर हुनेछ । दुवै जना यसअघि रुससँगको कूटनीतिक प्रयासका क्रममा पटक–पटक मस्को पुगेका थिए ।

उहाँहरूको भ्रमण अमेरिकी गुप्तचर निकायका प्रमुख जोन ¥याट्क्लिफको हालैको मस्को भ्रमणपछि हुन लागेको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार ¥याट्क्लिफले रुसलाई उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रमाथि आक्रमण नगर्न चेतावनी दिएको थिए ।

यस्तै, यसै साता अमेरिकाले उत्तर क्यारोलिनामा भएको बीस राष्ट्र समूहको बैठकमा रुसी अर्थमन्त्रीको सहभागितालाई स्वागत गरेको थियो ।

ट्रम्प प्रशासनको पछिल्लो पहलले रुस–युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक बाटो पुनः खोल्ने प्रयासलाई तीव्र बनाएको छ । तर, युद्धविराम र सम्भावित शान्ति सम्झौताका मुख्य सर्तहरूमा मस्को र किएभबीच अझै गहिरो मतभेद कायम छन् ।रासस

 

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु