गृहपृष्ठ मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध पत्रकार महासंघको आन्दोलन घोषणा
मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध पत्रकार महासंघको आन्दोलन घोषणा
संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक ल्याउन लागिएको भन्दै महासंघले संसदअगाडि विरोध प्रदर्शनसम्मका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
सरोकारवाला पक्षसँग छलफल नगरी आउन लागेको विधेयकले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्ने महासंघको ठहर छ । मन्त्रिपरिषदबाट पारित भएर संसदमा दर्ता भएको सो विधेयकमा मिडिया काउन्सिललाई अर्धन्यायिक निकाय बनाउने र पत्रकारलाई कडा कारबाहीको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।
शुक्रबार अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको महासंघको आकस्मिक बैठकले उक्त विधेयक फिर्ता लिई सरोकारवाला पक्षसँगको छलफल र सहमतिमा संविधानको भावना र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मूल्यमान्यताका आधारमा विधेयक पुनः मस्यौदा गर्न माग गरेको छ ।
संघर्षका कार्यक्रम
वैशाख २९ गतेः महासंघका पूर्व पदाधिकारी, सञ्चारमाध्यमका सम्पादक, कानुनविद र विज्ञहरुसँग छलफल ।
वैशाख ३० गतेः संसदका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षलाई ज्ञापनपत्र बुझाइने ।
वैशाख ३१ गतेः संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल ।
जेठ १ गतेः कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने । महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहत छलफल कार्यक्रम आयोजना गर्ने ।
जेठ ३ गते : काठमाडौंमा संसदबाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चारसाधनसहित बृहत प्रदर्शन गर्ने ।
प्रकाशित समय : ००:५५ बजे




















