global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ निजी विद्यालय सरकारी विद्यालयमा समायोजन

निजी विद्यालय सरकारी विद्यालयमा समायोजन

निजी विद्यालय सरकारी विद्यालयमा समायोजन

गन्यापधुरा गाउँपालिकामा एक निजी विद्यालय सामुदायिक सरकारी विद्यालयमा समायोजन भएको छ । गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका हुन् ।

गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले जनाएको छ । सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु हुनका साथै गुणस्तरीय शिक्षाको विकास भएकाले निजी विद्यालयमा विद्यार्थी सङ्ख्या भर्ना कम हुँदा समायोजन गर्नुपरेको निजी विद्यालय सञ्चालकले जनाएका छन् ।

विद्यार्थीहरू सामुदायिक विद्यालयमा भर्ना हुन थालेपछि निजी विद्यालय बन्द हुने अवस्थामा पुगेर समायोजन हुन थालेका गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए । मर्निङवेल इङ्गलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठनपाठन हुनेगरी समायोजन गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

अन्य वडामा रहेका निजी विद्यालय र विद्यार्थी सङ्ख्या कम रहेका सामुदायिक विद्यालयलाई समेत समायोजनको प्रयास भइरहेको उनले बताए । जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयमा पनि विद्यार्थी सङ्ख्या कम हुँदा पनि समायोजन हुन नसक्दा गन्यापधुराले गरेको समायोजनको पहल कदरयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

गाउँपालिकाले समायोजना भएका विद्यालयलाई यही वैशाख ३० गते एक कार्यक्रमको आयोजना गरी स्वागत र सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत करुणाकर पन्तले बताए । समायोजन भएका विद्यालयमा बालविकास केन्द्र भने यथावत् रहने र आवश्यक परेकासमुदायमा वालबिकास केन्द्र थपिने गन्यापधुराका शिक्षा इकाइ प्रमुख प्रेमसिंह ऐरले जानकारी दिए ।

शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ । विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापनमा सुधार गरिने अध्यक्ष मल्लले बताए । रासस

प्रकाशित समय : २२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु