काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्थानीय जलविद्युत् कम्पनीको सहयोगमा बेँसीसहर–चामे सडक सञ्चालन

525
shares

मनाङ। मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।

हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी छ दिनमै सो सडक खुलाएको हो ।

दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो ।
सडकखण्डको केही ठाउँमा आधार संरचना पनि क्षतिग्रस्त भएको अवस्थमामा मर्मतसम्भारपछि बेँसीसहरदेखि चामेसम्मको प्रभावित यातायात सेवा सञ्चालन गर्न सकिएको बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले जानकारी दिए । उनका अनुसार विपद्पछि कम्पनीले तत्काल उपकरण र जनशक्ति परिचालन गरी क्षतिग्रस्त सडकखण्ड मर्मत तथा पुनःस्थापनाको काम थालेको हो ।

“अन्य जलविद्युत् आयोजना र स्थानीय सडकसम्बन्धी निकायसँग समन्वय गरी करिब ६० किलोमिटर बेँसीसहर–चामे सडक छ दिनमै सञ्चालनमा ल्याउन सफल भएका छौँ,” प्रधानले भने, “चामेनजिक रहेको एक खोलामा गेग्रानसहित आएको बाढीपहिरोले मुख्य नदीको बहाव अवरुद्ध गरी ताल बनाएको थियो । सरकारसँग सहकार्य गर्दै कम्पनीका तर्फबाट एक्स्काभेटरलगायतका उपकरण परिचालन गरी उद्धार तथा विपद् व्यवस्थापनमा आवश्यक डिजेल र अन्य सामग्री पनि उपलब्ध गराएर सडक सञ्चालनमा ल्याउन सकिएको हो ।”

सो सडकखण्डको मर्मतसम्भार तथा आपत्कालीन पुनःस्थापनाका लागि यसअघि पनि विभिन्न उपकरण र जनशक्ति परिचालन गर्दै आएको कम्पनीले जनाएको छ । उक्त सडक सञ्चालन भएसँगै मनाङका १३ गाउँका करिब पाँच हजार ६०० नागरिक लाभान्वित भएका छन् ।