एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, तीन सिजनका लागि सम्झौता
वि.सं.२०८३ कात्तिक २ सोमवार ०८:०४
shares

काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्लूभी) को आगामी तीन सिजनका लागि रेड बुल टाइटल स्पोन्सर बनेको छ। लिग आयोजकले बुधबार रेड बुलसँगको साझेदारीबारे औपचारिक घोषणा गरेको हो। सम्झौता आगामी सिजनदेखि लागू हुनेछ। विश्वप्रसिद्ध इनर्जी ड्रिंक ब्रान्ड रेड बुल र नेपालमा महिलाको प्रमुख खेलकुद प्रतियोगितामध्ये एक एभरेस्ट वुमन्स भलिबल लिगबीच भएको यो साझेदारीले नेपालमा महिला खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
साझेदारीअन्तर्गत लिगको प्रतिस्पर्धात्मक स्तर र व्यावसायिकता अभिवृद्धि गर्ने, खेलाडीको विकासमा सहयोग पुर्याउने तथा लिगको पहुँच र लोकप्रियता विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै, युवा तथा किशोरीलाई खेलकुदमा आकर्षित गर्दै महिला भलिबलका लागि दीर्घकालीन आधार तयार पार्ने उद्देश्य पनि लिइएको छ।
महिला भलिबलको विकासमा सहयोग गर्ने रेड बुलको प्रतिबद्धता
सरस बेभरेजेज (रेड बुल नेपाल) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले नेपालमा खेलकुदप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै एभरेस्ट वुमन्स भलिबल लिगसँग दीर्घकालीन साझेदारी गर्न पाउँदा गौरव लागेको बताए। “खेलकुद र ऊर्जा रेड बुलको मूल मन्त्र हो। नेपालमा खेलकुदप्रतिको हाम्रो प्रतिबद्धता निरन्तर छ र त्यस यात्रामा आज अर्को महत्त्वपूर्ण कदम चाल्दैछौँ,” सिलवालले भने, “नेपालको राष्ट्रिय खेल भलिबलको उत्थानमा सहभागी हुँदै एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सर बन्न पाउँदा हामी गौरवान्वित छौँ।”
उनका अनुसार यो एक सिजनको मात्र साझेदारी नभई आगामी तीन सिजनसम्मको दीर्घकालीन सहकार्य हो। यसले नेपाली खेलकुद र यहाँका प्रतिभाप्रतिको रेड बुलको विश्वासलाई देखाउने उनले बताए। “राष्ट्रिय खेलसँग जोडिनु हाम्रा लागि स्वाभाविक छ। खेलकुदसँगको यो निरन्तर सहकार्य रेड बुलको ब्रान्ड पहिचानसँग पूर्ण रूपमा मेल खान्छ। महिला खेलाडीलाई राष्ट्रिय मञ्च, अवसर र पहिचान दिने यस लिगप्रति हामी विशेष उत्साहित छौँ,” उनले भने।
सिलवालले लिगले देशभरका प्रतिभाशाली महिला खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर दिने विश्वास व्यक्त गरे। उनले प्रतियोगिता आयोजना गर्ने इन्फिनिटी ड्रिम्स प्राइभेट लिमिटेडलाई बधाई दिँदै आगामी सिजनको सफलताको शुभकामना पनि दिए।
लिगलाई थप व्यावसायिक बनाउने लक्ष्य
एभरेस्ट वुमन्स भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले आगामी तीन सिजनका लागि रेड बुललाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा गौरव लागेको बताइन्। उनका अनुसार यो सहकार्य लिगको विकास र नेपालमा महिला खेलकुदको प्रवर्द्धनका लागि महत्त्वपूर्ण कदम हो।
“रेड बुलको अन्तर्राष्ट्रिय पहिचान र खेलकुद क्षेत्रमा रहेको अनुभवले लिगको स्तर उकास्न, खेलाडीका लागि थप अवसर सिर्जना गर्न र देशभरका किशोरीलाई खेलकुदमा अघि बढ्न प्रेरित गर्न सहयोग पुग्ने विश्वास छ,” चापागाईंले भनिन्। उनले साझेदारीले नेपाली महिला भलिबलको दीर्घकालीन विकासका लागि आवश्यक स्थायित्व र सहयोग प्रदान गर्ने अपेक्षा व्यक्त गरिन्। खेलाडीलाई थप अवसर उपलब्ध गराउँदै लिगलाई अझ व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य रहेको उनको भनाइ छ।
रेड बुलसँगको सहकार्यपछि लिगमा खेल अनुभव सुधार गर्ने, खेलाडीलाई उपलब्ध गराइने सहयोग विस्तार गर्ने तथा सञ्चारमाध्यम र दर्शकसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य आयोजकले लिएको छ। यस साझेदारीले नेपालमा महिला भलिबलको लोकप्रियता बढाउन, महिला खेलाडीको क्षमता र प्रतिभालाई थप पहिचान दिलाउन तथा महिला खेलकुदको व्यावसायिक विकासका लागि नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
























