स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
वि.सं.२०८३ कात्तिक १ आइतवार १९:२८
shares

अष्ट्रेलियाका अनुसन्धानकर्ताले डिएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्नसक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न र रोकथामका उपायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस)ले हालै जारी गरेको विज्ञप्तिअनुसार, अध्ययनमा इस्केमिक स्ट्रोकसँग सम्बन्धित १८ आनुवंशिक भिन्नता पहिचान गरिएको छ । मस्तिष्कमा रगत प्रवाह अवरुद्ध हुँदा हुने इस्केमिक स्ट्रोक सबैभन्दा सामान्य प्रकारको स्ट्रोक हो ।
अध्ययनमा उच्च आनुवंशिक जोखिम समूहमा रहेका व्यक्तिमा कम जोखिम समूहका व्यक्तिको तुलनामा स्ट्रोक हुने सम्भावना २२ प्रतिशत बढी देखिएको थियो ।
अनुसन्धान टोलीले हजारौँ आनुवंशिक भिन्नताबीचको सम्बन्ध विश्लेषण गर्न ‘ट्रान्सफर्मर’ नामक एआई प्रविधिको प्रयोग गरेको थियो । मोडेललाई बेलायतको युके बायोबैंक र अमेरिकाको एक ठूलो डाटाबेसबाट प्राप्त आनुवंशिक तथा स्वास्थ्यसम्बन्धी तथ्याङ्कका आधारमा परीक्षण गरिएको थियो ।
अनुसन्धानकर्ताका अनुसार, उक्त मोडेलले स्ट्रोक भएका र नभएका व्यक्तिलाई छुट्याउन यसअघि प्रयोग गरिएका आनुवंशिक जोखिम मूल्याङ्कन उपकरणभन्दा राम्रो नतिजा दिएको छ ।
अध्ययनले मस्तिष्कको बाहिरी तह अर्थात् सेरेब्रल कोर्टेक्सको तन्तुमा सक्रिय रहने इडिइएम–२ जीनलाई पनि स्ट्रोकको संवेदनशीलतामा महत्वपूर्ण योगदान दिनसक्ने जीनका रूपमा पहिचान गरेको छ । यसले स्ट्रोकको आनुवंशिक आधार बुझ्न थप अनुसन्धानका लागि नयाँ सम्भावना खोलेको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धान टोलीले अब आनुवंशिक मूल्याङ्कनलाई स्वास्थ्य तथा जीवनशैलीसम्बन्धी सर्वेक्षण, स्क्यान र मेडिकल इमेजिङलगायतका तथ्याङ्कसँग संयोजन गर्ने बहुआयामिक एआई उपकरण विकास गरिरहेको छ । यस्तो उपकरणले स्ट्रोकसहित अन्य रोगको जोखिम मूल्याङ्कनलाई थप सटिक र व्यक्तिगत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि, आनुवंशिक जोखिम मूल्याङ्कनले मात्रै कुनै व्यक्तिलाई स्ट्रोक हुन्छ वा हुँदैन भन्ने निश्चित गर्दैन । यसको प्रभावकारिता र व्यावहारिक उपयोगिता पुष्टि गर्न थप अनुसन्धान आवश्यक हुनेछ ।
























