धर्मलाई विवाद होइन समाधानको माध्यम बनाउँ
वि.सं.२०८३ कात्तिक १ आइतवार १३:०१
shares

धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि वस्तुको प्रवृत्तिगत विशेषता धर्म हो ।
मानवले मानवीय व्यवहार देखाउनु, सूर्यले ताप दिनु, चन्द्रमाले शितलता प्रदान गर्नु, श्रीखण्डले सुगन्ध दिनु, सर्पले बीष ओकल्नु आदि सबैको धर्म हो । जे धारणा गरिन्छ र जुन धारणा गर्न योग्य छ त्यो नै धर्म हो र हामीले त्यसै अनुरुप बुझ्नुपर्छ ।
मानव जीवनका लागि त धर्म एकदमै महत्वपूर्ण विषय हो किनकी यसले मानिसलाई अनुशासित र मर्यादित बन्न सहयोग गर्छ । यसलाई यसरी पनि भन्न सकिन्छ कि यो व्यवहार, परम्परा, चालचलन र सुसंस्कार पनि हो जसले समाजलाई अनुशासित र एकताबद्ध गराएको हुन्छ ।
जुनसुकै धर्मले सिकाउने भनेको नैतिकता, सदाचार र अनुशासन नै हो । यसले व्यक्तिलाई अनुशासनमा रहन र असल आचरणतर्फ अग्रसर गराउँछ । जोसुकैले मान्ने जुनसुकै धर्म होस त्यो ठूलो सानो हुँदैन, मान्नेको संख्या कम बेसी होला तर सबैको उद्देश्य ईश्वर प्राप्ति, आनन्द र शान्ति नै हो । प्राचीन समाज धर्म निर्देशित थियो ।
आजको आधुनिक युगमा पनि राजनीति, समाज र कानूनमा धर्मको अत्यधिक प्रभाव परेको पाइन्छ । नेपालको संविधानको धारा ४ को उपधारा (१) को स्पष्टीकरणमा धर्मका सम्बन्धमा व्यवस्था गरिएको छ । यस धाराको प्रयोजनको लागि धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ । भनेर देशको मूल कानूनले पनि धर्मका सम्बन्धमा स्पष्ट व्यवस्था गरिदिएको छ । संविधानको यस व्यवस्था हेर्दा देशको कुनैपनि नागरिकलाई आफ्नो धर्म, संस्कार, रीति रिवाज, परम्परा र चालचलन मान्न या नमान्नमा कुनै रोकतोक गरेको छैन । तर केहि समय यता शदियौंदेखि सबै जात धर्म, सम्प्रदायका मानिसहरु मिलेर बसेको हाम्रो समाजमा जातजाती र धर्मका नाममा विभाजन ल्याउने, एकापसमा फुट र विखण्डन ल्याउने प्रयास भएको देखिन्छ । आफूलाई विद्वान ठान्ने सर्वज्ञ ज्ञाता मान्ने पाखण्डीहरुले समाज भाँड्ने विषाक्त विचारहरु सामाजिक सञ्जालमा छताछुल्ल पार्ने गरेका छन, जुन देश र समाज विरुद्धको अपराध हो ।
जात र धर्मका नाममा समाजमा घृणा र उत्तेजना फैलाउने, अन्य जात र धर्मका अनुयायीहरुलाई निम्नस्तरको गाली गलौज गर्ने कार्यलाई सभ्य समाजको परिचायक मान्न सकिँदैन । सन्दर्भ धर्म, संस्कृति र परम्परा जोडिएको नेपालीहरुको महान पर्व बडादशैंको । दशैंका बारेमा यसका पक्ष र विपक्षमा गरिएको घटिया बाद विवादले सामाजिक सञ्जाल रंगीएको छ जुन जरुरी थिएन र छैन पनि । कसैले पनि हामी दशैं पर्व मान्दैनौं भनेर छाडा छाडिएको साँढेजस्तो डुक्रिएर हिँड्नु पनि जरुरी छैन । जोसुकैले पनि इच्छा लाग्छ मान लाग्दैन नमान, कसैलाई जबरजस्ती लादिएको महसुश हुन्छ र दशैं मान्दा आत्मसम्मान हराएझैं लाग्छ भने मान्न छाडिदेउ तर यसका नाममा विखण्डनबादी हल्ला र समाज भाँड्ने राजनीति कसैले पनि नगरेकै राम्रो । वेलगाम घोडा जस्तै छाडा भइसकेको सामाजिक सञ्जालको अनुगमन र नियमन अनि दोषीलाई दण्ड सजाय जरुरी भइसकेको छ ।
वर्तमान परिवेश हेर्दा हाम्रो समाज जातजाति र धर्मकै कारण दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । अझ भनौं विघटनतर्फ उन्मुख भएको आभाष हुन्छ । धर्म र परम्परालाई विवादको विषय बनाउन खोजिँदै छ, द्वन्द्व निम्त्याउन खोजिँदैछ । यदि द्वन्द्व भयो भने त्यसको परिणाम अन्ततः हुने खरानी नै हो । हार्ने हामी अनि जित हात पार्ने मदारी, सम्बन्धित सबैले बेलैमा सोच्नु बुद्धिमानी हुनेछ । त्यसैले सम्प्रदाय, धर्म परम्परा र पर्वहरुलाई विवाद र घृणाको विषय होइन, सामाजिक सद्भावको विषय बनाऔं, समाज भाँड्ने होइन, जोड्ने विषय बनाऔं । सबैले एक अर्काको अस्तित्व स्वीकारेर अघि बढौं त्यसैमा हामी सबै नेपाली जातीको कल्याण छ ।
धर्मलाई कुनै एउटा सम्प्रदाय वा ईश्वरको रूपमा मात्र नहेरी ‘जीवन पद्धति’ र कर्तव्यको रूपमा लिएर अघि बढ्नसके सुनमा सुगन्ध हुनेमा शंका छैन । तराइमा प्रचलित छठ पर्वको उदाहरण लिउँ, कसैले यो हाम्रो पर्व होइन पनि भनेको छैन, कसैले कसैलाई मान भनेर जबरजस्ती पनि गरेको छैन, काठमाण्डौं उपत्यका लगायत अन्य समुदायले पनि मानेकै छन, यसले समाज जोडेको छ । भने दशैंको बारेमा मात्र किन विवाद ? नागरिकहरु सचेत र जागरुक हुनु जरुरी छ ।
आधुनिक भौतिकवादी युगमा मानिसलाई मानिससँग जोड्ने, मानसिक तनावबाट मुक्त गराउने र स्वयंको अस्तित्वको खोजी गराउने माध्यम धर्म र अध्यात्म हो । धर्म बिनाको आधुनिकताले समाजमा स्वार्थ र अशान्ति मात्र ल्याउने हो त्यसैले यसलाई सामाजिक सद्भावनाको जग मान्दा अत्युक्ति हुँदैन । आधुनिक कानुन र मानव अधिकारका मौलिक सिद्धान्तहरू (जस्तैः न्याय, समानता, र भाइचारा) को जग धार्मिक र नैतिक मूल्यहरूबाटै विकसित भएका हुन् ।
संवैधानिक रूपमा नेपालमा धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको अभ्यास छ, जहाँ हरेक नागरिकलाई आफ्नो आस्था पालना गर्ने र अरूको आस्थाप्रति सम्मान जाहेर गर्ने अवस्था छ भने कसैले कसैको खेदो खन्ने किन ? धर्मको मूल मर्म ‘लोका समस्ता सुखिनो भवन्तु’ हो अर्थात लोक कल्याण, सुख र शान्ति नै हो तापनि आधुनिक परिवेशमा केही विकृति र चुनौतीहरू पनि देखिएका छन । धर्मको गलत व्याख्या गरी आफ्नो निहित स्वार्थ पुरा गर्ने, राजनीतिक वा साम्प्रदायिक लाभका लागि धर्मलाई प्रयोग गर्ने जस्ता कार्यले समाजमा विद्वेष र अशान्ति देखा परेको छ । धर्मको मूल दर्शन र आध्यात्मिक मर्मलाई छाडेर आडम्बर, भ्रामक प्रचार र अन्धविश्वासलाई बढावा दिने होडबाजी बढेको छ । हाम्रो जस्तो बहुधार्मिक र बहुसांस्कृतिक समाजमा परम्परागत मौलिक आस्था, संस्कृति र पहिचानको संरक्षण गर्दै आपसी सहिष्णुता कायम राख्नु आजको प्रमुख दायित्व हो ।
साँच्चै भन्दा धर्म कुनै बन्धन वा कडा रूढिवाद होइन; यो समाजलाई सही दिशानिर्देश गर्ने प्रकाश पुञ्ज हो । वर्तमान परिवेशमा धर्मलाई विवेक, तर्क र करुणासँग जोडेर ‘परोपकार पुण्याय, पापाय परपीडनम’ को भावनाअनुसार अघि बढ्नु नै वास्तविक धर्म पालन हो । आधुनिक लोकतान्त्रिक संविधानले धर्मलाई व्यक्तिगत आस्थाको विषय मान्दै ‘धार्मिक स्वतन्त्रताको हक’ (नेपालको संविधानको धारा ३२) लाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । त्यसैले भनिएको छ । ‘धर्मो रक्षतिः रक्षितः’ अर्थात हामीले धर्मको रक्षा गर्यौं भने हामीलाई पनि धर्मले रक्षा गर्नेछ ।
अन्त्यमा कानुनले बाह्य अपराधलाई रोक्छ भने अध्यात्म र धर्मले मानिसको भित्री चेतना सुधारेर आपराधिक मनोवृत्तितर्फ अग्रसर नै हुन नदिने वातावरण सिर्जना गर्छ । त्यसैले धर्म जातजाति पर्व र संस्कारका बारेमा विवाद नगरौं, मित्र दृष्टिले समाजलाई हेरौं र देशको सुन्दर भविश्य निर्माण तर्फ अघि बढौं, सबैलाई चेतना होस् ।
























