दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक
वि.सं.२०८३ कात्तिक १ आइतवार ११:४२
shares

दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ। दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो। दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक रूपमा गाउँमा सख्या पैयाँ नाच्ने परम्परा रहेको छ।
घोराही उपमहानगरपालिका–१७ ओखरामा गत असोज १२ गतेदेखि नै यो नाच सुरु भएको सोही ठाउँका स्थानीय रामप्रसाद चौधरी बताउँछन्। अन्य थारू बस्तीमा पनि कतिले सुरु गरिसकेका छन् भने कतिले सुरु गर्ने तयारी गरिरहेको उनको भनाइ छ। सख्या नाच थारू समुदायमा मात्र नाचिने मौलिक र सबैभन्दा लामो अवधिसम्म नाचिने नाच हो। सख्या नाच प्रायः हरेक वर्षको दसैँको अगाडि कृष्णाअष्टमी अटवारी पर्वपछि सुरु भई तिहारसम्म नाचिने संस्कृति रहेको उनी बताउँछन्।
स्थानीय लक्षिमा चौधरी पछिल्लो समय नाच सुरु हुने र अन्त्य हुने समय ठाउँअनुसार भने फरक फरक हुने गरेको बताए। यो नाच महिलाहरू दुई समूहमा विभाजन भएर नाचिन्छ भने मादलेमा पुरुषहरू हुन्छन्। नाच हरेक साँझ ०६ः००–०७ः०० बजेदेखि राति १०ः००–११ः०० बजेसम्म बरघर अर्थात् गाउँका महतवाको आँगनमा नाच्ने चलन रहेको उनको भनाइ रहेको छ।
थारू अगुवा बुद्धि चौधरीका अनुसार सख्या पैयाँ नाच सुरु हुनभन्दा अगाडि अगुवा मादले र पछुवा मादलेले विशेष किसिमको देवीदेवतालाई सम्झेर भिन्न तालमा मादल बजाउनुपर्छ। जसलाई ‘झ्वाङ मर्ना’ या ‘ट्रासन मर्ना’ भनिन्छ। त्यसपछि नाच सुरु हुन्छ। नाचमा उपस्थित युवायुवती, महिला सबैले मादलको तालमा पैयाँ नाच नाच्छन। फरक फरक ढङ्गले नचाउन सकिने पैयाँ नाच दर्जनौँ किसिमका हुन्छन्। मादलको तालमा सामूहिक रूपमा मुजुरा बजाउँदै आङ्गिक अभिनय, खुट्टाको ताल मात्र मिलाएर नचनीहरू नाच्दछन्।
यस्तो पैयाँ नाच बीचबीचमा नाचिन्छ भने मूल गीतमा भने दुई समूहमा बाँडेर मादलको तालमा दुबै टोलीका नचनीहरू पालैपालो गीत गाउँदै नाच्ने गरिने उनको भनाइ रहेको छ। तर पछिल्लो समय यस्ता परम्परागत विधि पूरा गर्न भने छाड्दै गएको थारू अगुवा चौधरी बताउँछन्। थारू समुदायको मौलिकतासँग जोडिएको यस्तो नाच नाच्न भने नयाँ पुस्ता अग्रसर नहुने गरेको देखिएको छ। यसका कारण पुस्तान्त्रण हुन आवश्यक रहेको उनको भनाइ रहेको छ।
























