काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अनुशासनहीनता तर्फ उन्मुख हाम्रो समाज

1.93K
shares

ai logo सारांश

  • सामाजिक, नैतिक, धार्मिक आदि नियमको मर्यादा वा सो मर्यादा भित्र रहने कार्य अनुशासन हो ।
  • विपरीत हाम्रो समाज अनुशासनहीन, छाडा र अराजकतातर्फ उन्मुख हुँदै गइरहेको देखिन्छ
  • किशोर किशोरीहरु यौन र लागू पदार्थको दुव्र्यसनमा फसेको अवस्था छ ।

सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक नियमको पालना गर्नु, देश काल परिस्थिति बुझेर सामाजिक मर्यादामा रहनु नै अनुशासन हो । त्यसैले अनुशासन व्यक्तिको अमूल्य आभूषण हो भन्दा फरक पर्दैन ।

प्रज्ञा नेपाली शब्दकोष अनुसार, सामाजिक, नैतिक, धार्मिक आदि नियमको मर्यादा वा सो मर्यादा भित्र रहने कार्य अनुशासन हो ।

यसको विपरीत हाम्रो समाज अनुशासनहीन, छाडा र अराजकतातर्फ उन्मुख हुँदै गइरहेको देखिन्छ । मुख्यगरी अनुशासन सिक्ने ठाउँ भनेको घर परिवार, स्कूल र कलेजहरु नै हुन । तर विडम्बना ती ठाउँहरु नै आज अनुशासनहीनताको चपेटामा परेका छन । आफूभन्दा ठूला मान्छेहरु बाबुआमा गुरु बर्गहरुलाई मान्नुपर्छ, सम्मान गर्नुपर्छ, झूठो बोल्नु हुँदैन, चोरी गर्नु हुँदैन भन्ने मान्यताहरु कमजोर हुँदै गएको छ । यो सभ्य समाजको परिचायक होइन तर हाम्रो वर्तमान ठीक त्यसको उल्टो छ । आज बाबुआमा आफ्नै सन्तानबाट दुव्र्यवहारमा परेका छन, शिक्षकहरु विद्यालय प्राङ्गणमै कुटिएका छन, जो रक्षक उही भक्षक भनेझैं स्कूल परिसरमै छात्राहरु यौन दुव्र्यवहार र हिंसामा परेका छन । किशोर किशोरीहरु यौन र लागू पदार्थको दुव्र्यसनमा फसेको अवस्था छ ।

एउटा धर्म, सम्प्रदाय र जातीले अर्को धर्म सम्प्रदाय र जातीप्रति गरेको घटिया र घृणित कटाक्ष देख्दा लाग्छ समाज द्रुत गतिमा छाडाबादतर्फ उन्मुख भइसकेको छ । धार्मिक सामाजिक र सांस्कृतिक कृत्यहरुमा पनि अनावश्यक कचिङ्गलले सामाजिक सञ्जाल रंङ्गीएको अवस्था छ । मैंले अनुसरण गरेको धर्म राम्रो, तेरो धर्म नराम्रो, मेरो ईश्वर ठीक तेरो ईश्वर खराव, भन्दा भन्दा अब त देवताको मूर्तिमा पनि तेरो मेरो र तँछाड मछाड चलेको छ । यी सबै कर्महरु असंयमता, अनुशासनहीनता र विवेकहीनताको पराकाष्ठा हो । यस्तै अराजक, छाडा र अनुशासनहीन गतिविधिहरु बेलैमा नियन्त्रण नगर्ने हो भने परिस्थिति झनै गम्भीर र भयावह बन्ने निश्चित छ ।

समाज अनुशासनहीन बन्दै जानुका कारणहरूमा: घर–परिवार र विद्यालयहरूमा संस्कार, नैतिकता र अनुशासनसम्बन्धी व्यावहारिक शिक्षाको अभाव, प्रविधि र सामाजिक सञ्जालको अनियन्त्रित रुपमा बढेको दुरुपयोग । पारिवारिक र सामाजिक मूल्य–मान्यताको ह्रास: आफ्ना सन्तान र विद्यार्थीहरु प्रति अभिभावक र शिक्षकले दिने समय र हेरचाहमा कमी । राजनीतिक अस्थितरता र दण्डहीनताः कानूनी शासनको अभाव, कानूनको फितलो कार्यान्वयन, राजनीतिक संरक्षणका कारण गलत काम गर्नेले सजाय व्योहर्नु नपर्ने अवस्था । उपभोक्तावादी संस्कृति र भौतिकवादः छिटो धनी बन्ने, अरुले घोडा चढ्यो भनेर धुरी चढ्ने र देखासिकी गर्ने प्रवृत्ति साथै सत्कर्म र कुकर्मका बीचको भिन्नता छुट्याउन नसक्नु आदि कारणहरुले समाज अनुशासनहीन बन्दै गइरहेको छ । मातृ देवो भव : पितृ देवो भव: गुरुदेवो भवः भन्ने उपनिषदले सिकाएको आदर्श, मान्यताहरु आज हराउँदै गएका अवस्था छ ।

समाधान के त ?

समाजलाई अनुशासित र सभ्य बनाउन राजनीतिक सामाजिक र पारिवारिक सबै पक्षको सत्प्रयासको आवश्यक छ । घर र विद्यालयबाट सुरुवात– बालबालिकालाई सानैदेखि अनुशासन, आदर र नैतिक मूल्य–मान्यता सिकाउने । पाठ्यक्रममा पनि नैतिक शिक्षालाई अनिवार्य गराउनु जरुरी भैसकेको छ । सबल कानुनी व्यवस्था र दण्डहीनताको अन्त्य– कानुनको नजरमा सबै समान हुनुपर्छ । अपराध गर्ने जोसुकै होस दोषीलाई बिनाभेदभाव कडा कारबाही गरिनुपर्छ । सामाजिक सञ्जालको मर्यादित प्रयोग–सामाजिक सञ्जाल र इन्टरनेटको सही तथा मर्यादित प्रयोगबारे सचेतना फैलाउने, दुरुपयोग हुनै नदिने । राजनीतिज्ञ, शिक्षक, अभिभावक र समाजका अगुवाहरूले स्वयं अनुशासित भएर उदाहरण प्रस्तुत गर्ने हो भने अनुशासनहीन कार्यहरु धेरै हदसम्म रोकिन सक्छ ।

अनुशासन सिकाउने भनेकै विद्यार्थी जीवनमा नै हो । यस अवस्थामा सिकाइने अनुशासनले मानिसको भविष्य निर्धारण गर्छ । सानै उमेरदेखि अनुशासित बन्नाले संयम, नम्रता र दायित्वबोधजस्ता सकारात्मक गुणहरूको विकास हुन्छ । त्यसैले विद्यार्थीका लागि कडा अनुशासन आवस्यक पर्छ । चाणक्यका अनुसार अध्ययन गर्ने उमेरमा सुख–सुविधा र आलस्य खोज्नु पनि अनुशासनहीनता हो ।

कामं क्रोधं तथा लोभं स्वादु शृङ्गारकौतुके । अतिनिद्रामतिसेवा च विद्यार्थी ह्यष्ट वर्जयेत् ।।

चाणक्य नीति – अध्याय ५, श्लोक ६ मा भनिएको छ ः काम (वासना), क्रोध, लोभ, जिब्रोको स्वाद (अनावश्यक खानपान), भड्किलो शृङ्गार, मनोरञ्जन÷उत्सुकता, धेरै निद्रा र अरूको धेरै सेवा गर्नु , यी आठ कुराहरू विद्यार्थीले पूर्ण रूपमा त्याग गर्नुपर्छ । आचार्य चाणक्यका अनुसार अनुशासनहीनता र अकर्मण्यता नै मानिसको पतनका प्रमुख कारण हुन् ।

आचारः परमो धर्मः आचारः परमं तपः । आचारः परमं ज्ञानम् आचारात्किं न साध्यते ।। ( महाभारत )

सदाचार (अनुशासित आचरण) नै परम धर्म हो, आचार नै परम तपस्या हो र आचार नै श्रेष्ठ ज्ञान हो । अनुशासित र सदाचारी आचरणबाट के कुरा प्राप्त गर्न सकिँदैन र ? (अर्थात् सबै कुरा सम्भव छ) । भनेर महभारतमा भनिएको छ ।

१. अनुशासनको महत्व:

अनुशासन सिक्ने थलो भनेको पहिलो घर र दोस्रो स्कूल नै हो । विद्यार्थी जीवनलाई सम्पूर्ण जीवनको आधारशिला मानिन्छ । यस अवस्थामा अपनाइने अनुशासनले मानिसको भविष्यको दिशा निर्देष गर्दछ ।

विद्यार्थी अवस्थामा अपनाइने अनुशासनले मानिसको भविष्य को दिशा तय गर्दछ । चरित्र निर्माण–सानै उमेरदेखि अनुशासित बन्नाले संयम, नम्रता र दायित्वबोधजस्ता सकारात्मक गुणहरूको विकास हुन्छ । आदर्श नागरिकको आधार–अनुशासित विद्यार्थी नै भोलि गएर देशको जिम्मेवार र नियम–कानुन मान्ने सभ्य नागरिक बन्दछ । चरित्र निर्माण–सानै उमेरदेखि अनुशासित बन्नाले संयम, नम्रता र दायित्वबोधजस्ता सकारात्मक गुणहरूको विकास हुन्छ । आदर्श नागरिकको आधार– अनुशासित विद्यार्थी नै भोलि गएर देशको जिम्मेवार र नियम–कानुन मान्ने सभ्य नागरिक बन्दछ ।

अन्त्यमा, अनुशासन व्यक्तिको मात्र होइन, परिवार, समाज र राष्टको विकासका लागि पनि त्यत्तिकै आवस्यक छ । सफल जीवनका लागि अनुशाससन सबैभन्दा महत्वपूर्ण मानवीय गुण हो । यसले जिम्मेवारी धैर्यता र आत्म नियन्त्रण पनि सिकाउँछ । अनुशासन विना सुख शान्ति र समृद्धिको परिकल्पना व्यर्थ हुन्छ । त्यसैले हामी सबैले अनुशासनलाई जीवनको अभिन्न अंग बनाएर व्यक्तिगत सामाजिक र राष्टिय विकासमा योगदान दिन सक्नु पर्छ । प्रत्येक नागरिकको कर्तव्य हो, समाजलाई छाडा र अराजक बन्न बाट रोक्ने । सरोकारवालालाई चेतना होस ।