चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
वि.सं.२०८३ असोज ३० शुक्रवार १०:२७
shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् ।
पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ । यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ । यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो । अनलाइन सेवाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।
बिहीबार चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले इ–टिकटिङ प्रणालीको उद्घाटन गरेका हुन । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनले इ-टिकटिङ सुरु गर्न प्रशासनले लामो समयदेखि प्रयास गर्दै आएको बताए । शिवपुरी राष्ट्रिय निकुञ्जमा इ–टिकटिङ सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता थप महसुस गरिएको उनको भनाइ छ ।
उनले भने, “चितवन राष्ट्रिय निकुञ्जको ७० देखि ७५ प्रतिशत राजस्व सौराहा क्षेत्रबाट सङ्कलन हुने र त्यही अनुपातमा पर्यटक पनि यस क्षेत्रबाट निकुञ्जभित्र प्रवेश गर्ने भएकाले यहाँ इ-टिकटिङ अति आवश्यक देखिएको हो ।” उनले नयाँ प्रणालीबाट पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्ने बताए । प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने उनले जानकारी दिए ।
सांसद ढकालले पर्यटन व्यवसायी र आफ्नो निरन्तरको पहलपछि सौराहामा इ-टिकटिङ प्रणाली सुरु गर्न सम्भव भएको बताए । दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उनले उल्लेख गरे ।
गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ३१ हजार ३२९ थियो । गत आवमा निकुञ्जले पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व सङ्कलन गरेको जनाएको छ ।
























