स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत
वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०४
shares

रसुवा। बाढीले क्षति पुर्याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका(४ लाङटाङका स्थानीय बासिन्दाहरूको सक्रियतामा पदमार्गको पहिरोभन्दा माथि र रिमिचेभन्दा तल पहिरो गएका स्थानहरूमा श्रमदान गरी मार्ग सुधार गरिएको हो ।
गोसाइँकुण्ड(४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार स्थानीयवासीको प्रत्यक्ष सहभागितामा पहिरोले बढी क्षति पुर्याएका मुख्य(मुख्य ठाउँहरूमा मर्मत कार्य सम्पन्न गरिएको छ । गत भदौ १० गते आएको भीषण बाढीले लाङटाङ प्रवेश गर्ने मुख्य द्वारका रूपमा रहेको स्याफ्रु बजारमा पूर्ण क्षति पुर्याउनुका साथै स्याफ्रु जोड्ने सडक पुलसमेत बगाएको थियो ।
मुख्य द्वार र पुल बगाएर आवतजावत ठप्प भएपछि हाल पर्यटक तथा स्थानीय बासिन्दाका लागि वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिए । पदमार्ग मर्मत भएसँगै उक्त क्षेत्रमा आवतजावत सुरक्षित बनेको गाउँपालिकाले जनाएको छ ।
नयाँ तय गरिएको वैकल्पिक मार्गअनुसार अब सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै दुई दिनको पैदल यात्रामा लाङटाङ पुग्न सकिन्छ । पदमार्ग खुला भएसँगै पर्यटन क्षेत्रमा पुनः उत्साह थपिएको छ ।
























