काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विश्वकप अधिकार बेच्ने गोप्य योजनामा इन्फान्टिनोले मागे माफी

1.22K
shares

काठमाडौं। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको व्यावसायिक अधिकार निजी लगानी फर्मलाई दिने प्रस्ताव फिफा काउन्सिलसमक्ष नल्याएको विषयमा माफी मागेका छन्। तर, प्रस्तावसँग सम्बन्धित कागजात सार्वजनिक गर्न र उठेका प्रश्नको जवाफ दिन उनीमाथि दबाब बढेको छ।

इन्फान्टिनोको गोप्य ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफईई) प्रस्ताव बाहिरिएपछि बिहीबार जुरिचमा फिफा काउन्सिलको बैठक बसेको थियो। उक्त प्रस्तावअन्तर्गत फिफाका केही व्यावसायिक अधिकार निजी लगानी फर्मलाई दिने योजना थियो। इन्फान्टिनोले केही दिनभित्रै उक्त प्रस्ताव खारेज गरेका थिए।

साढे तीन घण्टा लामो बैठकमा इन्फान्टिनोले एफईईसँग सम्बन्धित प्रस्तावका साथै अमेरिकी फुटबल खेलाडी फोलारिन बालोगुनमाथिको रातो कार्ड प्रतिबन्ध निलम्बन, ‘फिफा शान्ति पुरस्कार’ र राष्ट्रिय फुटबल संघहरूलाई दिइने आर्थिक सहयोगबारे पनि प्रश्नको सामना गर्नुपरेको थियो।

फुटबल एसोसिएसनकी अध्यक्ष तथा फिफाकी उपाध्यक्ष डेबी हेविटले बैठकलाई आफूले अनुभव गरेका काउन्सिल बैठकमध्ये सबैभन्दा सशक्त, स्पष्ट र खुला बताइन्। तर, आफूहरूले मागेका महत्त्वपूर्ण कागजात र प्रश्नको जवाफ नपाएको उनको भनाइ छ।

हेविटका अनुसार एफईईसँग सम्बन्धित कागजात माग्दा इन्फान्टिनोले तत्काल उपलब्ध गराएनन्। बरु, प्रश्नहरू लिखित रूपमा बुझाउन भनियो। उनले इन्फान्टिनोले ती प्रश्नको जवाफ दिनुपर्ने बताउँदै जवाफका आधारमा आफूले उनको नेतृत्व क्षमताबारे निर्णय गर्ने उल्लेख गरिन्।

इन्फान्टिनोको माफीमा केही हदसम्म पछुतो देखिएको हेविटले स्वीकार गरिन्। तर, उनले प्रस्ताव काउन्सिलसमक्ष नल्याएको विषयमा मात्र माफी माग्नु पर्याप्त नभएको संकेत गरिन्। प्रस्तावमा वास्तवमा के भएको थियो भन्ने स्पष्ट भएपछि मात्रै संलग्न व्यक्तिहरूमाथि थप कारबाही आवश्यक छ वा छैन भन्ने निर्णय गर्न सकिने उनको भनाइ छ।

युरोपेली फुटबलको नियामक निकाय यूईएफए इन्फान्टिनोका आलोचकहरूमध्ये एक रहँदै आएको छ। उसले एफईईसँग सम्बन्धित कागजात सार्वजनिक गराउन अमेरिकी अदालतमा कानुनी प्रक्रिया अघि बढाएको समाचारमा उल्लेख छ। यूईएफएको अडानमा परिवर्तन आएको छ कि भन्ने प्रश्नमा हेविटले आफ्नो दृष्टिकोण बदल्ने कुनै नयाँ जानकारी नआएको बताइन्।

हेविटले एफईईसम्बन्धी कागजात काउन्सिलसमक्ष आउनु महत्त्वपूर्ण कदम हुने बताउँदै त्यसले थप कानुनी कारबाही आवश्यक छ वा छैन भन्ने निर्णय गर्न सहयोग पुग्ने उल्लेख गरिन्।