नेपालीमूलका चिकित्सक डा. विशाल भण्डारी अमेरिकामा सम्मानित
वि.सं.२०८३ असोज ३० शुक्रवार ०८:०७
shares

काठमाडौं । नेपालीमूलका चिकित्सक तथा अमेरिकाको मेरिल्यान्ड राज्यस्थित Commission on South Asian Americans (COSAA) को स्वास्थ्य समितिका अध्यक्ष डा. विशाल भण्डारी स्वास्थ्य पैरवी र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न पुर्याएको योगदानका लागि सम्मानित भएका छन्।
डा. भण्डारीलाई सन् २०२६ अक्टोबर १० मा अमेरिकाको मेरिल्यान्ड राज्यको रकभिलमा आयोजित पहिलो South Asian American Health Summit मा मेरिल्यान्डका गभर्नरको तर्फबाट प्रदान गरिने सम्मानपत्र (Governor’s Citation) प्रदान गरिएको हो।
सम्मेलनमा दक्षिण एसियाली समुदायले भोगिरहेका स्वास्थ्यसम्बन्धी असमानता न्यूनीकरण र स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो। कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, नीतिनिर्माता तथा सामुदायिक अगुवाहरू सहभागी थिए।
सम्मेलनमा डा. भण्डारीले दक्षिण एसियाली समुदायको क्लिनिकल अनुसन्धानमा न्यून प्रतिनिधित्व र उनीहरूको विशिष्ट स्वास्थ्य जोखिमलाई सम्बोधन गर्ने चिकित्सकीय निर्देशिकाको आवश्यकतामा जोड दिए। विशेषगरी मुटुरोग र मधुमेहको जोखिमलाई ध्यानमा राख्दै उनले स्वास्थ्य असमानता न्यूनीकरण गर्न प्रभावकारी पैरवी, समावेशी अनुसन्धान र प्रमाणमा आधारित स्वास्थ्य सेवाको महत्त्व औँल्याए।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि रहेका चुनौतीलाई नीतिनिर्माता र स्वास्थ्य क्षेत्रका नेतृत्वकर्तामाझ उजागर गर्नु सार्थक परिवर्तनको महत्त्वपूर्ण पहिलो कदम भएको डा. भण्डारीले बताए। उनका विचार र पहलले स्वास्थ्य सेवामा समानता तथा समावेशिता कायम गर्न नीतिगत तहमा संवाद अघि बढाउन योगदान पुर्याएको छ।
अमेरिकाको राज्यस्तरीय मञ्चमा प्राप्त यो सम्मानले नेपालीमूलका दक्ष जनशक्तिले अन्तर्राष्ट्रिय स्वास्थ्य बहस, नीतिगत पैरवी र अनुसन्धानका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने सम्भावनालाई उजागर गरेको छ। साथै, विदेशमा रहेका नेपालीमूलका पेसाकर्मीले आफ्नो ज्ञान, नेतृत्व र अनुभवमार्फत अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक प्रभाव पार्न सक्ने सन्देश दिएको छ।
























