काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

735
shares

ai logo सारांश

  • नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि गरिने भएको छ ।
  • संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो ।

चितवन । नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि गरिने भएको छ । यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो ।

नदीको बाढी बजारमा पसेपछि उद्योग वाणिज्य सङ्घ चितवनको प्रतिनिधिमण्डलले बजार बचाउन र नदी तटीय क्षेत्रलाई व्यवस्थित गर्ने मागसहित सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका सभापति रवि लामिछानेलाई भेट गरेको थियो । भेटलगत्तै सभापति लामिछानेको आग्रहपछि पूर्वाधार विकास मन्त्रालयले गुरुयोजना तर्जुमाका लागि कार्यदल बनाएको थियो । रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा मनोहर प्रधानका अनुसार सभापतिको आग्रहपछि मन्त्रालयले बनाएको कार्यदलले स्थलगत अध्ययन थालेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर दीपक श्रेष्ठको संयोजकत्वमा असोज २३ गते कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यमा सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कृष्णकुमार महर्जन, विभागका इन्जिनियर लक्ष्मीशोभा महर्जन, इन्जिनियर अप्सना श्रेष्ठ र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर सिजन श्रेष्ठ रहेका छन् ।

प्रधानका अनुसार मन्त्रालयले नारायणगढ बजारस्थित नारायणी नदीको तटीय क्षेत्रलाई सौन्दर्यकरण तथा ‘रिक्रियसन’ स्थलका रुपमा विकास गर्न गुरुयोजना तर्जुमाका लागि कार्यदल वनाएको हो । कार्यदलले पहिलो चरणमा सरोकारवालासँग भरतपुरमा छलफल गरिसकेको छ ।

भरतपुर महानगरपालिका, उद्योग वाणिज्य सङ्घ चितवन, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुखलगायतसँग स्थलगत र महानगरमा बसेर छलफल गरिएको छ ।

कार्यदलका संयोजक श्रेष्ठले स्थलगत अध्ययन गर्दा पहिलो चरणमा तटबन्धनबाट नदी किनारलाई सुरक्षित गर्नुपर्ने देखिएको बताए । त्यसका लागि तटबन्धनको काम गर्ने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनासँग छलफल गरिएको उनले बताए । उनले भने, “पहिला नदीलाई तटबन्धबाट सुरक्षित गरी सौन्दर्यकरणको काम गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ भएको छ ।” कार्यदलले कामलाई तीव्र रुपमा अघि बढाउने उनले बताए ।

नारायणी नदीको चितवन र नवलपरासीतर्फको दुवैतर्फ तटबन्धन गर्न बाँकी रहेका क्षेत्रमा सँगै तटबन्धन गरी नदी किनारलाई सौन्दर्यकरण गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् । अध्ययनको काम तत्काल सम्पन्न गरी काम अघि बढाउने योजनामा विभाग रहेको उनले जानकारी दिए ।

स्थानीयसमेत रहेका प्रधानले दुबै मन्त्रालय संग समन्वय गरी काम अघि वढाइने बताए । उनले भने, “नारायणी नदीका कारण हुने कटान रोक्नका लागि आवश्यक काम तत्काल गर्न सभापतिको निर्देशन भएकाले सोहीअनुसार काम अघि बढ्नेछ ।”

नारायणी नदीको बाढी र कटानबाट चितवन र नवलपरासीका बस्ती जोगाउन ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ । यसका लागि २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो । समयमै बजेट व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन नसके आगामी वर्ष पनि नदी कटानको जोखिम कायम रहने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तटबन्ध निर्माणका लागि वर्तमान बजार मूल्यअनुसार २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ । नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न करिब छ अर्ब आवश्यक रहेको कार्यालय प्रमुख डा नारायणप्रसाद सुवेदीले बताए ।

नदी तटीय क्षेत्रमा सौन्दर्यकरण गर्नु अघि तटबन्धन गर्नुपर्ने देखिएका आवश्यक अध्ययन र काम अघि बढाउने विषयमा छलफल थालिएको बताए । बजार क्षेत्रसँगै दुवै जिल्लामा तटबन्धन नगरिएका ठाउँमा तटबन्धन आवश्यक देखिएको उनले बताए ।